काठमाडौँ । काठमाडौँको मध्ये बानेश्वरस्थित भ्याली भ्यु स्कुलमा विद्यालय पर्यटन क्लब गठन गरिएको छ ।
भ्याली भ्यु स्कुलले नेपाल पर्यटन बोर्ड र टुरिज्म रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युटको सहकार्यमा विद्यालय पर्यटन क्लब गठन गरिएको भ्याली भ्यु स्कुलका प्रधानाध्यापक सुवासचन्द्र भण्डारीले जानकारी दिए ।
पर्यटनसम्बन्धी विद्यार्थीहरूमा जनचेतना जगाउन र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले स्कुलमा आज विद्यालय पर्यटन क्लब गठन गरिएको उनले बताए ।
साथै भ्याली भ्यु स्कुलले आज ‘वाग्मती प्रदेशको पर्यटन र सम्भावना’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा स्कुलका माध्यामिक तहमा अध्ययनरत ९ जना विद्यार्थीहरूले प्रतिस्पर्धा गरे ।
स्कुलका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सन्तोष चापागाईँका अनुसार वक्तृत्वकला प्रतियोगितामा भ्याली भ्यु स्कुलका विद्यार्थी युगान्तिका घिमिरे प्रथम, अनुष्का आचार्य द्वितीय र विशेष पौडेलले तृतीय स्थान हासिल गरेका छन् ।
कार्यक्रमका वक्ताहरू डा. डि एल पुरी, मदन कुमार बराल, सरोजप्रसाद प्याकुरेल लगायतले बागमती प्रदेशको पर्यटन प्रवर्द्धन गर्न सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।







