काठमाडौँ । रेमिटेन्स तथा मनी ट्रान्सफर कारोबार गर्ने कम्पनीमध्ये सर्वाधिक कर दाखिला गरेको आधारमा आइएमई लिमिटेड सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मङ्गलबार काठमाडौँमा आयोजित समारोहमा कम्पनीलाई सम्मान प्रदान गरिएको हो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई सम्मान प्रदान गरेका थिए। कम्पनीको विज्ञप्तिअनुसार आइएमई यसअघि पनि पटक पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको थियो।
सम्मान ग्रहणपछि अध्यक्ष ढकालले करमार्फत राष्ट्रिय विकासमा योगदान दिन पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए। उनले रेमिटेन्स सेवालाई थप सरल, सहज र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरे।
विभिन्न देशमा सयभन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल रहेको उल्लेख गर्दै ढकालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कम्पनीको पहिचान विस्तार गर्ने बताए। रेमिटेन्ससँगै उद्यमशीलता प्रवर्द्धनका लागि कम्पनीले विकास गरेका व्यावसायिक संरचना र गतिविधिलाई थप सुदृढ गर्ने उनको भनाइ थियो।
सन् २००१ मा स्थापना भएको आइएमईले रेमिटेन्स तथा मनी ट्रान्सफर सेवा दिँदै आएको छ। ढकालले प्रविधिको प्रयोग, सेवाको गुणस्तर र व्यावसायिक क्षमता अभिवृद्धिलाई कम्पनीले प्राथमिकता दिने बताए।





