काठमाडौँ । काँग्रेस सांसद रामहरि खतिवडाले नेपालमा सबै धर्मको सम्मान गर्ने परम्परा विकसित भएकाले यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् । तर, जबरजस्ती धर्म परिवर्तनको बाटोमा मुलुकलाई लान नहुने धारणा उनले राखे ।
सोमबार इसाई धर्मावलम्बीहरूको मुख्य पर्व क्रिसमसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले सबै धर्मको मुख्य पर्वमा बिदा दिएर सम्मान गर्ने परम्पराको थालनी गरेको उल्लेख गर्दै यसले निरन्तरता पाउनुपर्ने बताए ।
उनले भने, ‘हामीले जनै लगाउँदा बिदा पाउने तर तपाईँहरूले क्रिसमस वा ल्होसार मनाउँदा बिदा नपाउने चलन थियो, यो पद्धतिको सरकारले अन्त्य गरेर सबै धर्मको सम्मान गर्ने परम्पराको विकसित भएको छ, यसलाई निरन्तरता दिउँ ।’
जबरजस्ती धर्म परिवर्तन गराउन लागेकासँग भने सचेत हुनुपर्नेमा जोड दिँदै उनले धर्म परिवर्तनको बाटोमा मुलुकलाई लैजान नहुने प्रस्ट पारे । ‘जबरजस्ती धर्म परिवर्तनको बाटोमा मुलुकलाई लान हुँदैन । आफ्नो इच्छाले आफ्नो धर्म मान्ने पद्धतिको विकास गरौँ,’ खतिवडाले भने ।
क्रिसमसको शुभकामना दिँदै उनले नेपाललाई सबै जातजाति, धर्म सम्प्रदाय मिलेर अझ धेरै एकताबद्ध, सुसंस्कृत र बलियो बनाउन लाग्नुपर्ने भन्दै त्यसका लागि आग्रह पनि गरे । ‘सबै जाति, धर्म, जाति, सम्प्रदाय मिलेर नेपाललाई अझ सुसंस्कृत, अझ दरिलो र एकताको देश बनाउन सबै मिलेर लागौँ,’ उनले भने ।