काठमाडौँ । ओमानमा शुक्रबारबाट सुरु भएको एसिसी मेन्स प्रिमियर कपमा नेपाली टोलीको कमजोर फिल्डिङको मद्दतमा मलेसियाले १४३ रनको मध्यम स्कोर तयार पारेको छ।
तुलनात्मक रूपमा आफूभन्दा निकै बलियो नेपाली टोलीसँगको खेलमा मलेसियाले कप्तान विरानदीप सिंहको ७२ रनको मद्दतमा निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १४४ रन जोडेको हो।
मलेसियाले सम्मानजनक स्कोर खडा गर्न नेपाली फिल्डरले साथ दिए। नेपाली टोलीले केही क्याच र बाउन्ड्रीहरू छोडेपछि मलेसियालाई टोलीले राहत पाएको थियो।
मलेसियाका लागि कप्तानको अर्धशतकसँगै अर्का ब्याटर शर्भिन मुनियन्दीले ३३ बलमा ४२ रनको योगदान दिएका छन्। नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरीले २ र अविनाश बोहराले एक विकेट लिए।







