काठमाडौँ । सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ ।
आज बिहान ९ बजेदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बस्न लागेको हो ।
गत शनिबार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् । सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।
संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन । नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि छानबिन गर्नुपर्ने अडानमा छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत छैनन् ।
कार्यदलमा आइतबार पटक–पटक गरी सात घण्टाभन्दा बढी समय छलफल भए पनि सहमति जुटेको थिएन । यही विवादका कारण संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ भने संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।