काठमाडौँ । राष्ट्रिय थारू कलाकार मञ्चले यही असार ७ गते काठमाडौँमा बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
विश्व संगीत दिवसका अवसरमा मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारण सभा गर्न लागेको जनाएको छ ।
मञ्चले आज यहाँ पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराएको हो । मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले भने, “विश्वभर संगीत दिवस मनाइरहँदा हामीले हाम्रो आफ्नै भाषा, धर्म, कला–संस्कृति र पहिचानलाई जोगाउन तथा सरकारको ध्यानाकर्षण गर्न देशभरका कलाकारहरूको जनचेतनामूलक बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हौँ ।”
कार्यक्रममा मुलुकभरका ५० बढी थारू कलाकारहरूले थारुको लोकगीत, मौलिक नाचहरू धुम्रा नाच, झुम्रा, मघौटालगायत थारू संस्कृति झल्कने प्रस्तुति रहने उनले बताए । पहिलो दिन सांस्कृतिक कार्यक्रम र दोस्रो दिन वार्षिक साधारण सभा हुनेछ ।
“कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा पहिलो दिन ‘भाषा, कला-संस्कृति हमर शान, पहिचान बचैना हमार अभियान’ भन्ने मूल नारासहित बृहत् थारू सांस्कृतिक कार्यक्रम हुन्छ,” अध्यक्ष वैद्यले भने, “दोस्रो दिन वार्षिक साधारण सभा गर्नेर्छौं ।”
कार्यक्रममा थारू परिकारहरूको स्वाद लिन सकिने स्टल, थारू परम्परागत पहिरन, गहना र सांस्कृतिक सामग्रीहरूको प्रदर्शनी पनि राखिने बताइएको छ । राष्ट्रिय स्तरमा थारू कलाकारहरूको उपस्थितिमा पहिलो पटक हुन लागेको बृहत् सांस्कृतिक कार्यक्रम मनोरञ्जनको माध्यम नभई थारू पहिचानको संरक्षण र सशक्तीकरणतर्फको सार्थक प्रयास रहेको र अन्य जातिलाई पनि आफ्नो कला र संगीत जोगाउन प्रेरणा जगाउने उद्देश्य रहेको उनको भनाइ थियो ।







