काठमाडौँ। आउँदो नोभेम्बरमा काठमाडौँमा हुने काभा महिला नेसन्स लिग भलिबलको प्रत्यक्ष प्रसारण हिमालय टिभीमा हुने भएको छ ।
नेपाल भलिबल संघ र हिमालय टीभीबीच बुधबार एक कार्यक्रममा ब्रोडकास्टिङ तथा मार्केटिङ राइट्स सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द र टिभीका अध्यक्ष धर्मराज भुसालले हस्ताक्षर गरे।
हस्ताक्षरपछि आफ्नो भनाइ राख्दै गर्दै हिमालय टिभीका अध्यक्ष भुसालले प्रतियोगिताको ब्रोडकास्टिङ र मार्केटिङ राइट्सको अवसर प्रदान गरेकोमा भलिबल संघलाई धन्यवाद दिए ।
‘बिडिङमा हामीले प्राप्त गर्न सफल भयौँ, हामीले मनोरञ्जन र खेललाई बढी प्राथमिकतामा राखेर कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ’ भुसालले भने, ‘संयोगले २ भलिबल प्रतियोगिता यस वर्ष प्रसारण गर्न पाएका छौँ।’
हिमालय टिभीकै प्रिमियम च्यानलमा एभरेष्ट महिला भलिबल लिगको पनि प्रसारण गर्ने पक्का भइसकेको छ ।
‘फिफा विश्वकप फुटबलदेखि हामीले प्रिमियम च्यानलको सुरुवात पनि गरेका थियौँ र लोकल लेभलको प्रतियोगिता पनि हामी केन्द्रित गर्न चाहन्छौँ, राष्ट्रिय खेल पनि हो, यो प्रतियोगिता पनि उत्कृष्ट रूपमा प्रसारण गर्ने कोसिस गर्नेछौँ, यो सहकार्य अझै समृद्ध भएर जानेछ’ भुसालले थपे ।
त्यस्तै भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले हिमालयबाट राम्रो बिड आएकाले छानिएको बताए । ‘५/६ वटा बिडरहरु (मिडिया हाउस) आएकोले राम्रो बिड गरेकोमा हिमालय टिभी छानिएको हो । दुवै पक्षको अनुसार रकम गोप्य राखिएको छ’ चन्दले बताए ।
साथै काभा महिला नेसन्स लिगलाई विश्व वरियताको सिस्टममा समावेश गर्न एफआईभिबीलाई आग्रह गर्ने समेत नेपाल भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिए ।
‘काभा महिला नेसन्स लिगका लागि हामीलाई सरकारले १ करोड छुट्याएको छ । काठमाडौँ महानगरपालिकाले ३० लाख दिने भनेको छ । हामी प्रतियोगिताका लागि तयारी गरिरहेका छौँ’ अध्यक्ष चन्दले अगाडि भने ।
काभा महिला नेसन्स लिग आउटडोरमा टुँडिखेलमा गर्ने तयारीमा रहेको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले बताए । उनका अनुसार सेन्ट्रल एसियाका ८ राष्ट्रले प्रतियोगितामा सहभागिता जनाउने छन् ।
‘यसपटक आउटडोरमा टुँडिखेलमा नेसन्स लिग गर्ने तयारी छ’ श्रेष्ठले भने ।
काभा महिला नेसन्स लिग नोभेम्बर १५ देखि २२ सम्म हुँदैछ ।







