काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट फेरि सुरु हुने भएको छ।
आयोजक इन्फिनिटी ड्रिम्सले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता सुचारु हुने मिति चाँडै घोषणा गरिने जनाएको हो।
लिग चरणका १६ मध्ये नौ खेल सम्पन्न भइसकेको र बाँकी सात खेलको मिति नेपाल भलिबल संघ, फ्रेन्चाइज टिम र प्रायोजकलगायत सरोकारवालासँगको सहमतिपछि घोषणा गरिने आयोजकले जनाएको छ।
इन्फिनिटी ड्रिम्स प्रा.लि.की सिइओ स्नेही चापागाईँले प्रतियोगितामा सहभागी हुन आएका स्वदेशी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र प्राविधिक टोलीलाई सुरक्षित रूपमा घर पठाइसकिएको जानकारी दिइन्।
सिइओ स्नेही चापागाईँले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘प्रतियोगितामा सहभागी हुन आएका स्वदेशी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र प्राविधिक टोलीलाई सुरक्षित रूपमा घर पठाइसकेका छौँ’, उनले विज्ञप्तिमा भनेकी छन्। देशको पछिल्लो राजनीतिक परिस्थितिपछि प्रतियोगिता स्थगित गरिएको थियो।







