देश फेरि एक पटक रोएको छ ।
यति बेला काठमाडौँ मात्र होइन, नेपालका सहर बजार, गाउँ-टोलहरू सबै शोकमा डुबेका छन् । सरकारको चरम बेथिति र अकर्मण्यताका विरुद्ध युवा पुस्ताले सुरु गरेको आन्दोलन अहिले आँसु, रगत र मृत्युमा परिणत भएको छ ।
शान्तिपूर्ण रूपमा सुरु गरिएको यो आन्दोलनमा, सरकारको लापरबाही र अन्धाधुन्ध बल प्रयोगका कारण दुई दिनभित्र करिब ७० जना युवाहरूले ज्यान गुमाएका छन् । केही सुरक्षाकर्मीहरूले पनि ड्युटीमा रहँदै आफ्नो ज्यान बलिदान गरेका छन् । सयौँ युवा र सुरक्षाकर्मी घाइते छन् कोही अस्पतालका बेडमा जीवनका अन्तरालहरू बिताइरहेका छन्, कोही सधैँका लागि अपाङ्ग बनेका छन् ।
सरकारका हरेक मनपरी, गतिविधि, क्रियाकलापका एवं अनियमितता विरुद्ध केवल न्यायका लागि आवाज उठाएका थिए तिनीहरूले । केवल उत्तर खोजेका थिए “किन हाम्रो देशमा हामीलाई नै नसुन्ने सरकार बसिरहेको छ?”
तर जवाफ स्वरूप आयो अश्रुग्याँस, गोली, लाठी, दमन ।
आज ती आमाहरू छोराको मृत्युको खबर लिएर अन्न नखाई बसिरहेकी छन्, भाव विह्वल बनेका छन् । ती बुबाहरू, जसले छोरो छोरीलाई पढाएर उज्यालो भविष्यको सपना बुनेका थिए आज आफ्नै छोराको शव काँधमा बोकेर दाह संस्कारको लागि घाट लागेका छन् ।
ती कलिला युवाहरू मारिए, जो देशको भविष्यका कणद्वार थिए । सुरक्षाकर्मी मरे, जसले देशको सुरक्षा गर्नु पर्ने थियो । तर सत्तामा बसेर गोली हान्न आदेश दिनेहरू अझै मौन छन् । न कुनै संवेदना, न कुनै सम्बोधन, न कुनै भनाइ जसले पीडालाई हल्का बनाओस् ।
यो केवल आन्दोलन थिएन । यो त टुक्रिएका सपना, चिच्याएको विवेक र झरिरहेको भरोसाको आवाज थियो । युवा सडकमा उत्रिँदा हातमा अनियमितता विरुद्धका ब्यानर थिए, संविधान थामिएका थिए, तर जवाफमा पायो झ्याल भित्रको आदेशको तातो गोली, बारुद र छर्रा ।
कसरी स्वीकार गर्ने यस्तो क्रूरता?
यो आन्दोलन कुनै पार्टीको इसारामा आएको थिएन । यो कुनै नेताको कुर्सीको लोभ थिएन । यो त देशप्रति आस्था बोकेका पुस्ताको अन्तिम आह्वान थियो “ हामी अझै पनि बदलिन सक्छौँ ?”
र, आज त्यो आस्था गहिरो चोटमा परेको छ ।
तर यो पीडा केवल त्यो युवा पुस्ताको मात्र होइन । यो हामी सबैको, हाम्रो देशको आत्माको अपूरणीय घाउ हो ।
सदियौँसम्म नेपालको इतिहासको साक्षी बनेको सिंहदरवार आज हामीसँग छैन । सिंहदरवार भन्ने बित्तिकै गर्वले मन भरिन्थ्यो,त्यो पुरानो भव्य भवन जहाँ न्यायको सुनौलो आशा र युवाहरूका भविष्यका सपना समेटिएका थिए ।
तर अहिले, त्यो सिंहदरवार क्षत–विक्षत छ, लाखौँ युवाको भविष्य उथलिएको छ । जनतालाई सेवा दिने त्यो स्थान, जागिर गर्दा गर्व गर्ने त्यो महल, अहिले ध्वस्त भएको छ । त्यो गर्वको घर, त्यो राष्ट्रिय पहिचान हाम्रो साझा इतिहास अब केवल सम्झनामा बाँकी छ ।
त्यो भवनमा सुरक्षित गरिएका हजारौँ दस्ताबेज, भ्रष्टाचारीका प्रमाणहरू सबै एकमुष्ट आगोले खाएको छ । त्यो आगोले केवल कागज मात्र होइन, न्यायप्रति विश्वास, स्वाभिमान, र भविष्य जलेर राखिदियो ।
कसरी फर्काउने त्यो अतीत ? कसरी फेरि बनाउने त्यो विश्वास ?
तर सिंहदरवार मात्र होइन, हाम्रो सर्वोच्च अदालत, सांसद भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका महत्त्वपूर्ण संरचनाहरू पनि ध्वस्त भएका छन् । ती झ्यालहरू, ती ढोकाहरू जहाँ कानुनको सम्मान हुन्थ्यो, जनताको आशा बाँच्थ्यो आज धुलो र भग्नावशेष मात्रै छन् ।
सरकारी सवारीसाधनहरू जलेर पहिचान विनाको साधन भएका छन् । निजी ठूला भवनहरू जलेर खरानी भए । खर्बौँको क्षति भएको छ भने हजारौँको रोजीरोटी गुमेको छ ।
कतिसम्म गहिरो चोट हो यो जहाँ मुलुकका सबै आधारहरू नै धराशायी भएका छन् । जहाँ भ्रष्टाचारका सबै प्रमाणहरू, देशका न्यायका कागजातहरू आगोमा खरानी भएका छन् । जहाँ जनताको आवाज दबाउन र सपनालाई चिर्न सरकारले आफ्नो कर्तव्य बिर्सिसकेको छ ।
काठमाडौँका सडकहरूमा अब ट्राफिक छैन,
तर त्यहाँ रगतले रङ्गिएको पानी जमेको छ,
त्यहाँ अब नारा छैन, अब त मौनता छ,
एक किसिमको सुन्ने नसकिने सन्नाटा,
जसले सुन्ने जोकोहीलाई भित्रभित्रै चिर्छ,
तर त्यो सरकार अझै चुप छ, मौन छ, दायित्वबोध विहीन छ ।
हामीलाई थाहा छ ती ७० भन्दा बढी अनुहारहरू आँकडामा मात्र सीमित छैनन् । ती आँसुका झरनाहरू भए ती बिरानो घरहरू बने। ती अधुरो सपना भएका बालबालिकाहरू हुन् । ती आमाहरू हुन् जसको छोराका लागि फेरि ढोका खुल्ने आशामा बितेका रातहरू टुटेका छन् । ती बुवाहरू हुन् जसले आफ्ना सपनाहरू बुनेका थिए, तर आज शव बोकेर फाटेका मन बोकेर फर्किरहेका छन् ।
देशभर एकै साथ बज्ने दसैँको ढोल यस पटक शोकमा समाहित भएको छ । फूलपाती नजिकिँदै छ, तर कति घरमा यस पटक न त फूल छ, न पाती । निधार खाली छ, काख चिसो छ ।
हिजो जसले नयाँ जुत्ता र कपडा किनेर दसैँ मनाउने योजना बनाएका थिए, आज उनीहरूको शव काठको बाकसमा राखिएको छ । र त्यो बाकससँगै गाडिएको छ एउटा परिवारको भविष्य, एउटा आमाको सपनाहरू, र एउटा बुबाको भरोसा ।
तर दोष कसको हो? के ती युवाहरू दोषी थिए जसले आफ्नो आवाज उठाए? कि त्यो सरकार दोषी हो जसले आफ्नै नागरिकलाई शत्रु ठानेर बल प्रयोग गर्यो?
आजको मितिमा हामी शोक मनाइरहेका छौँ । देशको भविष्य बन्न सक्ने ७०+ युवाहरूको मृत्युलाई सम्झिरहेका छौँ । तर यो सम्झना आँसुमा मात्र सीमित हुने हो भने फेरि अर्को पुस्ताले यस्तै नियति भोग्नुपर्नेछ । ती युवालाई मार्न आदेश दिनेहरू पुनः सलबलाई रहेका छन् । फेरी सत्ता कव्जको लागि अगाडि बढ्दै छन् ।
सत्ताका शिखरमा बसेकाहरूले बुझ्न जरुरी छ देश बन्दुकको भरमा होइन, भरोसाको बलमा चल्छ भनेर । जनता टुक्रिए भने शासन रहँदैन । जनताको चित्कारमाथि सिंहदरबारको इँटा उठ्दैन ।
अब प्रश्न उठ्न जरुरी छ यी ७० जनाको मृत्युको जिम्मा कसले लिने? ती सुरक्षाकर्मीहरूको परिवारलाई कुन नेताले सान्त्वना दिने? कुन मन्त्रीले ती आमाको आँसु पुछ्ने, जसको छोरा अब फर्केर आउँदैन?
सत्ता त मौन छ, सांसद मौन छ, संवैधानिक अङ्गहरू मौन छन् । तर जनताको चित्तमा आगो बलिरहेको छ । त्यो आगो क्रोधको नभई परिवर्तनको र न्यायको भएको छ ।
यस शोकलाई अब हामीले चुपचाप बस्ने बहानामा रूपान्तरण गर्न सक्दैनौँ । परिवर्तनको आवाजलाई हत्या गर्नु भनेको देशको आत्मालाई मार्नु हो ।
दसैँ आउँदै छ यस पटक त्यो केवल रमाइलोको पर्व होइन, सम्झनाको पर्व पनि हो । यस पटक हामी टीका थाप्ने निधारभन्दा पहिले सम्झनुपर्ने छ ती अनुहारहरू जसले फेरि हामी बाँच्छौ कि भन्ने आशामा ज्यान गुमाए ।
तिनीहरूको बलिदान अब खेर जान दिनु हुँदैन । नत्र दसैँ मात्र होइन, हाम्रा सबै चाडहरू शोकको चिहानमा परिणत हुनेछन् ।
आज हामी शोकमा छौँ, तर यो शोकको अर्थ निराशा होइन चेतना एवं परिवर्तन हो । यो देश केवल पुराना अनुहारहरूको घेराभित्र घुम्ने देश होइन । यो देश हो नयाँ पुस्ताले बनाउने, जहाँ सरकार जनताको सेवक हो, शासक होइन भनेर आम जनतालाई बुझाउन जरुरी छ ।
७० भन्दा धेरै निर्दोष नागरिक र सुरक्षाकर्मीको मृत्युले एउटा गहिरो प्रश्न छाडेको छ के हामी साँच्चै एक लोकतान्त्रिक राष्ट्र हौँ? कि केवल कुर्सीमा बसेका केहीको निर्णयले चल्ने गणना यन्त्र ?
जवाफ दिन जरुरी छ अब होइन भने कहिले ?
देश शोकमा छ । तर हामी आँसुबाट बाँचेका छौँ, र फेरि उठ्नेछौँ।
यो दशैंमा, धेरै घरमा टीका लाग्दैन ।
यो दसैँमा, धेरै घरमा रोटी पाक्दैन ।
यो दसैँमा, धेरै निधार चुपचाप छन् ।
किनकि धेरै छोराछोरी फर्किँदैनन् ।
देश फेरि एक चोटि रुदैछ ।
किनकि यो केवल एक जनाको आँसु होइन, यो सम्पूर्ण पुस्ताको आँसु हो ।
काठमाडौँका सडकहरू अझै धुलाम्मे छन्, तर त्यो धुलोमा अहिले रगत मिसिएको छ ।नेपालभरि छरिएर आन्दोलनमा उत्रिएका हजारौँ युवाहरूको आवाजलाई सरकारले सुन्न सकेन । उनीहरू सुन्ने कुरामा थिए, लड्न आएका थिएनन् । तर दुई दिनभित्र करिब ७० भन्दा बढी युवाहरूको लास ढलेको छ भने जनताको सेवाका लागि खटिएका केही सुरक्षाकर्मीहरू पनि सधैँका लागि निदाएका छन् ।
यी सब को थिए ? आतङ्ककारी ? देशद्रोही ? अपराधी ? भन्ने प्रश्न खडा भएको छ ।
तर हाम्रो देशमा ‘सपना’ देख्नु शायद अपराध रहेछ ।
जहाँ शान्तिपूर्वक सडकमा उत्रेर ‘हाम्रो आवाज सुन’ भन्नु शायद राज्य द्रोह ठानेको छ ।
त्यसैले गोली चलाइयो । अश्रुग्याँस प्रहार भयो । लाठी पड्काइयो ।
जहाँ कोही घाइते भए, कोही अपाङ्ग बने, र धेरै कहिल्यै नफर्किने गरी गए ।
अस्पतालका बेडहरू रगतले भरिएका छन् । शव गृहहरू तानाबाना झैँ फैलिएका छन् ।
कसैको दाहसंस्कार हुँदैछ भने कसैको पोस्टमार्टम ।
कति आमाहरूले अन्तिम पटक छोराको आवाज फोनमा सुने
“आमा म चाँडै घर आउँछु…”
तर त्यो “चाँडै” अब कहिल्यै आएन ।
कति बुबाहरू जुन छोरालाई दसैँको नयाँ कपडा पठाउन तयारी गर्दै थिए,आज मसानघाटको खर्च जुटाइरहेका छन् ।
आज ती परिवारहरूमा न त फूलपाती आउनेछ, न त मखमली फुल्नेछ ।
न नयाँ कपडा किनिनेछ, न मिठो भोग बनाइनेछ ।
दसैँ आयो, तर उनीहरूका लागि यो चाड होइन एक शून्यता र एक गहिरो चोट ।
कसरी चाड मनाउने, जब घरको मूल दीप नै निभिसकेको छ ?
सुरक्षाकर्मी पनि मरे । ती पनि कसैका छोरा थिए । देशको सेवामा खटिएका थिए ।तर के उनीहरू पनि देशकै अकर्मण्य नेतृत्वको वर्गको सिकार भए?
युद्ध लड्न तयार नभएका युवासँग लड्नुपर्ने उनीहरूको रहर नभई बाध्यता थियो ।
यो दसैँ कालो छ किनभने यो देशका युवा मारिएका छन् । यो दसैँ सन्नाटा छ किनभने ती आवाजहरू गुमेका छन् । यो दसैँ चिसो छ किनभने धेरै निधार चुम्न आउने कोही छैन ।
राजनीतिज्ञहरूका लागि यी मृत्युहरू केवल “स्थिति नियन्त्रण बाहिर गयो” भन्ने प्रेस वक्तव्य बनेको छ ।तर ती आमाबाबुका लागि तिनै मृत्यु सारा ब्रह्माण्डको अन्त्य भएको छ।
कुन दिन फेरि त्यो छोरा ढोका खोल्दै भित्र पस्ला भनेर बाटो हेरेकी आमाले अब त्यो ढोका सधैँ बन्द गर्नुपरेको छ।
देशभक्तिका नाममा किताब लेख्नेहरूले अब ती युवाहरूका अनुहार हेर्नुपर्छ । कसरी हाँस्दै थिए उनीहरू, कसरी बाँच्न चाहन्थे । अनि कति निर्ममतापूर्वक टुक्रिए ती सबै सपनाहरू ।
सरकार अझै मौन छ । तर जनता चुप छैनन् । यो शोक, केवल पीडा होइन अब चेतना हो ।
यो देश फेरि उठ्नेछ । यी ७० सपूतहरूको रगतले फेरि नयाँ क्रान्तिको बीउ रोपिनेछ ।
हो, हामी शोकमा छौँ । तर हामी झुकेका छैनौँ ।
दसैँ आउँदै छ हामी यो चाड मनाउँछौँ, तर सम्झन्छौँ तिनीहरूलाई जसले आफ्ना सपना गुमाए,जसले हामीलाई सधैँका लागि छाडेर गए, देश बदल्ने आशामा ।
यी युवापुस्ता देशको बोझ थिएनन् – देशको मेरुदण्ड थिए ।
“हामी तिमीहरूलाई भुल्दैनौँ र तिमीहरूको रगत खेर जान दिँदैनौँ ।”
आन्दोलनको क्रममा मृत्यु हुने सबैमा हार्दिक श्रद्धाञ्जली
अर्याल बुढानीलकण्ठ नगरपालिकाका वरिष्ठ सहायक(पाँचौँ) हुन् ।







