काठमाडौँ । नेपाली काँग्रेसले मुलुक अभूतपूर्व राजनीतिक संकटमा परेका बेला सबैले सहकार्य गर्न आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।
केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट काँग्रेसले संकटको सामना सबै नेपालीले संयमता र धैर्यताको साथ एकताबद्ध भई गर्नु पर्नेमा जोड दिएको छ ।
‘हाल मुलुक अभूतपूर्व राजनीतिक संकटमा छ । यस संकटको सामना हामी सबै नेपालीले संयमता र धैर्यताको साथ एकताबद्ध भई गर्नु परेको छ,’ काँग्रेसले बैठकबाट लिएको निर्णयमा भनिएको छ, ‘विगतमा भएका कयौँ राष्ट्रिय संकटलाई हामीले आफ्नै शक्ति, क्षमता र दूरदर्शीताले समाधान गर्दै आएको अनुभवका आधार यस विषम परिस्थितिमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, जनताको मौलिक हक, अधिकारको सुरक्षा तथा संविधानको संरक्षण र कार्यान्वयन सुनिश्चित गर्न सबैले सहकार्य गर्न आवश्यक छ ।’
काँग्रेसले सहकार्यका लागि राष्ट्रिय दायित्व आत्मसात् गर्दै सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीलाई आपसी संवाद, संयमता र समझदारीको मार्ग अवलम्बन गर्न अपिल पनि गरेको छ ।
काँग्रेसले जेन जेड आन्दोलनका क्रममा भएको आक्रमण, लुटपाट र आगजनीका विध्वंसकारी घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय उपलब्ध गराउन सरकारसँग आफ्नो पुरानै माग दोहोर्याएको छ ।
जेन जेड आन्दोलनका क्रममा सुरक्षाकर्मीका लटिएका हातहतियार, पोसाक तथा सुरक्षा सामग्रीहरू फिर्ता गराउन, विभिन्न कारागारबाट भागेका कैदी बन्दीहरूलाई पुनः नियन्त्रणमा ल्याउन सरकारसँग माग गरेको छ ।
‘तोडफोड र आगजनीबाट ध्वस्त गरिएका प्रहरी कार्यालय सहितका सबै सरकारी संरचनाहरूको यथाशीघ्र पुनर्निर्माण गरी समाजमा शान्ति सुरक्षाको प्रत्याभूति प्रदान गर्न सरकारलाई जोडदार सरकारसँग जोडदार माग गर्दछ,’ निर्णयमा भनिएको छ ।
काँग्रेसले २४ भदौको घटनाका क्रममा आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण आर्थिक तथा व्यावसायिक क्षति बेहोर्नु परेका व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानसँगै अन्य साना व्यवसायीहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।
‘उनीहरूलाई पुनः व्यवसाय सञ्चालन गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्न र स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल उठाउन सरकारसँग नेपाली काँग्रेस माग गर्दछ,’ काँग्रेसले भनेको छ ।
जेन जेड पुस्ताले आन्दोलनमार्फत् उठाएका भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हकको सुनिश्चितताजस्ता प्रमुख विषयहरू स्वाभाविक वैध र आम नागरिकका आवाज भएको काँग्रेसको निष्कर्ष छ ।
‘नेपाली काँग्रेस आन्दोलनमार्फत् उठाइएका सुशासनका मागलाई सदैव सकारात्मक ढंगले लिने गरेको स्मरण गर्दै सो माग पूरा गराउने प्रतिबद्धता व्यक्त व्यक्त गर्दछ,’ निर्णयमा भनिएको छ ।
जेन जेड प्रदर्शनका क्रममा सहादत प्राप्त शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, घाइतेहरूको नि:शुल्क उपचार गर्न पनि माग गरेको छ ।
काँग्रेस बैठकले २८ असोजमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेको लिखित मन्तव्यलाई स्वागतसहित अनुमोदन गरेको छ । बैठकले देउवा दम्पतीको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।







