पोखरा । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको पोखरा शाखाको आतिथ्यतामा कास्कीको पोखरामा दुई दिनसम्म सञ्चालन भएको प्रतिष्ठानको ३४औँ केन्द्रीय सभा भव्य रूपमा सम्पन्न भएको छ।
माघ ९ गते सम्पन्न सभाको पहिलो दिन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. सत्य नारायण सुवालको सभाध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिष्ठानले नियमित रूपमा प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार कार्यक्रमलाई निरन्तरता दिएको थियो। सभाका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा. इन्द्रप्रसाद तिवारीले मुटुरोग निवारणसम्बन्धी जनचेतना अभिवृद्धि तथा प्रतिष्ठानको व्यवस्थापकीय सुधारमा योगदान पुर्याएको भन्दै डा. प्रचण्ड प्रधानलाई “मृगेन्द्र सम्झना चिकित्सा गुठी ओरेसन सम्मान-२०८२” बाट सम्मान गरे ।

त्यसैगरी प्रतिष्ठानको ललितपुर शाखामार्फत मुटुरोगीलाई लामो समयदेखि निरन्तर सेवा पुर्याएको कदर गर्दै रूपकान्त राजोपाध्यायलाई “स्व। दामोदरराज शर्मा मुटुरोगी सेवा पुरस्कार-२०८२” अन्तर्गत २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ। मुटुरोगी सेवामा योगदान पुर्याएको आधारमा डा. सुमन्त बन्जाडेलाई “मृगेन्द्र सम्झना चिकित्सा गुठी सेवा पुरस्कार-२०८२” तथा बाथ मुटुरोग निवारणका क्षेत्रमा जनचेतना, उपचार र प्रतिकारमा योगदान पुर्याएको भन्दै डा. प्रेमराज बैद्यलाई “बाथ मुटुरोग निवारण पुरस्कार-२०८२” बाट जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
सभामा कार्यदक्षताको मुल्यांकनका आधारमा प्रतिष्ठानको सर्लाही शाखालाई ५० हजार रुपैयाँसहित शाखा प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ भने मकवानपुर शाखालाई सर्वोत्कृष्ट शाखा पुरस्कारबाट सम्मान गरिएको छ। सम्मानित व्यक्तित्व तथा पुरस्कारसम्बन्धी परिचय प्रस्तुतीकरण प्रतिष्ठानका केन्द्रीय कोशाध्यक्ष राजुराम मुनंकर्मीले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिवारीले नयाँ पुस्तामा जंग फुडलगायत मुटुरोगका कारक मानिने खानाबाट टाढा रहन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गरे। साथै समाजका विभिन्न निकायलाई एक सञ्जालमा आबद्ध गरी मुटुरोग नियन्त्रणका लागि साझा कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।
सभामा गण्डकी प्रदेशका निमित्त स्वास्थ्य सचिव डा. रमेश केसी, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, सम्मानित व्यक्तित्वहरू डा. प्रचण्ड प्रधान, डा. प्रेमराज वैद्य तथा मकवानपुर शाखाका प्रतिनिधि विजयराज वैद्यलगायतले धारणा राखेका थिए। वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मीले मुटुरोग रोकथाममा नेपाल हृदयरोग निवारण प्रतिष्ठानको योगदान विषयमा प्रवचन दिएका थिए ।
प्रतिष्ठानका ३५ जिल्लाका १६५ जना प्रतिनिधिको सहभागिता रहेको सभामा प्राविधिक तथा शाखा सुदृढीकरणसम्बन्धी तालिम पनि आयोजना गरिएको थियो। कार्यक्रमको दोस्रो दिन माघ १० गते सहभागीहरूले पोखराको न्युरोड, महेन्द्रपूल र नयाँबजार हुँदै प्रभातफेरी कार्यक्रम आयोजना गरेका थिए। सोही अवसरमा आर्थिक वर्ष ०८१/८२ को वार्षिक तथा आर्थिक प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको थियो।







