काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भारतसँग जोडिएका नाकाहरूमा न्यून मूल्यका वस्तु खरिदमा समेत भन्सार शुल्क लगाइएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीले सय रुपैयाँभन्दा माथिको सामानमा कर असुल्ने अभ्यासप्रति असन्तुष्टि व्यक्त गरेको हो।
पार्टीका प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा उक्त व्यवस्था जनहित विपरीत, व्यवहारिकताविहीन र संवेदनशीलताको अभाव झल्काउने खालको भएको उल्लेख गरिएको छ। सीमावर्ती क्षेत्रमा दैनिक उपभोगका वस्तु सानो परिमाणमा किन्ने सर्वसाधारणलाई प्रत्यक्ष असर पर्ने तर्क काँग्रेसको छ।
इन्धनको मूल्य निरन्तर उकालो लागिरहेको अवस्थामै न्यून परिमाणको खरिदमा थप शुल्क लगाइनुले नागरिकको क्रयशक्ति कमजोर बनाउने र गरिबीलाई दीर्घकालीन रूपमा बढावा दिने नीति जस्तो देखिएको आरोप पनि पार्टीले लगाएको छ।
यस विषयमा आवश्यक सुधारका लागि काँग्रेसले सरकारसमक्ष पाँच बुँदे मागसमेत प्रस्तुत गरेको जनाएको छ।







