काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट नेताहरूसँग समसामयिक राजनीतिक विषयमा परामर्श बैठक गरेका छन्।
पार्टी सभापति गगन थापाले विशेष महाधिवेशनमा सहभागी नभएका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि कोइराला पक्षले आन्तरिक छलफल अघि बढाएको हो।
विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको जनाइएको छ।
बैठकमा हालै केन्द्रीय सदस्यमा मनोनीत भएका जीवन परियार, गोविन्दराज पोखरेल, दिनेश कोइराला तथा उर्मिला थपलिया समेत सहभागी रहेको स्रोतले जनाएको छ।
छलफलमा सहभागी नेताहरूले केन्द्रीय सदस्य मनोनयनको निर्णयअघि पर्याप्त आन्तरिक परामर्श नभएको विषय उठाएको बताइएको छ।
सभापति थापाले मनोनयन गरेका १९ केन्द्रीय सदस्यमध्ये सात जना कोइराला पक्षसँग निकट मानिने नेताहरू रहेका छन्।







