विभक्त प्याकुरेल पर्वत जिल्ला प्रशासनमा २ वर्ष सेवा गरिसकेपश्चात् कास्की जिल्लाको एक कार्यालयमा सरुवा भएर आए। कास्कीमा उनलाई अब कार्यालयको कार्यबाहेक केही सिर्जनशील कार्यहरू पनि गर्ने सोच आयो। उनले पोखरास्थित एक ट्युसन सेन्टरसँग सम्पर्क गरे र उनको नेतृत्वमा अब उक्त ट्युसन सेन्टरमा लोक सेवा आयोगसम्बन्धी कक्षा सुरु गर्ने निधो भयो। खरिदार, नासु तथा प्रदेशस्तरका प्रतिस्पर्धात्मक परीक्षा लक्षित गरी कक्षा सुरु गर्ने र सोको नेतृत्व विभक्तले गर्ने, अन्य स्रोत व्यक्तिहरूसमेत परिचालन गर्ने गरी भर्ना सुरु गरियो।
कक्षाहरू सुरु हुन थाले। विभक्त दिउँसोको समय कार्यालय जान्थे र बिहान-बेलुका कक्षालाई समय दिन थाले। यसै क्रममा एक विद्यार्थीमा उनको नजर गयो। उनी थिए तनहुँ खैरेनीटारका अनुपम शर्मा।
अनुपम कक्षामा अलि अजिब हर्कत गर्दथे। पढाइरहँदा उनी जानाजान प्रशिक्षकलाई अप्ठ्यारो पार्ने प्रश्न गर्थे। “अन्धगल्छी विश्वकै गहिरो गल्छी हो” भनी पढाइरहँदा उनी सोध्थे, “कसरी गहिरो भयो सर? कसले नाप्यो सर?” जस्ता प्रश्न-प्रतिप्रश्न गर्थे।
विभक्तले भन्थे, “लोक सेवा आयोग एक निष्पक्ष निकाय हो, मेहनत गर्ने हो भने जसरी पनि नाम निस्कन्छ।”
यस विषयमा पनि अनुपमको फरक विचार थियो। उनी भन्थे, “लोक सेवा आयोग युवालाई डिप्रेस्ड बनाउने संस्था हो। थाहा छ सर, काठमाडौँमा एक छोराले बाबु र भाइ मारेको घटना? एक आत्मदाहको घटना? उनीहरू लोकसेवा पढ्दापढ्दै थाकेर मानसिक रोगका शिकार भएका थिए। दुनियाँभरको कुरा पढ्यो, पूरै थ्योरी पढ्यो, न कामसँग मिल्दो सिलेबस छ। लोकसेवाले साँच्चिकै योग्यहरू छान्न सकेको छ जस्तो लाग्छ सर? के पास हुनेहरू मात्र योग्य हुन् सर? फेल हुने अयोग्य र निकम्मा करार किन हुन्छन्?”
विभक्तले जबजब कक्षामा सकारात्मक कुरा गर्न खोज्थे, तबतब अनुपमले प्रश्न-प्रतिप्रश्न गरिहाल्थे। सुरुमा त विभक्तलाई ‘यो विद्यार्थीमा कति नकारात्मकता छ यार, यस्तोले कसरी गरी खाला’ जस्तो लाग्थ्यो। गाली पनि गर्थे र “तिमी नबोल है भाइ” भनिहाल्थे। तर विस्तारै अनुपमका कुरा विभक्तलाई चसक्क-चसक्क हुन थालेका थिए। उनका कुरामा कहीँ न कहीँ त सत्यता भएको महसुस विभक्तले गर्न थालेका थिए।
कक्षा सुरु गरेको पहिलो महिनाको अन्तिम शनिबार विभक्तले परीक्षा लिए। पहिलो पत्रको परीक्षामा उनै उल्टोपाल्टो बोल्ने अनुपमले सर्वाधिक अंक ल्याएको देखेर विभक्त छक्क परेका थिए। लिखित पत्रको कपी जाँच्दा विभक्त अझ छक्क परे। सबै परीक्षार्थीको कपी सामान्य नै लागेको थियो। जब उनै अनुपमको कपी जाँच्न थाले, उनमा विषयवस्तुको राम्रो ज्ञान देखियो। साथै, अनुपमले नेपाली भाषामा लेखे पनि अंग्रेजीमा समेत राम्रा लाइनहरू लेखेका रहेछन्।
उनका केही कमजोरी भने रहेछन्। पहिलो कुरा, अनुपमका अक्षर निकै ठूला र भद्दा तर बुझ्न सकिने थिए भने अर्को कुरा, अनुपम परीक्षामा पनि अलि बढी नै क्रिटिक्स बन्न खोजेको देखिन्थ्यो। जस्तैः युएनओको औचित्यबारेको प्रश्नमा “अब युएनको औचित्य छैन” भन्ने सन्दर्भमा जवाफ लेख्थे। नेपालको संघीयताको कमजोरी केलाउनुहोस् भन्ने प्रश्नमा उनी “नेपालजस्तो सानो भूगोल भएको मुलुकलाई संघीयतै चाहिँदैन” भन्ने जस्ता जवाफ लेख्थे।
अब भने विभक्तको ध्यान अनुपमतर्फ गइसकेको थियो। अब कक्षामा पनि विभक्त अनुपमलाई फोकस गर्न थालेका थिए। बेलाबेला भने अनुपम लोकसेवा पढ्दापढ्दै दिक्क भएको जस्तो देखिन्थे। विभक्तलाई अनुपमबारे जान्न मन लाग्छ। अनि विभक्तले अनुपमलाई चिया पिउने अफर गर्छन्, अनुपमले त्यो प्रस्ताव स्वीकार्छन्।
हप्ताको ५ दिन कक्षा हुन्थ्यो। शनिबार परीक्षा हुन्थ्यो अनि आइतबार भने बिदा दिइएको थियो। किनकि विभक्त उक्त इन्स्टिच्युटका एकल प्रशिक्षकजस्तै थिए। उनी पारिवारिक समय बिताउन आइतबार इन्स्टिच्युट जाँदैनथे। आइतबार प्रायः उनी म्याग्दीको बेनीतिर हुन्थे।
यो आइतबार भने विभक्तले अनुपमको जीवन सुन्न चाहे। उनीहरू राष्ट्र बैंक चोकमा भेट भए र विभक्तको स्कुटरमा दुवै जना लागे सारङ्कोटतर्फ। त्यहाँ एक क्याफेमा बसे। विभक्तले २ वटा मिल्क कफी मगाए।
विभक्तले भने, “अनुपम, आज पूरै दिन म तिमीलाई दिँदै छु। मेरो कथा ‘सुब्बाको प्रेम’ भाग १ र २ प्रशासन डट कममा पढ्यौ होला नि, आज म तिम्रो कथा सुन्छु र तिम्रो कथा पनि पाठकसम्म पुर्याउन म चाहन्छु।”
अनुपमले भने, “तपाईंको कथा त मैले पढेको छु सर। तपाईं जस्तो अरूलाई उत्प्रेरणा दिने मेरो कथा कहाँ छ र? मेरो कथामा न तपाईंको जस्तो सफलता छ, न प्रेमिल मिठास छ। यस्तो खल्लो कथा सुनेर के गर्नुहुन्छ?”
“तिमी कथा सुनाऊ। त्यो कथा म पहिलो पाठकको रूपमा सुन्छु। त्यो कथाको बाँकी भागमा मेरो पनि महत्त्वपूर्ण योगदान रहन सक्ला नि त। मलाई आफ्नो दाइ सम्झेर सुनाऊ न।”
कफी आयो। एक सुर्की कफी सुरुप्प पार्दै अनुपमले सुरु गरे आफ्नो कथाः
“प्लस टु साइन्स काठमाडौँ बल्खुको बर्नहार्ट कलेजबाट राम्रै अंक ल्याएर पास गरेको थिएँ। डाक्टर पढ्न अलि सकिन्छ जस्तो लागेन, इन्जिनियर बन्न मन लागेन। धेरै साथीहरू विदेश जाने लहरमा थिए। मलाई पनि लाग्यो, आईईएलटीएस गर्यो, अस्ट्रेलिया गयो, जीवन सेट हुन्छ, बाउआमालाई पनि सान, पैसा पनि कमाइने, इज्जत पनि हुने। अनि लागेँ आईईएलटीएस क्लास लिन बागबजारतिर।
आईईएलटीएस क्लास सकेर परीक्षा दिएँ। आईईएलटीएसमा ६.५ अंक आयो। एउटा दाइले चिनेको गजबको कन्सल्टेन्सी छ भनेपछि त्यही कन्सल्टेन्सीबाट अस्ट्रेलिया एप्लाई गरेँ। घरमा जेनतेन पैसाको जोहो गरियो। कागजातहरू पनि तयार गरियो। करिब ४० दिनपछि भिसा रिजेक्ट भएको जानकारी आयो। कन्सल्टेन्सीले रि-एप्लाई गर्न सुझाव दियो। फेरि भिसा फी तिरेर एप्लाई गरियो, तर फेरि रिजेक्ट भयो।”
विभक्तले सोचे, आईईएलटीएस गरेको मान्छे रहेछ र पो अंग्रेजीमा राम्रा-राम्रा लाइनहरू लेख्दो रहेछ केटोले। अनि सोधे, “भिसा रिजेक्ट चाहिँ किन भएछ?”
अनुपमले भने, “मैले प्लस टुपछि डेढ वर्षजति पैसा जोहो गर्नेलगायतका कठिनाइका कारण एप्लाई गर्न सकेको थिइनँ। ग्यापले केही गर्दैन भनेर कन्सल्टेन्सीले भनेको थियो, तर हाई कमिसनले मानेनछ। थाहा छ सर, कन्सल्टेन्सीले सुरुमा आफूतिर तान्न खुब मेहनत गर्यो, तर पछि कागजात बनाउन खासै राम्रो सुझाव दिएनछ। जसले चिनेर त्यो कन्सल्टेन्सी गएको थिएँ, उसले चाहिँ त्यहाँबाट नगरी अन्तैबाट पो एप्लाई गरेर भिसा लियो। खासमा त्यो दाइलाई मान्छे लगेबापत कन्सल्टेन्सीले १०,००० कमिसन दिँदो रहेछ।”
“अस्ट्रेलिया रिजेक्ट भएपछि न्युजिल्यान्ड पनि गरियो, त्यो पनि रिजेक्ट भयो। यति गर्दा १० लाखजति खर्च भइसकेको थियो। यता मैले एक वर्ष पढाइ पनि छोडेर बसेको थिएँ। त्यो १८–१९ वर्षको केटो म, यति हुनु मेरो लागि आकाश खस्नुजस्तै भयो। सँगै पढेका थुप्रै साथीहरू अमेरिका, अस्ट्रेलिया पुगेर फोटो पोस्ट्याउन थालिसकेका थिए, म भने परिवारले जसोतसो जोहो गरेको पैसा सखाप पारेर बसेको थिएँ।
दुःख पर्दा आफूजस्तै या आफूभन्दा पनि दुःख पाएको अर्को साथीसँग भेट्ने, बोल्ने गरेपछि मन भुलाउन सजिलो हुँदो रहेछ। यसै क्रममा बारम्बार भिसा क्यान्सिल भएको साथी विवेकसँग मेरो भेट भयो। म शंकरदेव क्याम्पसमा बीबीएस भर्ना भएको थिएँ, विवेक बीबीए पढ्थ्यो। उसैसँग दिनहुँ भेट्ने, डुल्ने गर्न थालेँ। ऊ आर्थिक रूपमा निकै सम्पन्न थियो। ऊसँग हिँड्दा-डुल्दा चियासँगै चुरोट तान्न थालेछु, मलाई पत्तै भएन।
म आफ्नो अवस्थासँग निकै चिन्तित थिएँ। उसले भन्यो, ‘यस्ता नाथे टेन्सन त चट हुन्छ, ल यो तान’ भन्दै उसले एक दिन दिएको चुरोट तानेको, त्यो त गाँजा पो रहेछ। त्यसरी नै चुरोटबाट गाँजा तान्दै दिनहुँ आफ्ना पीडा भुल्न थालेँ।
एक दिन विवेकले भन्यो, ‘यो मुला गाँजाले नि छुन छोड्यो यार, म कडा खाले माल चखाउँछु, हिँड आज।’
म यति लफङ्गो भएको थिएँ कि विवेकले जे भन्यो, त्यो नकार्न सक्दिनथेँ। ऊ नै मेरो अन्नदाता बनेको जो थियो। उसले त्यो दिन अरू साथीहरूसँग चिनजान गरायो। ठूला धनाढ्यका छोराहरू, डनहरू, नेताका छोराहरू रहेछन्। त्यो टिनएज उमेरमा म झन् फुर्किएँ, यस्ता शक्तिशाली साथीहरू भेट्न पाएपछि। उनीहरूले अब मलाई एउटा सेतो धुलो सुँघ्न प्रेरित गरे र मैले पनि कुनै हिचकिचाहटबिना सुँघेँ। त्यो त हेरोइन नामक लागुऔषध रहेछ। दिनहरू बितिरहेका थिए, म यसैगरी साथीहरूसँग झुम्न थालेको थिएँ। हुँदाहुँदा सुईबाट ड्रग्स हान्न थालियो।
साथीहरू धनी भएकाले पैसाको जरुरी थिएन। मेरो काम विवेकलाई त्यहाँ लगेर जाने थियो। विवेकको बाइक एक्सिडेन्ट भएकाले उसले बाइक चलाउन सक्ने थिएन। मैले बाइक चलाउँथेँ, उसलाई लगेर नशा लिने ठाउँ जान्थेँ। गोप्य ठाउँ थियो। हामी त्यहीँ गितार बजाउने, नाच्ने, झुम्ने गर्दथ्यौँ।
एक दिनको कुरा हो, गाउँबाट ममी बिरामी परेर काठमाडौँ आउनुभयो। म ममीलाई हस्पिटल लगेर, ल्याएर रुममा छोडेर आफू साथीहरूकोमा गएर आउने भनी निस्किएँ। ममीले कोठा फोहोर देखेर सफा गर्न थाल्नुभएछ। मैले सबै लुकाएको थिएँ, तर एउटा सुई कताकताबाट खाटमुनि छुटेछ। ममीले फेला पार्नुभएछ। ममीको फोन आएको आयै गरेपछि म रुम गएँ।
रुममा पुग्नेबित्तिकै ममीले मलाई एक झापड हान्नुभयो। यति रुनुभयो, यति गाली गर्नुभयो कि मलाई आफैँसँग धिक्कार लाग्यो। जीवनमा आफ्ना बाबुआमालाई खुसी दिनुपर्ने छोरो आफ्नै कारणले आमाले डाँको छोडेर रोएको देखेपछि एक छोरो मरेतुल्य बन्ने रहेछ। ममीसँग कसम खाएँ कि अब म यस्तो संगत गर्दिनँ, यस्तो केही प्रयोग गर्दिनँ भनेर माफी मागेँ। आमाको मन हो, आफ्ना सन्तानको झुटो कसम पनि सहजै विश्वास गर्ने रहेछ।
अब मेरो हालतबारे ममी हुँदै बुवा, दाइ, दिदीलगायत परिवारमा छलफल भएछ। अब यसलाई सुधार्न बिहे गरिदिनुपर्छ भन्ने निष्कर्ष निस्केछ। मेरो लागि घरमा केटी खोज्न थालिएछ। म गाउँमा छँदा अनुशासित, पढाइमा पनि अब्बल र परिवार पनि गाउँको एक प्रतिष्ठित परिवार भएकोले केटी पाउन त्यति कठिन भएनछ।
म भने साथीहरूका कारण ममीलाई दिएको कसम तोड्न बाध्य बनेछु। म लागुऔषधको लतमा फसिरहेकै थिएँ। एउटा मात्र सजगता भनेको मैले अरूले प्रयोग गरेको सुई भने प्रयोग गर्ने थिइनँ। धन्न त्यो पनि प्रयोग गरेको भए म आज एड्सजस्ता रोगको समेत शिकार हुने रहेछु। विवेक र अर्को उमेश नामका साथी त अहिले एड्सबाट संक्रमित छन् अरे भन्ने सुनेको छु।
एक दिन अकस्मात् घरबाट फोन आयो। तुरुन्त घर आउन भनियो। बुबाले फोन गरेपछि नाइँ भन्न सक्ने मेरो सामर्थ्य कहिल्यै हुँदैन, त्यो बेला पनि भएन र म घर गएँ। घर गएपछि घरका सबैले मलाई गाली गर्नुभयो, रुनुभयो, कराउनुभयो। जीवनमा कहिल्यै रोएको नदेखेको बुबाको आँखामा समेत आँसु देखेपछि म परिवारले अब जे भन्नुहुन्छ, त्यो गर्न तयार भएँ।
घरका मान्छेले मलाई बिहे गर्नैपर्ने बाध्यतामा पार्नुभयो। म बिहेको लागि राजी नभई सुखै भएन। घरमा मेरो बिहेको कुरा फाइनलजस्तै भएको रहेछ। मलाई केटीको फोटो देखाउनुभयो। केटी मलाई ठिकै लाग्यो। मलाई ठिक लाग्नु र नलाग्नुले केही हुने अवस्था थिएन सर।
केटी हेर्न जाने दिन आयो। केटा-केटीलाई कुरा गर्न एकछिन एकान्तमा छोडिदिए। उनले ‘बिहे गर्न मेरा दुई शर्त छन्, मान्नुहुन्छ भने मात्र बिहे गर्छु’ भनिन्।
मैले ‘के शर्त हुन्, भन न’ भनेँ।
उनले भनिन्, ‘पहिलो, म पढ्न चाहन्छु। मेरो लक्ष्य सरकारी जागिर खाने छ। मलाई पढाउनु त हुन्छ नि?’
मैले, ‘हुन्छ’ भनेँ।
‘अनि अर्को, म विश्वास गरेको मान्छेबाट धोका सहन सक्दिनँ। धोका दिनुभयो भने हाम्रो सम्बन्ध त्यही दिन सकिन्छ।’
मैले सोचेँ, अरू महिलाप्रति आफ्नो पुरुषको आसक्ति नहोस् भन्ने सोच्नु स्वाभाविक हो। अनि भनेँ, ‘ओके।’
एकछिन दुवैजनाले भुइँतिर हेरिरहेपछि मैले, ‘अरू केही छ तिम्रो कुरा? छैन भने जाऔँ बाहिर’ भनेँ। उनले ‘छैन’ भन्ने अर्थमा मुन्टो हल्लाइन् र हामी बाहिर निस्कियौँ।
बिहेको मिति फिक्स भयो। मलाई बिहे गर्न खासै मन थिएन। तर उषालाई देखेपछि भने मेरो मन पग्लिएको थियो। उनी निकै राम्री थिइन्। उनको मोबाइल नम्बर नमागेकोमा मलाई पछुतो भएको थियो।
बिहे भयो, उषासँगको प्रेमिल समय सुरु भयो। ममीसँग कसम खाएपछि ड्रग्स सेवन अलि कम गरेको त थिएँ। तर तलतल लागेर अति भइसकेको थियो। घरमा अब म काठमाडौँ जान्छु, कलेज छुट्यो मेरो भनेको थिएँ। उषाले १२ सकेर १ वर्षदेखि लोकसेवा पढ्न थालेकी रहिछिन्। घरमा जाने भए उषालाई पनि लगेर जाने र उसलाई पनि उतै लोकसेवा तयारी गराउने कुरा गर्नुभयो। म ड्रग्सको लागि सिक (Sick) भएको थिएँ। उषालाई लान त चाहन्नथेँ, तर परिवारको अगाडि मेरो केही चलेन। उषालाई लगेरै काठमाडौँतिर लागेँ।
काठमाडौँमा उषासँग मेरा प्रेमिल दिनहरू बित्दै थिए। म कहिले कलेज जाने नाउँमा साथीहरू भेट्न जाने र लुकिछिपी ड्रग्स लिने गर्थेँ। कहिले उषा लोकसेवाको क्लास लिन गएको मौका पारेर साथीहरूकोमा जान्थेँ। उषाले खासै भेउ पाएकी थिइनन्।
एक दिन विवेक २ हप्तालाई थाइल्यान्ड जाने भयो। मलाई ‘माल’ कमी हुने अनुमान भएर ५ पोका हेरोइन लिएर रुममा लुकाउनुपर्ने भयो। डस्टबिनमा फोहोरभित्र हालेर लुकाएँ। तर एक दिन उषाले रुम सफा गर्ने क्रममा त्यो चिज भेटाइछन्। म रुम पुग्दा त उषाले उही रूप देखाइन्, जुन रूप ममीले देखाउनुभएको थियो। म झस्केँ र सम्झेँ उनले बिहेअघि राखेको दोस्रो शर्त। उषा यति रोइन् कि ३ दिनसम्म न केही खाइन्, न बोलिन्। अनि उनले माइती र घर दुवैतिर फोन गरेर आफू मसँग नबस्ने भनेर घोषणा गरिन्।
मैले माफीको लागि यति याचना गरेँ, तर उनी टस कि मस भइनन्। घटना घटेको चौथो दिनमा उनी एक पत्र छोडेर कोठाबाट निस्किछन्ः
“प्रिय अनुपम,
म हजुर नै भनेर आफ्ना बाबुआमा, सारा संसार छोडेर आएकी थिएँ। तपाईंसँग जति प्रेम मलाई कसैसँग छैन, अझै पनि। तर तपाईंले ममाथि विश्वासघात गर्नुभयो। मेरो अमिट मायामा कुठाराघात गर्नुभयो। तपाईंले मलाई जिउँदै मार्नुभयो। तपाईंलाई मेरो भन्दा बढी माया लाग्ने अरू नै चिज रहेछ। मेरो जीवनमा तपाईंले खेलवाड गर्नुभयो। अब यो पीडा सहेर तपाईंसँगै बसिरहन म सक्दिनँ।
मैले जुन अनुपमलाई माया गरेको छु, उसको लागि मेरो प्रेम मर्दैन। तर अहिले जुन अनुपमलाई देखेँ, त्यो अनुपमलाई म घृणा मात्र गर्न सक्छु। हजुर अहिले मेरो निश्चल मायाको लायक हुनुभएन। जुन दिन आफूलाई त्यसको योग्य बनाउनुहुनेछ, त्यो दिन मात्र मलाई खोज्ने कोसिस गर्नुहोला।
मैले सोचेको अनुपमको प्यारी,
उषा”
त्यो दिन मैले आफैँले आफैँलाई थुकेँ। केही दिनमा पोर्चुगलबाट दाइ आउनुभयो। एक झापड फेरि खाएँ मैले सर। अनि दाइले मेरो मोबाइल खोसिदिनुभयो, फेसबुक बन्द गरिदिनुभयो अनि नार्कोनन नेपालको सुधार केन्द्रमा लगेर भर्ना गरिदिनुभयो।
सुधार केन्द्र गएपछि पनि सुरुसुरुमा त यति तलतल लाग्ने कि कति पटक भित्तामा टाउको ठोकेको छु सर मैले। कति रोएँ, कति कराएँ, हातखुट्टा करकर खाएर मर्नु हुन्थ्यो। सुरुका दिनहरूमा निद्रा नै नलाग्ने। ड्रग्स लतबाट सुधार भई जीवनमा कति-कति प्रगति गरेका कथाहरूले निकै उत्प्रेरित गर्यो। सुधार केन्द्रले ‘डिटक्सिफिकेसन’, १२ स्टेप प्रोग्राम र थेरापी, सकारात्मक सोच विकास, साइकोलोजिकल परामर्शलगायतका विधिद्वारा सुधार गर्यो। मेरो आफ्नो पनि प्रयास भएकोले म छिटै ड्रग्सबाट टाढा हुन सफल भएँ।
पछि थाहा भयो, उषालाई मेरै परिवारले संरक्षण गरी लोकसेवा पढ्न होस्टेलमा राखेको रहेछ। म सुधार केन्द्रबाट निस्किँदासम्म त उषाले खरिदारमा नाम निकालेर म्याग्दीको बेनीमा पोस्टिङ भएकी रहिछिन्। मैले उनलाई सम्पर्क गर्ने एक-दुई कोसिस गरेँ, तर उनले अझै माफी गरेकी रहिनछन्। बोल्न र सम्पर्कमा आउनै खोजिनन्। मेरो भने पुराना साथीसङ्गीसँगको संगत छुटेको थियो भने ड्रग्सको लत पनि टुटिसकेको थियो। तर अब के गर्ने, के नगर्नेमा थिएँ।”
विभक्तले बीचमै काटेर सोधे, “उषा शर्मा म्याग्दी जिल्ला अदालतवाला त होइनन्?”
“हो सर।”
“मेरो म्याडम ममता पनि त म्याग्दी जिल्ला अदालतमै छिन् त। ओके, त्यो कुरा पछि गरौँला, कथा अघि बढाऊ।”
अनुपमले फेरि सुरु गरेः
“यत्तिकैमा दसैँ आयो। टीका लगाउन उषा पनि घर आइन्। सबैसँग उनको राम्रो थियो, तर मलाई हेर्न पनि खोजिनन्। म उनको मायाको भिखारी बनेको थिएँ। जति गर्दा पनि उनी बोलिनन्। सोच्दासोच्दै एउटा अठोटमा पुगेँ कि म पनि अब लोकसेवा पढेर नाम निकाल्छु र लायक भएर उषाको अगाडि जान्छु। उनको योग्य हुन अब म पनि सरकारी जागिरे हुनैपर्छ।
त्यो दिनदेखि लोकसेवा तयारी गरेको हो सर, ३ वर्ष हुन थाल्यो। काठमाडौँ गएर बीबीएस पूरा गरेँ अनि कोचिङ क्लास पनि लिएँ। मक टेस्टहरू पनि कति लेखेँ-लेखेँ सर, तर केही गरी नाम निकाल्न सकिएन। जसरी पनि पास गर्नैपर्ने छ सर, तर हुँदै हुँदैन। ग्रुप स्टडी गर्यो, सँगै पढेका साथीहरू जो आफ्नो जत्तिकै तयारी भएका हुन्छन्, साथीहरूको नाम निस्किन्छ, आफ्नो निस्किँदैन। ‘पहिलो प्रयासमै पास भएँ’, ‘३ महिना पढेर पास भएँ’, ‘१८ वर्षमै नाम निकालेँ’ भन्ने जस्ता कथाहरू बजारमा आउँछन्। त्यस्ता कथाले मलाई उत्प्रेरित गर्दैन सर, उल्टो ‘डिमोटिभेट’ गर्छ।
अचेल त त्यसैले लोक सेवाप्रति पनि विश्वास लाग्नै छोड्यो सर। संघ, प्रदेश, स्थानीय तह, संस्थान यता-उति गरेर २०–२२ वटा परीक्षा दिइसकेँ, तर पनि कतै नाम आउँदैन। उषालाई फिर्ता पाउन सुरु गरेको लोकसेवा अब आफ्नै पनि ठूलो सपना बनिसक्यो। यति मेहनत गरिसकियो, न अब ब्याक हुन सक्ने अवस्था छ, न अघि बढ्न नाम निस्किन्छ।
जीवनमा त्यस्तो आरोह-अवरोह छिचोलेर आफूलाई अनुशासित बनाएँ, तर लोकसेवाले त फेरि पनि डिप्रेस्ड बनाउँछ कि भन्ने पो डर लाग्न थाल्यो सर। सुध्रेर लोक सेवा पढोस् भन्ने परिवारका मान्छेले समेत ‘अब नसक्ने भइस्, कति पढ्ने होस्, जीवनभर पढेर मात्र के गर्ने हो, अरू केही गर्लास्, छोड भो’ भन्न थाले।
जब लोकसेवा पढ्न थालेँ, न परिवारसँग रमाइलो, न साथीहरूसँग घुमफिर। आफन्तले बोलाएका अवसरहरूमा समेत कहिले केको परीक्षा, कहिले केको परीक्षा। सबै थोक त्यागेर जीवनको महत्त्वपूर्ण समय लगाएको छु, तर खोइ उपलब्धि त जिरो छ सर। अब मसँग धेरै हिम्मत, आँट, साहस र प्रेरणा बाँकी छैन सर। हजुरसँग क्लास लिएर यो वर्ष लास्ट पढ्छु भन्ने लागेर आएको हुँ सर।”
विभक्त गम्भीर बनेका थिए। उनी अनुपमको कथामा यति डुबेछन् कि अगाडि राखेको कफी चिसो भएछ।
“तिम्रो कथा सुनेँ भाइ, तिमीले सानो संघर्ष पार गरेर आएको होइन रहेछौ। तिम्रो पढाइ पनि राम्रो छ। अब हामी मिलेर तिम्रो लेखाइमा निखार ल्याउनुपर्छ। अर्को राम्रो कुरा, उषा म्याडम र मेरी म्याडम अहिले एउटै कार्यालयमा रहेछन्। म ममतालाई पनि तिम्रो कथा सुनाउँछु। यति प्रण गर्छु कि यो साल तिमीलाई सरकारी जागिरे बनाएरै छोड्छु, अनि तिम्रो प्रेम पनि तिमीलाई प्राप्त गराएरै छोड्छु।
म कोठामा पनि एक्लै बस्छु। तिमी खैरेनीटारबाट आउने-जाने नगर, सँगै बसौँ। म पनि उपसचिव तयारी गर्दै छु, तिमीलाई पनि पढाइमा थप सहयोग गर्न सक्छु।”
यति कुरा भएपछि दुवै जना सारङ्कोटबाट स्कुटरमा हुइँकिए। केही दिनमा अनुपम विभक्तकै रुममा बस्न थाले। उता विभक्तको माध्यमबाट अनुपमको कथा ममता हुँदै उषासम्म पुग्यो। ममताले उषालाई मनाउन दिनहुँ प्रयास गरिरहिन्। उषाले पनि माया गरेको मान्छे न हुन्, अनुपमप्रति उषाको पनि अब भने मन पग्लियो। उषा अनुपमलाई भेट्न र बोल्न तयार भइन् अनि स्कुटरमा अनुपम र विभक्त बेनीतिर लागे।
बेनीको लभ्ली हिलमा उषा र अनुपमको भेट गर्ने व्यवस्था ममता र विभक्तले मिलाए। उनीहरूलाई एकै ठाउँ छोडेर ममता र विभक्त अलि टाढा बसे। सुरुमा दुवै जना बोल्नै सकेनन्।
अनुपमले भने, “सन्चै छौ? तिम्रो लायकको बन्न कोसिस त गरेको हो, सकिनँ। रित्तो हात आएको छु, तर तिमीले देखेको नराम्रो अनुपमलाई मैले पूरै फालिसकेँ।”
उषा बोल्नै सकिनन्। आँखाबाट आँसु झारिन्। सुकसुक गर्न थालिन्। अनुपमले अँगालो हाले। दुवैजना अँगालोमा बाँधिएर यति रोए कि उनीहरूलाई वरिपरिका कसैको परवाहै भएन।
अनुपमले भने, “मलाई माफ गरिदेऊ प्रिय, तिमीलाई मैले साह्रै दुःख दिएँ।”
उषाले भनिन्, “अब माफी नमाग्नुस्। हजुरले गल्तीको फल भोग्नुभयो। मलाई पनि माफ गरिदिनुस्, हजुरको कठिन अवस्थामा मैले साथ दिइनँ। मेरा पनि हजुरबिनाका दिन कहिले हजुरको यादमा त कहिले हजुरको धोकाको यादमा रोएरै बितेँ। हजुर आउनु नै सबथोक आउनु भएको छ। हजुर मेरो लागि रित्तो हुनुहुन्न। अब हजुरको हरेक पाइलामा साथ दिन्छु।”
त्यो दिन बेनी बसेर अर्को दिन विभक्त र अनुपम दुवै जना पोखरा फर्किए। अब अनुपममा छुट्टै उत्साह थियो। उनी दिनरात मेहनत गर्न थाले। विभक्तले अनुपमलाई सहायक लेभलभन्दा अफिसर लेभल नै तयारी गर्न प्रेरित गरेका थिए।
सुरुमा उनको अत्यधिक क्रिटिकल हुने गरी लेख्ने शैलीलाई सन्तुलित लेखाइमा सुधार गराउँदै, विस्तारै फर्म्याटिङ सुधार, लेखाइमा शुद्धता, स्पष्टता ल्याउन र अरूको भन्दा उत्तर फरक बनाउन विभक्तले अनुपममाथि निकै मेहनत लगाएका थिए।
यसैबीच अनुपमको निरन्तरको मेहनतले नतिजा दिन थाल्यो। सुरुमा उनको गण्डकी प्रदेश चौथो लेभलमा नाम निस्कियो। त्यसको अन्तर्वार्ता दिन नपाउँदै विद्युत् प्राधिकरण ५ औँ तहमा नाम निस्कियो। सोको ३ महिना नपुग्दै अनुपमको गण्डकी प्रदेश ७ औँ तह (अधिकृत) मा नाम निस्कियो।
विभक्तले सुरु क्लासमा “लोक सेवा आयोग एक निष्पक्ष निकाय हो, मेहनत गर्ने हो भने जसरी पनि नाम निस्कन्छ” भनेको कुरा अनुपमले सम्झे अनि सोचे—आफ्नो कमजोरी स्वीकार्न नसकी आफूलाई अब्बल मानेर लोक सेवा आयोगलाई दोष दिनु मेरो भुल रहेछ।
अनुपमले फाइनल रिजल्ट आएको केही मिनेटमै विभक्तलाई फोन गरेर सुनाए। विभक्तप्रति आफ्नो आभार व्यक्त गरे।
विभक्तले भने, “मैले भनेको थिएँ नि भाइ, कथा सुन्नुअघि तिम्रो आगामी कथाको महत्त्वपूर्ण हिस्सा म बन्न पनि सक्छु। आज तिमी जति खुसी छौ, म पनि त्यति नै खुसी छु भाइ। अब तिम्रो कथा पनि पाठकको लागि उत्प्रेरणाको कथा बनेको छ, अब तिम्रो कथामा पनि प्रेमिल सम्बन्ध बनेको छ। अब तिम्रो कथा म कमल न्यौपाने सरलाई सुनाउँछु। उहाँले तिम्रो कथा पनि मेरो ‘सुब्बाको प्रेम’ जस्तै कथा लेखेर प्रशासन डट कममार्फत पाठकलाई उत्प्रेरित गर्नुहुनेछ।”
“हुन्छ, सर।”
मूल पात्रः अनुपम शर्मा, विभक्त प्याकुरेल, ममता प्याकुरेल र उषा शर्मा (काल्पनिक पात्र)






