काठमाडौँ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके अनुसारको दक्षिणाको रसिद काटी विशेष पूजा गरेका हुन् ।
चान्द्रमास अनुसार आज अन्तिम सोमबार हो । गत सोमबार करिब ३०० भक्तजनले विशेष पूजा गरेका थिए । भक्तजनले बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिए ।
चान्द्रमास अनुसार श्रावण महिनाको चौथो अर्थात् अन्तिम सोमबार भएकाले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना गर्ने भक्तजन अहिले पनि लाममा बसेका छन् । बोल बम यात्री बिहान २:०० बजेदेखि नै लाममा बसेका थिए । पशुपतिनाथका चार ढोका भने आज बिहान ४:०० बजेदेखि मात्र खोलिएको थियो ।
सौरमास अनुसारका चार सोमबार बिहान ३:०० बजेदेखि नै पशुपतिनाथका चार ढोका खुला गरिएको थियो । चान्द्रमास अनुसारको सोमबार के गर्ने भन्ने निर्णय नभएकाले बिहान ४:०० बजे मात्र ढोका खोलिएको कोष संस्कृति संरक्षण महाशाखाका पुरातत्व अधिकृत सुशील कुमार गौतमले बताए ।
सौरमास अनुसार साउनका सोमबार जत्तिकै पशुपति क्षेत्रमा आज पनि भक्तजनको उपस्थिति रहेको छ । चाडपर्व चान्द्रमास अनुसार मनाइने भएकाले चान्द्रमास अनुसारको सोमबार पनि पशुपति क्षेत्रमा भक्तजनको उपस्थिति रहेको कोषले जनाएको छ ।






