कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त राजमार्गको सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका-१ दैलेखको भम्लु खोलास्थित गए राति माथिबाट सुक्खा पहिरो आएर सडक अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार राजमार्गअन्तर्गत कालीकोट खाँडाचक्र नगरपालिकाको पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिराले भदौ २० गतेदेखि बन्द सडक मङ्गलबार दिउँसो २:४५ बजेदेखि सञ्चालन भएको थियो । यता दैलेखमा गए राति ९:१० बजे गएको सुक्खा पहिरोले सडक पुनः अवरुद्ध भएपछि करिब चार दर्जनभन्दा बढी गाडी अलपत्र परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दैलेख प्रहरीका अनुसार आज बिहान ६:०० बजेदेखि प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली भम्लु खोलामा खटिगएको र बाटो जतिसक्दो छिटो खोलेर आवागमन सञ्चालन गर्न सडक डिभिजन कार्यालय सुर्खेतसँग आवश्यक समन्वयमा पहिरो पन्छाउने काम सुरु भएको छ । सडक अवरोधका कारण हुम्ला, मुगु, जुम्ला, कालिकोटबाट सुर्खेत, नेपालगन्ज, काठमाडौँ गन्तव्य लिएर हिँडेका स्याउ व्यापारी तथा यात्रुहरूलाई निकै सास्ती भएको जनाइएको छ ।






