काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्पछिको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सरकारका विभिन्न निकायबीच निरन्तर समन्वय भइरहेको बताएका छन् ।
सर्वदलीय बैठकपछि बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले वन तथा पर्यावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, गृहलगायत विभिन्न मन्त्रालय, विभाग र सरकारी संयन्त्रहरू विपद् व्यवस्थापनमा सक्रिय रहेको बताएका हुन् । उनका अनुसार सरकारले विपद्पछि सबैभन्दा पहिले खोजी तथा उद्धारलाई प्राथमिकता दिएको थियो ।
अहिले राहत वितरणको काम भइरहेको र त्यसमा केही कमीकमजोरी हुन सक्ने भए पनि भौगोलिक जटिलताका बाबजुद सम्बन्धित निकायहरूले काम गरिरहेको उनले बताए ।
लामिछानेले अब पुनर्स्थापना र पुनर्निर्माणको चरण बाँकी रहेको उल्लेख गर्दै त्यसका लागि मन्त्रालय, विभाग तथा सम्बन्धित प्राधिकरणहरूले योजना निर्माणदेखि फिल्डमा काम गरिरहेको बताए । नीतिगत निर्णयदेखि कार्यान्वयन तहसम्मका काम निरन्तर भइरहेको उनको दाबी छ । उनले सरकारको कामकारबाही सार्वजनिक नै रहेको भन्दै सरकार अप्ठ्यारो परेको ठाउँमा पुगिरहेको र आफ्ना नीतिअनुसार काम गरिरहेको बताए ।
मन्त्रिपरिषद्का निर्णयहरू पनि सार्वजनिक भइरहेकाले सरकारको कार्यसम्पादनबारे नागरिकले मूल्यांकन गर्न सक्ने उनको भनाइ छ ।
उनले भने, ‘विपद् व्यवस्थापनमा वन तथा वातावरण, गृह, महिला तथा बालबालिका लगायत विभिन्न मन्त्रालय, विभाग र सम्बन्धित निकायहरू संलग्न छन् । सबै निकायले आ-आफ्नो जिम्मेवारीअनुसार काम गरिरहे पनि उनीहरूबीच आवश्यक समन्वय निरन्तर भइरहेको छ । सरकारले प्रारम्भमा खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढायो । त्यसपछि राहत वितरणको काम भइरहेको छ । भौगोलिक जटिलताका कारण केही व्यावहारिक कठिनाइ र कमजोरी देखिन सक्ने भए पनि राहत कार्य निरन्तर जारी छ । अब पुनर्स्थापना र पुनर्निर्माणको दीर्घकालीन चरणमा सम्बन्धित मन्त्रालय, विभाग तथा प्राधिकरणहरू सक्रिय रूपमा योजना निर्माण र कार्यान्वयनमा जुटिरहेका छन् । नीतिगत निर्णयदेखि फिल्डस्तरको कामसम्म सम्बन्धित निकायहरू निरन्तर सक्रिय छन्। विपद्को अवस्थामा सरकार आवश्यक ठाउँमा पुग्ने र आफ्नो जिम्मेवारीअनुसार काम गर्ने प्रक्रिया जारी रहेको छ ।’
रास्वपाभित्रैबाट सरकारको कामप्रति उठ्ने आलोचनाबारे लामिछानेले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो भएकाले नेताहरूले आफ्ना धारणा स्वतन्त्र रूपमा राख्ने गरेको बताए ।
उनले आफ्नै सरकारको आलोचना गर्ने विषयलाई पनि लोकतान्त्रिक अभ्यास भएको दाबी गरे । नेताहरू तथा सांसदहरूको अभिव्यक्ति दिने शैली फरक-फरक हुने भन्दै उनले त्यसलाई पार्टीभित्रको असहमतिको ठूलो विषयका रूपमा लिन नहुने बताए। सर्वदलीय बैठकमा पछिल्लो विपद्को व्यवस्थापनसँगै सरकारका कामको समन्वय, राहत तथा पुनर्स्थापना र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो । बैठकले सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने तथा संसदभित्र विशेष समिति गठनका लागि पहल गर्ने विषयमा समेत छलफल गरेको लामिछानेले जानकारी दिए।






