२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

अ+ अ-

काठमाडौँ । “सपना हो कि विपना हो, यो के हो जिन्दगी ?
छिनको छिनै बदलियो, के भो जिन्दगी ?”

चर्चित गजल गायक थानेश्वर गौतम र शान्ति श्री परियारको स्वर तथा प्रभा बर्तौलाको शब्द रहेको यो गीतका हरफले जीवनको अनिश्चितता र एकाएक बदलिने परिस्थितिको पीडा बोल्छन् ।

यतिबेला यी हरफ दोलखाको कालिका खड्काको जीवनसँग ठ्याक्कै मिलेजस्तो भएको छ । सपना र विपना के हो? गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सपना र बिपना छुट्याउन अझै पनि नसकेको जस्तो भएको छ उनलाई । चीनको केरुङमा ‘साउथ एसिया रिसर्च सेन्टर इन साउथवेस्ट चाइना’ को कार्यक्रममा सहभागी हुन जाने भन्दै रसुवागढीतर्फ हिँडेका श्रीमान् टेकराज थामी भदौ १० को बिहानदेखि नै सम्पर्कविहीन छन् ।

न फोन आएको छ, न एसएमएस । न त उनको अवस्थाबारे कुनै खबर नै । जसरी हरेक दिन साँझ पर्न थालेपछि बास बस्न चराचुरुङ्गी आफ्ना गुँडतर्फ फर्किन्छन् । त्यसरी नै दिनभर काममा गएकाहरू साँझ घर फर्किन्छन् । जब साँझ छिप्पदै जान्छ, सडकमा मानिसको आवतजावत पनि बिस्तारै कम हुन थाल्छ ।

कालिकाको मनमा जिज्ञासा अझै आउँछ– यतिबेलासम्म किन घर नफर्केको होला रु कतैबाट टुप्लुक्क मेरो श्रीमान् (जी) पनि घर फर्किनुहुन्छ कि ? कालिका मायाले बोलाउँदा टेकराजलाई ‘जी’ भन्नुहुन्थ्यो ।

पत्रकारिता पेशामा रहेका नयाँ पत्रिकाका टेकराज कहिलेकाहीँ समाचारको कामले रातिसम्म घर बाहिरै रहन्थे । ढिला हुने भएपछि फोन आउँथ्यो–‘आज अलि ढिला हुन्छ है ।’ अहिले कालिका त्यही फोनको प्रतीक्षामा बस्नुभएको पनि महिना दिन पुग्न लागिसक्यो । “तिमीहरू खाना खाएर सुत ल । छोरीलाई बाबा आउन ढिला हुने भो भन्देऊ ।” प्राय:जसो आउने यस्तै किसिमको सन्देश आए पनि प्रतीक्षा त जति पनि गरिन्थ्यो नि झैँ लाग्छ कालिकालाई ।

प्रतीक्षा गरेकै २३ दिन बितिसक्यो । टेकराजको फोनबाट कुनै सन्देश आएन । “पहिला अफिसबाट ढिला हुँदा फोन आउँथ्यो । अहिले पनि साँझ परेपछि उहाँको फोन आउँछ कि जस्तो लाग्छ”, कालिका भन्छिन्, “फोन नआए पनि उहाँ फर्केर आउनुहुन्छ कि भन्ने आश भने अझै मरेको छैन ।”

घरको ढोकामा हावा लागेर ‘ढकढक’ आवाज आउँदा पनि कालिकाको मुटु बेस्सरी ढुकढुक हुने गर्छ । उनलाई लाग्छ–टेकराज पो आउनुभयो कि १ तर ढोका खोल्दा बाहिर कोही हुँदैन । सधैँ अफिसबाट फर्कने बाबालाई ढोकामा स्वागत गर्न दौडिने छोरी कृतिकाले पनि २३ दिनदेखि त्यो अवसर पाएकी छैनन् । बाबा पनि घर फर्केपछि छोरीले ढोका खोल्न नआएसम्म म बाहिर नै बस्छु भन्दै मायाले घुर्काउनुहुन्थ्यो । छुट्टीको समयमा सधैँ बाबा छोरी घुम्न निस्कन्थे तर २३ दिनयता कति स्कुल छुट्टी भए । कृतिकालाई हात समाएर घुमाउने बाबाको साथ छैन । कुशे औँसीमा पनि तस्बिर हेरेर चित्त बुझाउनुपर्‍यो । सानासाना खुसी बाबालाई ‘शेयर’ गर्ने कृतिकाले महिना दिनभयो बाबासँग त्यो खुसी साट्ने अवसर नपाएको ।

सडकमा मोटरसाइकल गुडेको आवाज सुन्नासाथ कृतिका सोध्छिन्, “बाबा आउनुभएछ कि ?” छोरीको त्यो प्रश्नले कालिकाको मन झन् भारी हुन्छ । “सडकमा मोटरसाइकल चल्दा पनि छोरीले ‘बाबा आउनुभएछ क्यारे’ भन्छिन्”, कालिका सुनाउनुहुन्छ, “मलाई पनि अझै सबै जना अफिसबाट फर्किएजस्तै उहाँ पनि घर फर्केर आउनुहुन्छ कि जस्तो लागिरहन्छ ।”

कहिलेकाहीँ कसैले चप्पल बजाउँदै हिँडेको आवाज सुन्दा पनि कालिकालाई टेकराज कतै नजिकै छन् कि जस्तो लाग्छ । आशा र निराशाबीचको यही दोधारमा बितिरहेका छन् भोटेकोशी बाढी गएयता उनका दिन पनि ।

टेकराज कतै उपचाररत हुनुहुन्छ कि ? कुनै सुरक्षित ठाउँमा हुनुहुन्छ कि ? आज नभए भोलि घरको ढोकामा आइपुग्नुहुन्छ कि ? कालिकाको मनमा यी प्रश्नहरू अझै बाँकी छन् । त्यसैले उनको मनले अहिलेसम्म टेकराजलाई मृत घोषणा गर्ने आँट गर्न सकेन तर फर्केर आउछन् भनेर ढुक्क हुने आधार पनि छैन । यी र यस्तै अनिश्चितताले कालिकाको मनलाई हरेक दिन एउटा जटिल किसिमको परीक्षा लिइरह्यो ।

टेकराज सम्पर्कविहीन भएदेखि नै कालिकाले भगवान्को अगाडि बत्ती बालिरहिन्। बलिरहेको बत्तीलाई उनी निकैबेर नियालेर हेर्थिन् । बत्ती उज्यालो र स्थिर देखियो भने मनमा आशा पलाउँथ्यो– टेकराज सुरक्षित नै छन् होला । तर कहिलेकाहीँ झ्यालढोकाबाट छिरेको सिरसिरे बतासले त्यही बत्तीको ज्योति धिपधिप गराउँथ्यो ।

दियोको ज्योति उज्यालो हुँदा कालिकाको अनुहार पनि उज्यालिन्थ्यो तर बतासले बत्तीको ज्योति मधुरो बनाउँदा उनको मनमा पनि आशाको उज्यालो धमिलिन्थ्यो । “बत्ती राम्रोसँग बलिरहेको देख्दा उहाँ सुरक्षित हुनुहुन्छ कि भन्ने आश लाग्छ”, उनी भन्छिन्, “तर हावाले बत्ती धिपधिप गर्दा कतै नराम्रो संकेत त होइन भन्ने डर लाग्छ ।” कालिकाका लागि पछिल्ला २० दिन यसैगरी बितिरहेका छन्–आशाको एउटा सानो उज्यालो समातेर, अनिश्चितताको अँध्यारोसँग लड्दै ।

जबजब मलाई उज्यालोको आश लाग्छ,
आमा यो टुकीमा किन बतास लाग्छ ?”

गजलकार प्रदीप रोदनका यी हरफ बाढीमा बेपत्ता भएर आफन्त सकुशल फर्किने आशामा दिन गनिरहेका कालिका र अन्य बेपत्ता परिवारको पीडासँग ठ्याक्कै मिल्छ ।

‘सररर पानी घट्टामा’ बोलको गीतका हरफ झैँ उनको दिनचर्या पनि बितिरह्यो :
“बसेकी छु हजुरको नाम जप्दै,
दियो बाल्दै त्यसैमा तेल थप्दै…”

बाहिर बत्ती धिपधिप गरिरहेको बेलाभित्र कालिकाको आशा । कहिले दुवै उज्याला हुन्थे, कहिले दुवै मधुरो ।

गत भदौ १० गते टेकराज चीनको केरुङ पुगिसकेको होला भन्ने कालिकालाई लागेको थियो । उनलाई दिइएको जानकारीअनुसार बिहान ७:०० बजे नै चीनतर्फ जाने तयारी थियो ।

त्यसैदिन अचानक भोटेकोशी नदीमा ठूलो बाढी आएको खबर सञ्चारमाध्यममा छ्याप्छ्याप्ती आउन थाल्यो । बाढीको खबर सुन्दा कालिकाको मन झस्कियो तर त्यतिबेलासम्म टेकराज बाढीको जोखिम क्षेत्र पार गरेर चीनतर्फ लागिसकेको होला भन्ने उनलाई लागेको थियो ।

दिनभर फोन आउँछ कि भनेर कालिका कुरिरहिन् । साँझ पर्न थाल्यो । घरका अरू सदस्य पनि फोनको प्रतीक्षामा थिए तर फोन आएन । “चीनतिर सामाजिक सञ्जाल राम्रो चल्दैन होला, नेटवर्कको समस्या भयो होला, कुनै अवरोध आयो होला”, कालिकाले आफैँलाई सम्झाइन् । ‘भोलि त पक्कै फोन आउला ।’ यही आशामा त्यो रात बित्यो । भोलिपल्ट पनि फोन आएन । पर्सिपल्ट पनि आएन । दिन बित्दै गए । न कुनै खबर आयो, न फोन ।

बिस्तारै कालिकाको मनमा आशाभन्दा डर बढ्न थाल्यो । सुरुमा ‘नेटवर्कको समस्या होला’ भनेर मन बुझाउन खोजे पनि दिनहरू बित्दै जाँदा मनले अनेक प्रश्न गर्न थाल्यो । कतै केही त भएन रु त्यही प्रश्नले कालिकाको मनमा चिसो पस्न थाल्यो । त्यसपछि सुरु भयो टेकराजको खोजी । विसं २०६८ वैशाख २८ गते कालिका र टेकराज थामीको नेपाल बार एसोसिएसनको सभा हलमा प्रगतिशील विवाह भएको थियो । सहयात्राका १५ वर्ष सुन्दर १५ दिन कटिसकेका थिए ।

छोरा हराएदेखि आँखा ओभानो छैन बा आमाको
आमा लीलादेवी र बुबा डिलबहादुरलाई छोरा हराएदेखि आँखा ओभानो छैन । छोरा आउने आशामा २३ दिन बित्यो । टेकराजका भाइ प्रेमबहादुर थामी दुवहीबाट दाइ खोज्न आकस्मिक छुट्टी मिलाएर नेपाल आए। नेपाली सेनाको हेलिकप्टरमा खोज्न रसुवा पुग्दा कहीँ कतै केही भेटिएन । अनि निराश भएर फर्किए। भाइहरू गङ्गाबहादुर र सन्तोष पनि दाइ हराएदेखि बेचैन छन् ।

टेकराजको सासूआमा विष्णुमाया खड्काले रक्षाबन्धनको दिन ज्वाइँ टेकराजसँग कुरा गर्न खोज्नुभयो तर ज्वाइँ बेपत्ता भन्ने सुनेदेखि भावविह्वल हुनुहुन्छ । उनी भन्छिन्, “ज्वाइँ अहिले यतैबाट आउनुहुन्छ जस्तो लाग्छ ।” कालिकाका भाइ विश्वास खडका भिनाजुको फोटो बोकेर अस्पतालहरूमा भौँतारिए । आँखाभरि आँशु बगाउँदै बेपत्ताहरूको समूहमा भिनाजुको फोटो टाँस्कनुभयो तर भिनाजु कतै भेटिनुभएन ।

‘मिसकल’ले झुक्याएको त्यो क्षण
टेकराज सम्पर्कविहीन भएको दुई–तीन दिनपछि एकाएक उनकै म्यासेन्जरबाट ‘मिसकल’ आयो भन्ने खबर आयो । त्यो एउटा मिसकलले केही क्षणका लागि कालिका, परिवार र आफन्त खुसी भए । मनमा एउटै कुरा आयो–टेकराज कतै सुरक्षित छन् । सायद उद्धारको पर्खाइमा छन् । त्यसैबीच सामाजिक सञ्जालमा टेकराज सम्पर्कमा आएको भन्ने खबर पनि फैलियो । धेरैले राहतको लामो सास फेरे । कालिकाको फोन, भाइबर, म्यासेन्जरमा बधाईको ओइरो आइरहेको थियो । तर त्यो खुसी धेरै बेर टिकेन ।

कालिकाले नै सामाजिक सञ्जालमार्फत टेकराजसँग अहिलेसम्म सम्पर्क हुन नसकेको स्पष्ट पारिन् । म्यासेन्जरमा आएको त्यो मिसकल टेकराज आफैँले गर्नुभएको हो भन्ने पुष्टि नभएको भन्दै उनले भ्रममा नपर्न र खोजी कार्यमा सहयोग गर्न आग्रह गरिन्। खुसी हुनेका अनुहार फेरि मलिन भए । “त्यो मिसकल आएको भन्न सुन्दा उहाँ कतै सुरक्षित हुनुहुन्छ कि भन्ने लाग्यो,” कालिका भन्छिन्, “एकछिन त उहाँसँग सम्पर्क भयो भनेर खुसी पनि भयौँ तर त्यो उहाँकै मिसकल हो भन्ने निश्चित हुन सकेन । फेरि उही प्रतीक्षामा बस्नुपर्‍यो ।”

त्यो दिन कालिकाले आशा कति चाँडै जन्मिन्छ र कति चाँडै टुट्न सक्छ भन्ने महसुस गरिन् । कुनै चमत्कार भएर टेकराज घर फर्किए हुन्थ्यो न भन्ने कल्पना अझै कालिकाको मनमा जीवित छ । कहिलेकाहीँ त उनलाई लाग्छ–कुनै दिन अचानक ढोका ढक्ढककिनेछ, बाहिर ‘जी’ ९टेकराज० उभिनुभएको हुनेछ र कयौँ दिनदेखि रोकिएको यो प्रतीक्षा त्यही क्षण सकिनेछ ।

त्यसैले कालिका अझै ढोकातिर हेर्न छाडेकी छैनन् । फोनको घण्टी सुन्न छाडेकी छैनन् । सडकमा कसैले मोटरसाइकल चलाउँदा कान ठाडा पार्न छाडेकी छैनन् । फर्केर आउने आशा छैन तर फर्केर आउनुहुन्न भन्ने अन्तिम सत्य पनि स्वीकार गर्न सकेकी छैनन् ।

सपनीमा समेत पर्खँदै
बिपनामा पर्खँदा–पर्खँदै दिन बिते । रात बिते । तर टेकराज फर्केर आउनुभएन । त्यसैले होला, अहिले कहिलेकाहीँ सपनामा भए पनि श्रीमान् आइदिए हुन्थ्यो जस्तो लाग्छ उनलाई । कहिलेकाहीँ सपनामा टेकराज आएर उनीसँग कुराकानी गर्छन्, सामीप्य महसुस गर्छन् । तर एकाएक निद्रा खुल्छ । त्यो क्षण सपनाभन्दा विपना नै पीडादायी लाग्छ ।

“सपनामा उहाँलाई देख्छु । बिपनामा बिलाउनुहुन्छ,” भावुक हुँदै कालिका भन्छिन्, “म नब्युँझिएको भए अझै धेरै बेर उहाँकै सामीप्यमा बस्न पाउँथेँ कि जस्तो लाग्छ ।”

भोटेकोशीको बाढीपछि टेकराज बेपत्ता भएको घटना सपना भइदिए हुन्थ्यो र सपनामा उनी सामीप्यमा आएको क्षणचाहिँ विपना भइदिए हुन्थ्यो भन्ने लाग्छ कालिकालाई । यही भावसँग मेल खान्छ गोपाल योञ्जनको शब्द तथा संगीत र नारायण गोपालको स्वरमा सजिएको चर्चित गीतका यी हरफ-
“आँखाभित्र बस्नु तिमी, छातीमा निदाउनु
सपनीमा पनि मलाई सुस्तरी चिहाउनु…”

गीतमा व्यक्त भावजस्तै कालिकाले पनि टेकराजलाई आँखामा, मनमा र आफ्नै अस्तित्वभित्र राखिरहेकी छन् । कालीकाको प्रिय मानिस संसारमा नरहे पनि सधै उनको अन्तरमनमा त बसिरहेकी छन् ।

“मलाई देवी मान्नुहुन्थ्यो, तिमी मेरो आमापछिको आमा हो भन्नुहुन्थ्यो । सधैँ खुशी र प्रगति चाहने । महिलालाई अत्यन्तै सम्मान गर्ने, छेउमा कसैलाई झुक्किएर छोइयो भने ढोगीहाल्ने बानी थियो । साथीहरू तिम्रो श्रीमानजस्तो त मान्छे नै भेटिन्न भन्थ्ये,” कालिका सम्झन्छिन्, “राम्रो मान्छे सायद भगवानका प्रिय हुन्ने रहेछन् । केरुङ जाने केही दिन अघि पनि संसारमै अशान्ति छ, हाम्रो घरमा मात्रै शान्ति छ भनेको शब्द कानमा अझै गुन्जिरहेको छ तर के थाहा टेकराजलाई केही दिनपछि म बाढीमा पर्ने छु र यो घर पनि अशान्त बन्ने छ भनेर ।”

थामी समुदायको खम्बा नै ढल्यो
नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीले टेकाराजको मृत्युले थामी समुदायको लागि खम्बा नै ढलेको बताउछन् । “थामी भाषा जान्ने मानिस जन्माउन अब हाम्रो समुदायलाई गाह्रो हुन्छ”, उनी भन्छन् । थामी गोरखापत्र दैनिकमा थामी भाषा पृष्ठ संयोजकसमेत थिए ।
विसं २०४२ जेठ १४ गते दोलखाको कालिन्चोक गाउँपालिका–२ बाबरेमा जन्मिएका टेकराज थामीले पत्रकारितामा स्नातकोत्तर गरेका हुन् । नयाँ पत्रिका दैनिकमा काम गर्ने थामी बागीश्वरी कलेज भक्तपुर र समृद्धि कलेज कौशलटारमा पत्रकारिता अध्यापन समेत गराउँथे ।

शनिबार अन्त्येष्टिको तयारी
अब टेकराज फर्केर आउने सम्भावना कमजोर हुँदै गएपछि परिवारले अन्त्येष्टिको तयारी थालेको छ । भोलि शनिबार उनको कुशको प्रतिमा बनाएर दाहसंस्कार गर्ने निर्णय परिवारले गरेको छ । तर तयारी अगाडि बढिसक्दा पनि कालिकाको मनले टेकराज यो संसारमा हुनुहुन्न भनेर पूर्ण रूपमा स्वीकार गर्न सकेको छैन । त्यसैले दाहसंस्कारको तयारी भइरहँदा पनि श्रीमान्लाई अन्तिमपटक ‘गुडबाई’ भन्ने आँट उनमा आएको छैन ।

“पहिला पनि धेरैले अब नकुरौँ, दाहसंस्कार गरौँ भन्नुभएको थियो,” आँखाबाट बगेका आँसु सलको एकछेउले पुछ्दै कालिका भन्छिन्, “तर मेरो मनले मेरो श्रीमान् यो संसारमा हुनुहुन्न भनेर स्वीकार गर्नै मानेन ।” शनिबार कुशको प्रतिमा जलाइनेछ । संस्कार पूरा हुनेछ । परिवारले टेकराजलाई अन्तिम बिदाइ दिनेछ । त्यसपछि पनि कालिकाको मनले यी कुरा स्वीकार गर्ला या नगर्ला रु थाहा छैन ।

शोकलाई शक्तिमा बदल्ने साहस बटुल्दै
टेकराजको अनुपस्थितिमा अहिले कालिकाको सबैभन्दा ठूलो सहारा छोरी कृतिका छिन् । अनि कृतिकाका लागि आमा कालिका । दुवैले एकअर्कालाई सम्हाल्दैछन् । जे भयो, त्यो विगत फर्केर आउने छैन । तर जीवन रोकिएर पनि नहुने रहेछ । छोरीकै लागि भए पनि बिस्तारै शोकलाई शक्तिमा बदल्नुपर्ने अठोट कालिकाले गरेकी छन् ।

पेशाले राष्ट्रिय समाचार समितिमा पत्रकार रहेकी कालिका आफूले भोगेको पीडामा मात्रै अल्झिएर बस्न चाहन्नन् । अन्य महिलालाई अघि बढ्न प्रेरणा दिने आफ्नो जिम्मेवारी पनि सम्झिरहेकी छन् । “म आफैँ धेरै शोकमा बसेँ भने मैले माथि उठाउन प्रयास गर्नुपर्ने अन्य महिला दिदीबहिनीलाई पनि असर पर्छ,” उनी भन्छिन्, “उहाँहरूलाई प्रेरणा दिन पनि अब म ‘मुभ अन’ हुनुपर्छ जस्तो लाग्छ । सम्हालिँदै छु ।”

पीडा तत्काल सकिँदैन भन्ने उहाँलाई थाहा छ तर समयसँगै चोटमा खाटा बस्ने र आफू फेरि पत्रकारितामा फर्किने विश्वास भने उहाँमा छ । “बिस्तारै यो चोटमा खाटा बस्ला । अनि सामान्य रिपोर्टिङमा नै फर्कनेछु”, कालिका भन्छिन्

टेकराजलाई श्रीमती कालिकाले मात्रै गुमाएकी छैनन् । छोरी कृतिकाले बाबु गुमाएकी छन् । परिवारले आफ्नो प्रिय सदस्य गुमाएको छ । पत्रकारिता क्षेत्रले एक होनाहार र असर पत्रकार गुमाएको छ । टेकराजको बेपत्ता घटनाले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा बताउछिन्। टेकराज भौतिक रूपमा टाढा भए पनि स्मृतिमा भने कहिल्यै टाढा हुनुहुने छैन । पत्रकार टेकराज थामीप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकूल परिवारमा हार्दिक समवेदना ।

0 Comments