काठमाडौँ। नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ। महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठनिक एजेन्डामाथि छलफल गर्न प्रतिनिधिहरूलाई तीन भौगोलिक क्लस्टरमा विभाजन गरिएको छ।
गत पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गठित केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्द सत्रमा प्रस्तुत गर्ने एजेन्डा पारित गरेपछि समूहगत छलफल सुरु गरिएको हो।
बन्द सत्रलाई हिमाल, पहाड र तराई–मधेश गरी तीन क्लस्टरमा विभाजन गरिएको छ। त्यसका लागि छुट्टाछुट्टै हल निर्धारण गरी प्रदेश तथा विभिन्न समूहबाट सहभागी महाधिवेशन प्रतिनिधिलाई सम्बन्धित क्लस्टरमा विभाजन गरिएको छ।
पहाड क्लस्टरबाट छलफल सुरु
महाधिवेशनको बन्द सत्रअन्तर्गत प्रारम्भमा पहाड क्लस्टरको छलफल सुरु भएको छ।
समूहगत छलफलका लागि ‘हिमाल हल’, ‘पहाड हल’ र ‘तराई-मधेश हल’ निर्धारण गरिएको छ। सम्बन्धित भूगोल, प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएका हलमा रहेर महाधिवेशनमा प्रस्तुत एजेन्डामाथि छलफल गर्नेछन्।
यसअघि बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदनसहित बन्द सत्रमा प्रस्तुत गरिने एजेन्डा पारित गरेको थियो।
बन्द सत्रमा पार्टीको आगामी राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशासँग सम्बन्धित प्रस्तावमाथि महाधिवेशन प्रतिनिधिले समूहगत छलफल गर्नेछन्।



