काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला ठाउँमा खाना खान आउने सडक मजदुरलाई काम दिने भएको छ । कोरोना भाइरसका कारण आफुले गरिरहेको ज्याला मजदुरीको काम नपाएपछी भोकले सडकमा भौतारीरहेका मजदुर खुल्ला ठाउँमा विवतरण गरीएको खाना खाएर आफ्नो भोक टार्दै आएको लामो समयमा काठमाडौँ महानगरपालिकाले काम गर्न सक्नेहरुलाई हप्ताको दुई दिन काम गर्न दिने व्यवस्था गर्न लागिएको हो ।
हप्तामा दुई दिन काम दिएर १४ सय रुपैयाँ दिने तयारी भइरहेको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । कसैको ठूलो परिवार छ भने उनीहरुमध्ये २ जनालाई काममा लगाउने र काममा लगाएबापत हप्ताको १४ सय रुपैयाँको दरले दिइने उनको भनाइ छ । तर, काम गर्न नसक्नेहरुका लागि भने व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।
यसैबीच, महानगरपालिकाले आज खुला ठाउँमा खान खुवाउने अभियान्ताहरुलाई बोलाएको छ । तिहारअघि, तिहारपछि खुला ठाउँमा खाना नखुवाउने सहमति भए पनि सहमति कार्यान्वयन नभएकाले अब के गर्ने भन्नेबारे छलफल गर्न महानगरपालिकाले उनीहरुलाई बोलाएको महानगरपालिकाका प्रवक्ता डंगोलले बताए ।
तिहारअघि भएको छलफलमा तिहारपछि खुला ठाउँमा खाना खुवाउन रोकेर भाडामा ठाउँ लिएर खाना खुवाउने अभियान चलाउने सहमति भएको थियो । सहमतिअनुसार खाना खुवाउने ठाउँको भाडा महानगरपालिकाले व्यहोर्ने रहेको थियो ।
भाडाको ठाउँ खोजिरहेको र ठाउँ नपाउञ्जेल खुला ठाउँमै खाना खुवाउन आफूहरु बाध्य भएको अभियान्ताहरुले बताएका छन् । कोरोना सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण रोजगारी गुमाएर खाना खान समस्या भएकाहरुका लागि खुलामञ्च लगायत ठाउँहरुमा खाना खुवाउने अभियान चलिरहेको छ ।







