काठमाडौँ । सुनसरीमा मिनी ट्रकभित्र लुकाएर लैजाँदै गरेको ४७ किलोग्राम विस्फोटक पदार्थसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले नियन्त्रणमा लिएको पदार्थको प्रयोगशाला परीक्षणबाट बारुद बनाउन प्रयोग हुने तत्त्व रहेको पुष्टि भएपछि घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिका-८ स्थित तीनकुने धरान चोकमा इटहरीबाट धरानतर्फ जाँदै गरेको को.प्र.-०२-००१ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो ।
गत कात्तिक १० गते साँझ करिब ६:३० बजे ट्रक जाँच गर्दा बोराभित्र विभिन्न सामानले छोपेर राखिएको अवस्थामा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने ठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
बरामद पदार्थबारे अनुसन्धानका क्रममा प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा ट्रकमा सवार तीन जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरूमाथि इलाका प्रहरी कार्यालय धरानबाट अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।
प्रहरीले बरामद पदार्थको प्रकृति पहिचान गर्न नमुना परीक्षणका लागि काठमाडौँस्थित नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।
प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा उक्त पदार्थमा कम शक्तिशाली विस्फोटक पदार्थ अर्थात् गन पाउडर वा ब्ल्याक पाउडर बनाउन प्रयोग हुने तत्त्व रहेको उल्लेख छ । परीक्षण प्रतिवेदनपछि प्रहरीले विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकाहरूमा मोरङको विराटनगर महानगरपालिकाका २७ वर्षीय प्रवीणकुमार साह तथा झापाका ४२ वर्षीय भूपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशी रहेका छन् ।
बरामद पदार्थ कहाँबाट ल्याइएको, कुन प्रयोजनका लागि लैजान खोजिएको र यसमा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको अनुसन्धान जारी रहेको उल्लेख गरिएको छ । परीक्षणबाट विस्फोटक पदार्थ बनाउन प्रयोग हुने तत्त्वको पहिचान भए पनि उक्त पदार्थको अन्तिम प्रयोग वा उद्देश्यबारे प्रहरीले निष्कर्ष सार्वजनिक गरेको छैन ।





