काठमाडौँ । चार दिने नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोली स्वदेश फर्किएको छ। बुधबार बिहान पौने नौ बजे हिमालय एयरलाइन्सको नियमित उडानमा चिनियाँ टोली स्वदेश फर्किएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो काठमाडौँ पुगेको थियो।
काठमाडौँ आएपछि चिनियाँ टोलीले राजनीतिक भेटघाट गरेको थियो। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको टोलीले प्रधानमन्त्रीलाई पनि भेटेको थियो।
काठमाडौँमा रहँदा चिनियाँ टोलीले नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि भेटघाट गरेको थियो।







