काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य रहेको बताएका छन्। अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्ने बताएका छन् ।
‘हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौँ । राष्ट्रिय समृद्धितर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्नेछन् भन्ने म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु,’ ओलीले भनेका छन् ।
आगामी दिनमा राष्ट्रिय आकांक्षा पूरा गर्न संविधानको प्रभावकारी कार्यान्वयन, सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने उनले उल्लेख गरेका छन् ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको बताउँदै ओलीले मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा अनेक व्यवधानहरूको सामना गर्नु परेको स्मरण पनि गरेका छन् ।
‘यसका बाबजूद मुलुक निर्माणको प्रथमिकताबाट विमुख ब्यक्तिहरूका निजी आकांक्षाहरूले सिर्जना गरेका अवरोधहरूलाई छिचोल्दै राष्ट्रको साझा आकांक्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेका छौँ’, ओलीले भनेका छन् ।
आगामी वर्ष राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने अभियान सार्थक बिन्दुको अझ नजिक पुग्ने बताउँदै उनले राष्ट्रियता पनि अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।
‘राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने हाम्रो अभियान सार्थक बिन्दुमा पुग्नेछ। आगामी वर्ष र दिनहरुमा हाम्रो राष्ट्रियता अझ मजबूत हुनेछ,’ प्रधानमन्त्रीले भनेका छन्।
सन् २०२० मा कोरोना महामारीले मुलुकले क्षति व्यहोर्नु परेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।







