सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम सम्मेलनले २११ प्रदेश कमिटी सदस्य चयन गरेको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार सम्पन्न भएको प्रदेश सम्मेलनले २११ सदस्य चयन गरेको हो ।
रुकुम पश्चिमबाट ३२, सल्यान र कालीकोटबाट २९र२९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्ला र हुम्लाबाट १८र१८, दैलेखबाट १७, डोल्पाबाट ११ र मुगुबाट १० जना प्रदेश सदस्यमा चयन भएका छन् ।
प्रदेश सदस्य चयन गरे पनि सम्मेलनबाट पदाधिकारी भने चयन भएका छैनन् । प्रदेश सदस्यहररूको पहिलो बैठकले पदाधिकारी टुंगो लगाउने गरी सम्मेलन सम्पन्न भएको बताइएको छ ।
शनिबारदेखि सुरु भएको प्रदेश अधिवेशन आइतबार बेलुका सक्ने कार्यसूची थियो । तर प्रदेश कमिटीमा जाने आकांक्षी धेरै भएपछि अधिवेशन मंगलबार राति सम्पन्न भएको हो ।
प्रदेश अध्यक्षका लागि पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, निवर्तमान अध्यक्ष राजकुमार शर्मा र विमला केसीलगायतको नाम चर्चामा थियो । अन्तमा केसी नै अध्यक्ष बन्ने सम्भावना बढेको बताइएको छ ।
प्रथम प्रदेश सम्मेलनले प्रदेश सदस्यहरूबाट नै अध्यक्ष चुन्ने मापदण्ड निर्माण गरेको छ । केन्द्रीय सदस्यहरूबीच अध्यक्षमा सहमति जुट्न नसकेपछि अब प्रदेश समिति सदस्यहरूबाट नै अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरिएको हो ।
सम्मेलनको बन्द सत्रमा अध्यक्ष मण्डलका अध्यक्ष रामदीप आचार्यले प्रदेश अध्यक्ष हुन प्रदेश सदस्यबाट छान्ने र केन्द्रीय सदस्य पदेन रहने व्यवस्था गरिएको बताए ।
निर्वाचित प्रदेश समितिको आकार २११ सदस्यीय हुने र १० प्रतिशत सदस्य मनोनित गर्ने व्यवस्था गरिएको छ । माओवादी केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसंख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको जनाएको छ ।