सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको आज (मंगलबार) बिहान निधन भएको छ ।
सुनसरीको दुहबी नगरपालिका–५ स्थायी घर भएका ५६ वर्षीय रौनियार केही महिनादेखि बिरामी भएको र उपचारका लागि भारतको कोलकाताको एक अस्पतालमा भर्ना भएका थिए ।
कोलकातामा उपचारका क्रममा रौनियारको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए ।
स्वर्गीय रौनियारले भारतको केरल युनिभर्सिटीबाट एमबिबिएस, अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) दिल्लीबाट रेडियो डाइग्नोसिसमा एमडी गरेका थिए ।
उनी सन् १९९३ देखि प्रतिष्ठानमा रेडियोलोजिस्टका रूपमा प्रवेश गरेका थिए ।
नेपाल रेडियोलोजिस्ट सङ्घका अध्यक्ष रौनियार सार्क रेडियोलोजिस्ट सङ्घका समेत अध्यक्ष थिए ।
लामो समयदेखि रेडियोलोजी विभागको विभागीय प्रमुख भएर काम गरिसकेका रौनियारलाई बिपी प्रतिष्ठानको उपकुलपति भएको केही वर्षपछि भ्रष्टाचार मुद्दामा मुछिए पनि गत महिना मात्र विशेष अदालतले सफाइ दिएको थियो ।
उनका श्रीमती र एक छोरा छन् । कोलकाताबाट मंगलबार नै दुहबीस्थित घर ल्याइसकेपछि बुधबार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।