काठमाडौँ । यु-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दै छ। बङ्गलादेशको ढाकामा जारी पहिलो खेलमा नेपालले भुटानसँग खेल्न लागेको हो। नेपाल र भुटानबिचको खेल दिउँसो सवा चार बजे सुरु हुनेछ।
नेपाल आज भुटानलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ। नेपाली टोली उपाधि जित्ने योजनासहित ढाका पुगेको छ।
भुटान पनि पहिलो जितको खोजीमा रहेको छ। मङ्गलवार भएको उद्घाटन खेलमा भुटानलाई बङ्गलादेशले ८–० गोल अन्तरले हराएको थियो। च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ।
यस्तै नेपालले दोस्रो खेलमा बङ्गलादेशसँग नोभेम्बर ५, भुटानसँग फेरि नोभेम्बर ९ र नोभेम्बर ११ मा पुनः बङ्गलादेशसँग खेल्नेछ। डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।