भद्रपुर । झापाका प्रमुख बजारको स्वरूप फेरिँदै गएको छ । व्यापारिक भवन, होटल तथा आवासीय संरचना थपिने क्रम बढेसँगै व्यापारिक गतिविधि र सहरीकरण पनि तीव्र बनेको छ तर बजारको बदलिँदो स्वरूपअनुसार विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वाधार विस्तार हुन सकेको छैन ।
विशेषगरी आगलागी नियन्त्रणका लागि चाहिने आधारभूत पूर्वाधारको अवस्था उस्तै छ । दमकलको व्यवस्था भए पनि तत्काल पानी भर्न सकिने खानेपानीको पाइपलाइनबाट दमकलमा पानी भर्ने प्रणाली(फायर हाइड्रेन्ट पोइन्ट)नहुँदा आगलागी नियन्त्रणमा समस्या हुने गरेको छ ।
बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटलनजिकै बुधबार बिहान राजेश मण्डलको दुईतले घरमा आगलागी हुँदा यसको एउटा उदाहरण देखियो । आगो नियन्त्रणका लागि जिल्लाका सातवटा दमकल परिचालन गरिए पनि पानीको व्यवस्था गर्न निकै सकस भयो । साढे पाँच घण्टापछि नियन्त्रणमा आएको उक्त आगलागीबाट करिब छ करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।
आगो निभाउन पुगेका दमकलले पानी भर्न नजिकै निश्चित स्रोत पाएनन् । केही दमकल पानी भर्न बुट्टाबारी पुगे भने केही बिर्ताबजारतिर जानुपर्यो । पानी भर्ने मोटरमा विद्युत् अवरुद्ध भएपछि समस्या झन् थपियो । बुट्टाबारीको चिया बगानभित्र रहेको खोल्साबाट पानी ल्याउन पनि समय लाग्ने अवस्था थियो । अन्ततः नजिकै रहेको सिद्धार्थ होटलको स्विमिङ पुल दमकलका लागि पानीको स्रोत बन्यो । होटल व्यवस्थापनले पानी प्रयोग गर्न अनुमति दिएपछि दमकलले त्यहीँबाट पानी तानेर आगो निभाउने कामलाई निरन्तरता दिए । होटलका व्यवस्थापक उत्तम खत्रीका अनुसार दमकलले पोखरीबाट पानी तान्दै आगो निभाए भने होटलले पनि पोखरीमा पानी थप्दै गयो ।
बिर्तामोड नगरपालिकाका दमकल इञ्चार्ज नवीन मेचेका अनुसार आगलागी नियन्त्रणमा प्रयोग भएको कुल पानीमध्ये करिब ५० प्रतिशत होटलको स्विमिङ पुलबाट आपूर्ति गरिएको थियो । नजिकै पानीको स्रोत उपलब्ध भएकाले दमकललाई पटकपटक पानी भर्न सहज भएको उनको भनाइ छ । “होटलको स्विमिङ पुल नजिकै भएकाले दमकललाई पटकपटक पानी भर्न सहज भयो । त्यहाँबाट पानी भर्न नपाएको भए आगो निभाउन धेरै समय लाग्थ्यो,” मेचेले भने । एउटा निजी होटलको स्विमिङ पुलले आगलागी नियन्त्रणमा महत्त्वपूर्ण सहयोग पुर्याएको यो घटनाले बजार क्षेत्रमा सार्वजनिक प्रयोजनका लागि पानीको स्रोत र त्यससम्म दमकलको सहज पहुँच कति आवश्यक छ भन्ने देखाएको छ ।
बढ्दो आगलागीका घटना
झापामा दिनहुँजसो सानाठूला आगलागीका घटना भइरहेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत भदौ र असोजमा जिल्लामा १९ वटा आगलागीका घटना दर्ता भएका थिए । ती घटनाबाट रु १० करोड ७८ लाख ९२ हजार ९७५ बराबरको क्षति भएको थियो । भदौमा सातवटा आगलागी हुँदा रु १२ लाख १० हजार बराबरको क्षति भएको थियो भने असोजमा १२ वटा घटनाबाट रु १० करोड ६६ लाख ८२ हजार ९७५ बराबरको क्षति भएको थियो । विशेषगरी असोजमा भएको ठूलो आगलागीका कारण क्षतिको रकम उल्लेख्य देखिएको छ ।
जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल बजारको विस्तारसँगै अग्नि नियन्त्रणका पूर्वाधार पनि विस्तार हुनुपर्ने बताउँछन् । उनका अनुसार बजार क्षेत्रमा अग्ला भवन, व्यावसायिक प्रतिष्ठान र बाक्लो बस्ती बढिरहेका छन् तर आगलागी नियन्त्रणका लागि आवश्यक पानीको पूर्वाधार भने त्यसअनुसार विस्तार हुन सकेको छैन । “आगो निभाउन दमकल पुग्नु मात्रै पर्याप्त हुँदैन, घटनास्थल नजिकै पर्याप्त पानी उपलब्ध हुनु पनि उत्तिकै आवश्यक हुन्छ,” ढकालले भने । उनले सार्वजनिक पोखरीलगायतका पानीका स्रोतलाई पनि आगलागी नियन्त्रणमा उपयोग गर्न सकिने गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
तीन प्रमुख सहरमा छैन ‘फायर हाइड्रेन्ट’
झापाका प्रमुख सहरी क्षेत्र बिर्तामोड, भद्रपुर र दमकमा दमकलले बजार क्षेत्रमै सहज रूपमा पानी भर्न सक्ने फायर हाइड्रेन्टको व्यवस्था छैन । यस्तो व्यवस्था नहुँदा दमकलले आवश्यकताअनुसार पानी भर्न समस्या हुँदै आएको छ । मोटर, नजिकका खोल्सा, नाला वा अन्य उपलब्ध पानीका स्रोतको भर पर्नुपर्ने अवस्था छ । भद्रपुर नगरपालिकामा दमकलले नगरपालिका परिसरमा जडान गरिएको चार इन्चको मोटरबाट पानी भर्ने गरेका छन् तर विद्युत् अवरुद्ध हुँदा मोटर सञ्चालनमा समस्या हुने गरेको छ ।
भद्रपुर नगर प्रहरी टोइला मर्डीका अनुसार नगरपालिका नजिकै आगलागी भए त्यहीँबाट पानी भरेर दमकल घटनास्थल पुग्ने गरेका छन् । टाढाको क्षेत्रमा आगलागी भए नाला र खोल्साको पानी खोज्नुपर्ने बाध्यता छ । “आगलागी भएको स्थान नगरपालिकाबाट नजिकै छ भने पालिका नै आउँछौँ, टाढा छ भने नाला र खोल्साको भर पर्नुपर्छ,” मर्डीले भने । उनका अनुसार भद्रपुरका भीडभाड हुने बजार तथा चोकमा दमकलले तत्काल पानी भर्न सक्ने निश्चित स्रोत छैन ।
दमक नगरपालिकाको अवस्था पनि उस्तै छ । बजार क्षेत्रमा फायर हाइड्रेन्ट छैन । दमक नगरपालिकाका दमकल चालक रोशन तामाङका अनुसार वडा नं. ३ र ४ मा पानी भर्ने स्थान भए पनि ती बजार क्षेत्रबाट टाढा छन् । नगरपालिकामा तीन इन्चको मोटरबाट पानी भर्ने व्यवस्था छ । विद्युत् अवरुद्ध हुँदा जेनेरेटरबाट मोटर सञ्चालन गर्ने गरिएको छ । “बजार क्षेत्रमा दमकलले पानी भर्न मिल्ने फायर हाइड्रेन्ट छैन । बुधबार बिर्तामोडमा पनि त्यस्तै समस्या भयो । होटलको पानी तानेर आगो निभाइयो,” तामाङले भने, “पानी भर्न टाढा जानुपरेको भए आगो नियन्त्रणमा लिन अझै समय लाग्ने थियो ।”
दमकलको पहुँच पनि चुनौती
झापाका सबै स्थानीय तहमा दमकल सेवा उपलब्ध छैन । जिल्लाका मुख्य सहरी क्षेत्र तथा केही स्थानीय तहसँग मात्र दमकल छन् । मेचीनगरमा दुईवटा, दमकमा सुरुमा तीनवटा भए पनि मर्मत तथा क्षतिका कारण आंशिक सञ्चालनमा छन् । बिर्तामोड, भद्रपुर, गौरादह, शिवसताक्षी र अर्जुनधारा नगरपालिकामा पनि दमकल सेवा छ । सात गाउँपालिकामध्ये कमल गाउँपालिकासँग मात्र दमकल रहेको विवरण छ ।
दमकल नभएका दक्षिणी क्षेत्रका झापा गाउँपालिका, कचनकवल र गौरीगञ्जमा आगलागी हुँदा बिर्तामोड, भद्रपुर वा दमकबाट दमकल बोलाउनुपर्ने अवस्था छ । दूरी टाढा हुँदा दमकल घटनास्थल पुग्न समय लाग्ने र त्यसबीच आगो फैलिँदै ठूलो क्षति हुनसक्ने जोखिम उत्तिकै छ । स्थानीय तहले दमकल खरिद गर्न मात्रै नभई त्यसको नियमित मर्मत, चालक र अग्नि नियन्त्रकको व्यवस्थापनमा समेत खर्च गर्नुपर्ने हुन्छ । चौबिसै घण्टा जनशक्ति परिचालन गर्नुपर्ने भएकाले साना स्थानीय तहका लागि यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ झापाका मुख्य सहरी क्षेत्रमा आगलागीका घटना नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । उनका अनुसार सहरी क्षेत्रमा भवन निर्माणसम्बन्धी नीतिलाई पनि समयअनुसार परिमार्जन गर्नुपर्ने आवश्यकता छ । नगरपालिकाको पुरानो दमकल बिग्रिएको र मर्मतमा धेरै खर्च लाग्ने भएपछि नयाँ दमकल खरिद प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । आगामी दुई महिनाभित्र नयाँ दमकल आउने अपेक्षा गरिएको उनको भनाइ छ । “दमकलका लागि हाइड्रेन्ट निर्माण गर्न खानेपानी संस्थासँग समन्वय गरेर निश्चित स्थानमा व्यवस्था गर्ने तयारी गरेका छौँ,” गोम्देनले भने ।
बिर्तामोडमा दमकलका लागि पानीको सहज व्यवस्था गर्न साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले फायर हाइड्रेन्ट जडानको तयारी गरेको छ । संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाका अनुसार बिर्तामोड चोक, चारपाने र बुट्टाबारीलगायतका क्षेत्रमा दमकललाई पायक पर्ने स्थानमा पानी भर्ने व्यवस्था मिलाउने योजना छ । “यसअघि पनि केही ठाउँमा फायर हाइड्रेन्ट राखिएको थियो । सडक निर्माणका क्रममा समस्या भयो,” बाँस्तोलाले भने, “अब फेरि विभिन्न स्थानमा राख्ने गरी तयारी गरिरहेका छौँ ।”
यसअघि जडान गरिएका हाइड्रेन्ट पूर्व-पश्चिम एसियन राजमार्ग निर्माणका क्रममा प्रभावित भएको भए पनि अहिले पुनः व्यवस्थापनको तयारी गरिएको संस्थाले जनाएको छ तर यसको जडान कहिलेसम्म सम्पन्न हुन्छ र कति स्थानमा सेवा उपलब्ध हुन्छ भन्ने विषयमा संस्थाले स्पष्ट समयसीमा सार्वजनिक गर्न सकेको छैन । जिल्लाका प्रमुख बजार क्षेत्रमा दमकलका लागि पानीको स्रोत र पूर्वाधार व्यवस्थापन गर्न स्थानीय तहसँग समन्वय गरिने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । “आगलागी नियन्त्रणमा पानीको सहज उपलब्धता महत्त्वपूर्ण हुन्छ । त्यसका लागि स्थानीय तहसँग समन्वय गरेर आवश्यक पहल गर्छौं,” उनले भने ।
बजार विस्तारसँगै व्यापारिक तथा आवासीय संरचना थपिँदै जाँदा त्यससँग जोडिएका जोखिम न्यूनीकरणमा पनि उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ । आगलागी भएपछि दमकल परिचालन गर्नु मात्र विपद् व्यवस्थापन होइन, आगो नियन्त्रणका लागि आवश्यक पानीको स्रोत, पूर्वाधार र जनशक्तिको पूर्वतयारी पनि यसको महत्त्वपूर्ण पाटो हो । सार्वजनिक पोखरी, पानी ट्याङ्की तथा फायर हाइड्रेन्टको व्यवस्था गर्न सके आगलागीका बेला पानी खोज्दै समय बिताउनुपर्ने अवस्था कम गर्न सकिन्छ ।
‘सुन्दर शान्त नेपाल’का अभियानकर्मी मनिष दाहाल सहरी विकासलाई भौतिक संरचना निर्माणमा मात्र सीमित गर्न नहुने बताउँछन् । उनका अनुसार बजार विस्तारसँगै नागरिकको सुरक्षा र सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका उपायलाई पनि विकास योजनामा समेट्नुपर्छ । आगलागी नियन्त्रणका लागि आवश्यक पानीको स्रोत र पूर्वाधारको व्यवस्था निर्माणपछि सोच्ने विषय नभई सुरुदेखि नै योजनामा राख्नुपर्ने उनको भनाइ छ ।
“सहरको विकाससँगै त्यहाँका नागरिकको सुरक्षा पनि सुनिश्चित हुनुपर्छ । आगलागी भएपछि मात्रै पानीको स्रोत खोज्नुभन्दा बजारका विभिन्न स्थानमा सार्वजनिक पोखरी, पानी ट्याङ्की र फायर हाइड्रेन्टको व्यवस्था पहिले नै गर्नुपर्छ । विपद् आइसकेपछि गरिने तयारीभन्दा विपद् आउनुअघि गरिने पूर्वतयारीले नै ठूलो क्षति हुनबाट जोगाउन सक्छ,” दाहालले भने । बिर्तामोडको आगलागीमा होटलको स्वीमिङ पुलले तत्कालीन समस्या समाधान गर्न सहयोग गर्यो । तर हरेक आगलागीमा कुनै निजी संरचनाको पानीको भर पर्नुपर्ने अवस्था अन्त्य गर्न बजारको विकाससँगै अग्नि नियन्त्रणका पूर्वाधार विस्तार गर्नु आवश्यक छ ।





