काठमाडौँ । विश्वविद्यालयका पाठ्यक्रमसहित भौतिक संरचनामा दलित सवाल समेट्नुपर्नेमा अधिकारकर्मीले जोड दिएका छन् । जागरण मिडिया सेन्टरले आइतबार काठमाडौँमा आयोजना गरेको विश्व विद्यालयका पत्रकारिता शिक्षामा समावेशी विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले दलित तथा सीमान्तकृत समुदायका सवालहरू शैक्षिक पाठ्यक्रमसहित मिडियाले समावेशी बनाउनुपर्ने बताए ।
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभागका प्रमुख चिरञ्जीवी खनालले पाठ्यक्रम समावेशी बनाउने विषयमा संवेदनशील रहेको बताए। टियूले पनि समावेशी अभ्यास सुरु गर्ने प्रक्रियामा रहेको र जसमा संरचनागत समावेशी र पाठ्यक्रम दुवै समावेशी बनाउन थालिएको उनले बताए ।
सहायक प्राध्यापक डा. कुन्दन अर्यालले पत्रकारिता विषयमा अन्तर्राष्ट्रियता ’इन्टर कल्चर जर्नालीजम’ पढाउने गरिएको बताए । उनले भने, ’नेपाली पत्रकारिताले पनि केही भाग अध्ययनको विषय बनाएको छ । यद्यपि त्यो नै पूर्ण भने होइन ।’ विवेकशील साझा पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले पत्रकारिता क्षेत्र मात्र होइन, मिडिया र लेख रचना सबै अभिलेख राख्ने थलोमा दलित समुदायले दिएका योगदानको अभिलेखीकरण हुनुपर्ने बताए ।
अधिकारकर्मी टिआर विश्वकर्मालगायतका नाम उल्लेख गर्दै उनले दलित समुदायको व्यक्तित्व पनि पाठ्यक्रममा हुन जरुरी रहेको बताए । अनुसन्धानकर्ता जेबी विश्वकर्माले भने,’नेपाली पत्रकारिताको इतिहास हेर्दा दलित समुदायको कटवाल संस्कृति पुरानो मानिन्छ । जसले आमसञ्चार माध्यममा ठुलो महत्त्व राखेको छ । यस्ता संस्कृति र सभ्यताको पाठ्यक्रममा समावेश हुन सकेको छैन ।’
कान्तिपुर सिटीका प्रमुख राजीव तिमिल्सेनाले पाठ्यक्रमका विषयवस्तुमा मात्र होइन, शेधकार्य समेत समावेशी विषयबस्तुहरुलाई प्राथमिकता पारिएको बताए । उनले विद्यार्थीहरूलाई समावेशीका सवालमा व्यवहारिक शिक्षा हासिल गर्न शोध कार्यमा नै समावेशी विषयबस्तुहरुलाई छनौटलाई प्राथमिकतामा पारेको बताए ।
पशुपति बहुमुखी क्याम्पसका प्रमुख नवराज चालिसेले समावेशी शिक्षाले नै मिडियामा समावेशी विषयवस्तुले प्राथमिकता पाउने बताए । उनले त्यसका लागि समावेशी संरचनाको विकास गर्न खाँचो रहेको औँल्याए ।
जागरण मिडिया सेन्टरका महासचिव भीम घिमिरेले मिडियामा समेत भौतिक र विषयगत समावेशी अनिवार्य रहेको बताए । सेन्टरका कार्यकारी निर्देशक भीम बहादुर विश्वकर्माले शैक्षिक संस्थाका संरचना र पाठ्यक्रमहरू समावेशी भएमा मिडियामा समेत त्यसको प्रभाव पर्ने बताए । सेन्टरका कार्यक्रम संयोजक वीर बहादुर नेपालीले नेपाली मिडियाका विषयवस्तु समावेशी बनाउन पहिला आम सञ्चारका पाठ्यक्रम नै समावेशी हुनुपर्ने बताए ।







