काठमाडौँ । सरकारले नै पूर्णता पाउन नसकिरहँदा यता कर्मचारी सरुवाले भने निरन्तरता पाइरहेको छ । हरेक सरकारको पहिलो प्राथमिकता नै कर्मचारी सरुवा पर्दै आएको विगतदेखिकै निरन्तरता हालसम्म आइपुग्दा पनि परम्परा तोड्ने हिम्मत कसैले गर्न सकेका छैनन् ।
खासगरी ठुला र मालदार भनिएका अड्डाहरूको हाकिम बन्न ठुलै शक्तिकेन्द्रहरूको आशीर्वाद चाहिने पनि घाम जतिकै छर्लङ्ग छ । केही समय अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतका केही विभाग र अर्थ मन्त्रालयका सहसचिवहरूको दुई महिनामै अदली बदलीले पनि त्यसलाई थप पुष्टि गर्दछ ।
११ गते पछि राजनीति समीकरण नै के हुने भन्ने अलमलकै बिच अर्थ अन्तर्गतका दुई ठुला निकाय भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशक फेरिने चर्चा सिंहदरवारमा छ । प्रशासन विशेष सूत्रलाई प्राप्त जानकारी अनुसार अहिलेकै सरकारले निरन्तरता पाएको अवस्थामा भन्सार विभागको महानिर्देशकमा सहसचिव शोभाकान्त पौडेल जान लागि परेका छन् भने आन्तरिक राजश्व विभागमा भुपाल बरालले चाहिरहेका छन् ।
भन्सार विभागको हकमा केही दिनमै निर्णय हुन सक्ने भए पनि राजश्व विभागमा भने जेठ १५ पछि मात्रै परिवर्तन हुनेछन् किनभने बराल बजेट लेखन टिमको संयोजक रहिसकेकोले बजेट बनाएर मात्र त्यता लाग्ने अर्थ उच्च स्रोत बताउँछ ।
अहिले आन्तरिक राजश्व विभागमा दीर्घराज मैनाली छन् भने भन्सारमा चक्र बहादुर बुढा ।
उच्च राजनीतिसँगै ठुला व्यापारिक घरानाहरुकोसमेत विशेष इन्ट्रेस्ट रहने यी दुई विभागमा जान अनेकथरी समूहले गर्ने लबिङ अझ बढी रोचक र हेर्न लायक रहने गरेको छ ।







