काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख भएको बताएका छन् ।
सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् । महासचिव पोखरेलले क्रान्ति र समाज परिवर्तनको नियम अनुसार राजनीतिक अघि बढ्न नसक्दा नै समाजमा अस्थिरता, द्वन्द्व र निराशा उत्पन्न भएको र समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख रहेको आरोप समेत लगाएका छन् । उनले लेखेका छन्,‘क्रान्ति र समाज परिवर्तनको यो नियम अनुसार राजनीतिक अघि बढ्न नसक्दा नै समाजमा अस्थिरता, द्वन्द्व र निराशा उत्पन्न हुने गर्दछ ।’
उनले आमरुपमा राज्य, सङ्गठित शक्तिहरू र अख्तियारप्राप्त व्यक्तिहरू प्रतिको अविश्वास,निराशा र घृणा त्यसकै उपज रहेको पनि बताएका छन् ।
यस्तो छ पोखरेलले लेखेको स्ट्याटस :
समस्या केन्द्रित सामाजिक बहस र समाधान केन्द्रित राजनीतिक पहलको खाँचो :
समाज परिवर्तन उत्पादक सम्बन्ध र उत्पादक शक्तिसँग जोडिएको विषय हो । राजनीतिक परिवर्तनले स्थापित गरेको नयाँ उत्पादन सम्बन्धलाई सुदृढ गर्न सकिएन भने प्रतिक्रान्तिको जोखिम सदैव रहन्छ । उत्पादक शक्तिको तीव्र विकास भएन भने नयाँ उत्पादन सम्बन्धको निर्माण गर्न सकिँदैन । क्रान्ति र समाज परिवर्तनको यो नियम अनुसार राजनीतिक अघि बढ्न नसक्दा नै समाजमा अस्थिरता, द्वन्द्व र निराशा उत्पन्न हुने गर्दछ ।
आज हाम्रो समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख छ । आमरुपमा राज्य, सङ्गठित शक्तिहरू र अख्तियारप्राप्त व्यक्तिहरू प्रतिको अविश्वास,निराशा र घृणा त्यसकै उपज हो । सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्यहीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रूपमा प्रस्तुत हुने र समाजले त्यसलाई आशाको नजरले हेर्ने अवस्था आजको राजनीतिक नयाँ परिदृश्य हो । पपुलिष्टहरुबाट समाजको रूपान्तरण र आर्थिक तथा राजनीतिक सङ्कटको समाधान हुन सक्तैन । उनीहरूबाट हुने भनेको अन्ततः यथास्थितिवादको पोषण नै हो । दुनियाँका पपुलिष्ट आन्दोलनहरूको अवसान त्यसरी नै हुने गरेको छ ।
आजको हाम्रो समाजका प्रमुख तीन समस्याका रूपमा राजनीतिक अस्थिरता र अराजकता, सांस्कृतिक मूल्यको विघटन र वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर त्यसबाट लाभ लिने स्वार्थीतत्वहरुको राज्यसत्तामा पहुँच र प्रभुत्व कायम हुनुले उत्पन्न चरम आर्थिक सङ्कट नै हो । सोही कारणले आज मुलुकमा मौद्रिक तरलतामा सङ्कट उत्पन्न भएको छ । वैध व्यापार व्यवसायमा गिरावट आएको छ । राजश्वमा गिरावट आएको छ । आर्थिक रूपमा मुलुक मन्दीको अवस्थातर्फ उन्मुख छ । यस्तो अवस्थामा राज्यको ध्यान जुनरुपमा सङ्कट समाधानमा केन्द्रित हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन ।
आर्थिक समाजिक व्यवस्थामा सङ्कट उत्पन्न भएका बेलामा राजनीति त्यसबाट अछुतो हुन सक्तैन । राजनीतिलाई सही दिशा र गन्तव्यतर्फ डोर्याउने हो भने मुलुकका सामु उत्पन्न प्रमुख समस्याको निदानमा ध्यान केन्द्रित गर्नु पर्दछ । अहिलेको जस्तो सत्ताकेन्द्रीत राजनीतिबाट न त्यसको समाधान सम्भव छ, नत आवेग, उत्तेजना र आक्रोशबाट नै । गम्भीर भएर समस्या समाधानमा केन्द्रित हुनुपर्ने बेलामा हाम्रो समाजमा पुराना र नयाँको भाष्य खडा गरेर समस्या केन्द्रित छलफल र बहसबाट भाग्ने कोसिस भइरहेको छ ।
ठिक यही बेलामा राजनीतिक अस्थिरता र आर्थिक(सामाजिक सङ्कटको बीचबाट आफ्नो स्वार्थको रोटी सेक्न वाह्यशक्तिहरु निकै सल्बलाइरहेका छन् । उनीहरू नेपाललाई आफ्नो सामरिक रणनीतिका लागि उपयोग गर्ने उद्देश्यमा केन्द्रित देखिँदै छन् । यस्तो अवस्थामा नेपाली समाजको अन्तर्द्वन्द्वका कारणले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा नपरोस् भन्ने कुरामा हामी सबै विना कुनै पूर्वाग्रह जिम्मेवार र गम्भीर हुनु आवश्यक छ ।
त्यसैले आजको सङ्कटको समाधानका लागि समाजका सबै पक्ष जिम्मेवार भएर समस्या केन्द्रित सामाजिक बहस र समाधान केन्द्रित राजनीतिक अभियानमा जुट्नुपर्ने भएको छ ।







