काठमाडौँ । नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको मंगलबार बिहान ७५ वर्षको उमेरमा निधन भएको छ।
उनको मंगलबार बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको हो । रेग्मी क्यान्सर रोगबाट लामो समयदेखि पीडित थिए ।
जिब्रोको क्यान्सर उपचार गराइरहेका उनी एक साताअघि घर फर्केका थिए। भरतपुर र काठमाडौंमा उपचारपछि चिकित्सकको सल्लाह र उनको ईच्छाबमोजिम घर फर्केका हुन्।
राष्ट्रिय सभाका पूर्वसदस्यसमेत रहेका रेग्मीको परिवारमा श्रीमती मात्रै छन् । उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिने बताइएको छ ।
लामो समय शिक्षण पेसामा रहेका उनलाई २०५८ माघ २७ गते माओवादीले गोली हानी घाइते बनाएका थिए । उनको ‘मेरो जीवनयात्रा यातना पीडाको कथा’ आत्मकथा प्रकाशित छ ।