काठमाडौँ । धनकुटाको पाख्रिबास नगरपालिकामा कौडा खेलेको आरोपमा १५ जना पक्राउ परेका छन्।
पाख्रिबास नगरपालिका-४ स्थित गणेश गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
प्रहरीका अनुसार उक्त घरमा जुवा खेल भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले १५ जनालाई नियन्त्रणमा लिनुका साथै घटनास्थलबाट १६ वटा कौडा र १६ हजार ५०० रुपैयाँ नगद बरामद गरेको हो।
त्यस्तै, पक्राउ परेका व्यक्तिहरूको साथबाट थप दुई लाख ९६ हजार ८०० रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार घटनास्थल र पक्राउ परेकाहरूको साथबाट गरी कुल तीन लाख १३ हजार ३०० रुपैयाँ नगद बरामद भएको छ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





