काठमाडौँ । प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेर बैठक सारेका हुन् । केहीबेर अघि सभामुख घिमिरेले प्रधानमन्त्री ‘प्रचण्ड’सँग टेलिफोनमा कुराकानी गरेका थिए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले काँग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भनेका थिए । त्यसपछि सभामुखले बैठक चार बजेका लागि तोकेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’का अनुसार आजको बैठकमा नै गृहमन्त्री रवि लामिछानेलाई बोल्ने गरी वातावरण निर्माणको प्रयास भइरहेको छ । त्यसका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ले बुधबार पनि काँग्रेस नेताहरुसँग छलफल गरेका थिए ।