जनकपुर । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा मिति २०८२ जेठ २९ गते न्याय सम्पादन गरिरहेका माननीय न्यायाधीशद्वय डा. खुशीप्रसाद थारू र अर्जुन महर्जनमाथि भएको अमानवीय दुर्व्यवहारको घटनाप्रति नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियनले आपत्ति जनाएका छन्।
संयुक्त प्रेस विज्ञप्तिमा उक्त घटनालाई घोर भर्त्सनायोग्य र आपत्तिजनक भन्दै दोषीहरूलाई कानुनको दायरामा ल्याई कडा कारबाही गर्न माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “न्यायाधीशको फैसला चित्त नबुझे माथिल्लो तहमा पुनरावेदन गर्ने संवैधानिक र कानुनी व्यवस्था हुँदाहुँदै गैर कानुनी चरित्र र कालोमोसो जस्ता अमर्यादित व्यवहार प्रदर्शन गर्नु दुर्भाग्यपूर्ण र अशोभनीय हो।”
नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष श्रीप्रसाद पौडेल र नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष जादा सिंह कठायतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भयरहित वातावरणमा न्याय सम्पादन गर्न पाउने अवस्था सुनिश्चित गर्न सरोकारवाला सबैसँग हार्दिक अपिल गरिएको छ।








