घर घर जस्तो होस, यसमा जति पवित्र सम्बन्ध कहीँ कतै पाइँदैन।धनीको घर, गरिबको घर, कलाकारको घर, नेताको घर, कर्मचारीको घर, फुसको घर, ऐलानी जग्गाको घर, स्वामित्व प्राप्ति सहितको घर, हाउजिङका फ्ल्याट, व्यवसायीको घर सबैसँग मानिसको लगाव असाध्यै रहेको हुन्छ । घाम पानीबाट सुरक्षा दिने, पारिवारिक मिलन गराउने, दुःख बिसाउने आराम स्थल घर हो।यसलाई व्यक्तिगत उपलब्धिको गर्व नाप्ने मापक, जीवनको लक्ष्य खातिर मोड्ने प्रेरक र छिमेकीसँगको सम्बन्ध जोडने सूत्र स्थलका रूपमा लिन सकिन्छ ।
बालककालमा भाडाको कोठा होस् वा दरवार होस्, गाउँको झुपडी होस् वा देहाती फुसको छाना होस् ।सबै उसको लागि कुनै महत्वका रहँदैनन्।बा, आमा, जी बा, जी आमा सबै माया गर्नेहरूका काख घर समान हुन्छन्। आफ्नो स्वार्थ नभएका ती उमेरहरूमा घर एउटा अमूर्त संरचना मात्र हो, जहाँ सम्बन्धहरू नै पर्याप्त रहने गर्दछन्।यहाँबाट नै मानिसका हुर्काइ, बढाई, खेलाई, बुनाई, बुझाई आदि सिकिएका हुन्छन्।र, त बालककालमा साथीहरूसँग भाडाकुटी खेल्नु, विवाहका डोलीमा दुलाहा दुलही सजिनु, खाना खाएपछि पानी भनेर माटोले चुठ्नु, बालुवाको पुल बनाउनु जस्ता झण्डै वास्तविक जीवनका अभ्यासहरू गरिएका हुन्थे।बाल सुलभ कच्चा माटोमा सत्यं, शिवम्, सुन्दरम् भावहरू स्वार्थरहित उद्घाटित भएका हुन्छन्, भाडाकुडीका घरको वातावरणमा ।
विवाह पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नका लागि कायम भएको स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र, सामाजिक तथा कानुनी बन्धन हो ।पारम्परिक सामाजिक संरचना हो।एकल परिवारको संरचनामा वृद्धि भएपश्चात् उहिलेभन्दा आजकल यसैलाई घरको पर्यायवाची मान्नेहरूको संख्या बढेको छ।कर्मको आधार, सुखको आधार, प्रकृतिको सुन्दर संरचना, जीवन प्रगतिका लागि केही छटपटी, हुटहुटी रहने यस पद्धतिमा घर निर्माणका कैयौँ पूर्वाधारहरू निर्माण हुन्छन्।त्यस कारण पति र पत्नीको संयूज्यतालाई घर भन्ने गरिएको होला ।
पहाडी जीवनका घुमाउने घरहरू, गोठ घरहरू, टिन पाताले छाइएका घरहरू, खर वा फुसका घरहरू, ढुङ्गा र माटोका खपटाले छाइएका घरहरू प्रायः जसो पाखा र पखेराहरूमा निर्माण भएका छन् । स्थानीय सामग्रीहरूद्वारा निर्मित यी संरचनाहरू घाम मुखे पाइन्छन्।ती पूर्व, पश्चिम, दक्षिण अर्थात् चारैदिशातिर उन्मुख छन्।खुला आकाश, स्वच्छ हावा, उदाउँदा सूर्यका किरणहरू, हरियो जङ्गल, कलकल बगेका झरना र खोल्सीहरू, मीठो पानीको सामिप्यता पहाडी घरहरू सार्थक बनाउने साधनहरू हुन्।यसैले ती घरहरू सम्मोहक बस्तीहरूको समुच्चय र सुन्दरतम संरचना हो।हाल भने पानीको सुविधा, विद्युतको सुविधा, विद्यालयको सुविधा, बाटोघाटोको सुविधा बढ्दै गएका छन्।अर्थात् आधुनिक सुविधा बढ्दै गएको पक्कै छ।तर दुःखको कुरो स्वास्थ्य सुविधाको अभाव, मानव बस्ती पातलिएको कारण खेतीपातीमा जङ्गली जीवजन्तुको आक्रमण, प्रकृति र मानव द्वन्द्वमा वृद्धिले फेरी पनि पहाडी जीवनका घरहरू बन झर बन्दै छन् ।
त्यसैगरि तराईका घरहरू पनि स्थानीय निर्माण सामग्रीहरूद्वारा निर्माण भएका हुन्छन्।फुसको छाना, काँचो इँटाको बुनौट भएका घरहरू प्रशस्तै छन्। घर वरिपरिका आँपका बोटहरू, भूइँकटहरका बोटहरू, लिची जस्ता मीठा स्वादिला फलफूलहरू, तोरी बारी, धान झुल्ने फाँटहरू, मानिसका लागि आवतजावतका साधनहरूले सुसज्जित छन, तराईका बस्तीहरू।बहुधा ती घरहरू दक्षिणको हावाहुरी सहन गर्ने तरिकाले बनेका हुन्छन्। अन्नपूर्णतर्फ फर्केका उच्च हिमाली शृङ्खला हेरिरहेजस्तो लाग्छ, तिनीहरूले।यद्यपि, मानव विकासमा पछाडि परेका सामाजिक संरचना, शोषण दमनका प्रथाहरूले तराईमा पनि मानव बस्तीहरूको विकल्प खोजिदैंछ।जङ्गली जनावरको आक्रमण उस्तै कहालीलाग्दो छ।र, आजकल पक्की घरका संरचनाहरूमा वृद्धि भएको छ।ती घरहरूमा गर्मी सहन गर्ने क्षमता भने कमजोर छ।
जब हामी मायावी शहर काठमाण्डौं शहरमा प्रवेश गर्छौ।व्यक्तिका इच्छा आकाङ्क्षाहरूमा असीमित बदलाव देखिँदै जान्छन्।आलिसान भवन, दरवार, धरहरासँगै हाउजिङ जस्तै सपनाहरू आकासिन थाल्छन्।गौँथलीका गुँडहरू, खोका आकारका धन्सार, कलात्मक घुमाउने घरहरू महत्त्वहीन लाग्न थाल्छन्।आनामा ठडिएका, दायाँबायाँ टाँसिएका र कुचुक्क परेका किन नहुन् ती घरहरूमा मानिसको रुची कहिल्यै घटेको छैन।बढेको बढ्यै छ।उज्यालो अभाव र घरको दायाँबायाँ बन्द बनाइएका ती संरचनाहरू स्वच्छन्दता विरोधी छन्।बाहिरी डिजाइनमा उति खुल्न नसकेको, भित्री डिजाइनमा लागि पर्याप्त स्थान भाव भएको पीडा हुन्छ, मानिसहरूमा।यसका लागि चार पाँच तले घर बन्दै जान्छन् । आवश्यकता भन्दा महत्त्वाकाङ्क्षाले समान्तर प्रतिस्पर्धा भइरहेको हुन्छ।तर पनि दुर्भाग्य भनौँ यो कङ्क्रिट जङ्गल प्रतिको मोहनी कसैलाई छुटेको देखिएन।
त्यस्तो साधुरो संरचनाले बिस्तारै मानिसलाई रोपनीमा बनेको घर आवश्यकता हुँदै जान्छ।यस्ता नवनिर्मित घरहरूबाट रानी बन सजिलै देख्न सकियोस्, शिवपुरी जङ्गलको दृश्यावलोकन गर्न पाइयोस्, फुलचोकी र नगरकोटका दृश्य पान गर्न सकियोस्, हुन्छ।जसका लागि कौसीको बनौट त्यस्तै प्रकारको हुनुपर्छ।बनाइन्छ पनि।यसका लागि वैध भन्दा पनि अवैध बाटोहरूको खोजी हुँदै जान्छ।यस्ता कार्यहरूले घर न्यूनतम आवश्यकता भित्र रहन सक्दैन, यो त विलासिताको प्रकारमा रूपान्तरण हुँदै जान्छ।आचरण र नैतिकताको विरुद्ध त्यसता घरहरू बनेको थाहा पाउन मर्नु पर्दैन ।
पढ्छ, जागिर खान्छ, व्यापार व्यवसाय गर्छ।पश्चात् उसको लक्ष्य घर एक उद्देश्य रहन्छ।पहिले जग्गा भए पुग्छ, योजनाबद्ध शहरी विकास र निकास दुवै हेरिँदैन। संयोगले त्यस्तो स्थान अन्यत्रभन्दा महँगो पनि हुन्छ।केन्द्रको महत्त्व भएकोले मानिसहरू गाउँ देहात फर्कन सक्दैनन्।जब हैसियत बढ्छ, मोटरसाइकल जाने भन्दा पनि गाडी जाने ठाउँ चाहिन्छ।यसमा दमकल जाने आउने ठाउँसम्म चाहिँदै जान्छ।सुरक्षित, एकलकाँटे र सुन्दर हाउजिङ खोजी हुँदै जान्छ ।
हो, घर एउटा सपना हो, जो बनेपछि मान्छे उपलब्धिले आह्लादित हुन्छ।सम्पूर्ण जीवनको प्राप्तिको तीन चौथाइ भन्दा बढी ऊर्जा यसैमा खर्च हुन्छ।सपत्नि, सन्तान र पारिवारिक जीवनको सुरक्षा कवच घर व्यक्तिको लागि सबैभन्दा ठूलो आकाङ्क्षा पनि हो।छिमेकी बन्नु, बनाउनु, रमाउनुमा घरको औचित्य रहन्छ।मेल नखानेहरूका लागि यस्ता सम्बन्धहरू खासै सम्झन योग्य रहँदैनन्।लेनदेनको रमाइलो सम्बन्ध हुन्छ, त्यहाँ।त्यसैका लागि दौडिरहन्छ, मानिस।अतृप्त सपना भएकाहरू थप सपना बुन्छन् र घर निर्माणको इच्छा सूचि बढ्दै जान्छ ।
वैदेशिक रोजगारीमा गएकाहरू त्यहाँको वैयक्तिक घर र सो प्रयोजनको लागि बनाएका घरहरूको बारेमा जस्तो मानसिक तयारी गर्दछन्।त्यस्तो तयारी नेपालमा फर्केपछि काम नलाग्ने हुन्छ। बेलायतका घरका छानाहरू नमस्कार मुद्राका हिउँ फाल्ने प्रकारका छन्।त्यहाँका व्यक्तिगत घरहरू साढे दुई तल्लाभन्दा बढी पाइन्नन्।सरकारी नियन्त्रण बलियो छ।जापानमा समेत भूकम्प प्रतिरोधी संरचनाका कारण यस्तै सामान्य घरहरू जनरूचिका छन्।एकनासका त्यस्ता बस्तीहरू आफैँले समानताको वकालत गर्दछन्।एकल परिवारका लागि त्यो आकार, परिमाण र डिजाइन पर्याप्त हुन सक्छन्।कहीँ भूईतल्ला भएका घरहरूलाई पर्याप्त सुविधामा केन्द्रित गरी घरलाई धेरै महत्त्व दिइँदैन।कहीँ मान, सम्मान मापकको आधार मानेर यसैलाई सिँगार्नुमा जीवनको सबै ऊर्जा समाप्त हुन्छ।मान्यता आ–आफ्नै।
हिन्दु सामाजिक जीवनमा इह लोकसँगै परलोक हुँदा बस्ने घरको परिकल्पना गरिन्छ।यो नितान्त कल्पना भए पनि अस्वीकार गर्ने हिम्मत कसैमा देखिएको छैन।बैकुण्ठधाममा राम्रो स्थान बनाउन, दुःख नपाउन र शान्तिसँग स्वर्ग भोग गर्नका लागि यस लोकमा परोपकारका कामहरू गर्ने प्रचलन पनि रहिआएको छ।अर्थात् स्वर्गको घर निर्माणको काम पनि यही मर्त्य लोकको जीवनबाट शुरू भएको हुन्छ।
अंश र वंशको मान्यता भएकाहरूलाई घर एक निर्जीव शान हो।पश्चिमा एकल परिवार र घुम्ती घर भएका व्यक्तिहरूलाई घर हुनुभन्दा नहुनु राम्रो हो।हाम्रा राउटेलाई पनि बालमतलव छैन घरको।सायद उनीहरू घरलाई बन्धनका रूपमा परिभाषित गर्दछन्।घरको महिमा छैन पनि।जोगी, घुमन्ते, फिरन्ते, सन्न्यासी जीवन भएका, कुनै जिम्मेवारी नभएकाहरूलाई घरको महत्त्व दुई कौडी बराबर पनि छैन।तर के गर्नु धेरैभन्दा धेरै साधारण व्यक्तिका लागि भने घर जीवनको लक्ष्य हो।राजनीतिक दलका मुखियाहरूले दलको घर परिवर्तन गर्दा धोका खाएका देखिए।यस प्रकार, इच्छा सूचिका घरहरूको संघर्षले मानिसलाई चिन्ता र चितामा पुर्याउन सक्छन्।तपाईँले कस्तो घर बनाउनुभयो‚ कुन्नि ?







