काठमाडौँ । टी-२० विश्वकप अन्तरगत वेस्ट इन्डिजविरुद्धको म्याचमा मध्यक्रमका ब्याटर दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अर्धसतक बनाएका छन् ।
जारी प्रतियोगितामा अर्धसतक प्रहार गर्ने उनी पहिलो नेपाली ब्याटर हुन् । दीपेन्द्र ४७ बलमा ५८ रन बनाएर आउट भए । उनले आउट हुनुअघि ३ चौका र ३ छक्का प्रहार गरेका थिए । दीपेन्द्रको संयमित ब्याटिङले नेपाललाई गम्भीर संकटको अवस्थाबाट केही हदसम्म उद्धार गरेको छ ।
आठौँ नम्बरमा आएको सोमपाल कामीले केमियो इनिङ खेल्दै नेपाललाई उकास्न मद्दत गरे ।
नेपालले १४.६ ओभरमा ७३ रन मात्र जोड्दा ६ विकेट गुमाएको थियो । सय रन पनि कटाउने नसक्ने जस्तो अवस्थाबाट ऐरी र कामीले नेपाललाई उद्धार गरे । सातौँ विकेटका लागि उनीहरूको साझेदारीले नेपाली समर्थकमा नयाँ रक्तसञ्चार गर्यो । यद्यपि, अन्तिम ओभरको तेस्रो बलमा ठुलो सटक हान्ने प्रयासमा दीपेन्द्र आउट भएका छन् । सोमपालले १५ बलमा अविजित २६ रन बनाए । अहिले वेस्ट इन्डिजले जवाफी ब्याटिङ गरिरहेको छ ।







