काठमाडौँ । सार्वजनिक सम्पत्तिको हिनामिना तथा अनियमितता भएको आरोपमा झापाको दमकस्थित एक विद्यालयका तत्कालीन पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले दमक नगरपालिका-२ स्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दया सागर आचार्यलाई प्रतिवादी बनाउँदै आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा विद्यालयमा नमुना भवन निर्माण कार्यका नाममा वास्तविक मुल्यांकनभन्दा बढी काम देखाएर झुटा कागजात तयार गरी अनियमित रूपमा भुक्तानी लिएको पाइएको आयोगले जनाएको छ ।
त्यस्तै, विद्यालयको नगद स्रोतलाई व्यक्तिगत प्रयोजनमा प्रयोग गरी हिनामिना तथा दुरुपयोग गरिएको निष्कर्ष पनि आयोगले निकालेको छ ।
आयोगका अनुसार सार्वजनिक सम्पत्ति सम्बन्धी कसुरमा संलग्न भएको ठहर गर्दै उनीहरूमाथि कानुनी कारबाहीका लागि अदालतमा मुद्दा अघि बढाइएको हो ।








