काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सरसफाइ सप्ताह अभियानलाई निरन्तरता दिने क्रममा महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँस्थित पशुपति क्षेत्रको समाज कल्याण केन्द्र तथा वृद्धाश्रम परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
आज (जेठ १० गते) आयोजित उक्त कार्यक्रममा मन्त्रालयको नेतृत्वमा परिसर सरसफाइ, व्यवस्थापन तथा स्वच्छता अभिवृद्धिसम्बन्धी गतिविधि सञ्चालन गरिएको थियो।
कार्यक्रममा मन्त्रालयकी मन्त्री सिता बादीको उपस्थितिमा मन्त्रालयका सचिवसहित कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमले ज्येष्ठ नागरिक बसोबास गर्ने संस्थागत संरचनामा स्वच्छता कायम राख्ने, उनीहरूप्रतिको सामाजिक जिम्मेवारी अभिवृद्धि गर्ने तथा सुरक्षित र व्यवस्थित वातावरण निर्माण गर्ने उद्देश्यलाई थप सुदृढ बनाएको मन्त्रालयले जनाएको छ।







