काठमाडौँ । इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका-९ का २७ वर्षीय स्पर्स अर्याल र विराटनगर महानगरपालिका-२ का २८ वर्षीय शाश्वत पोखरेल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
कोशी लोकमार्गमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा दुर्घटना भएको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक चालक सुनसरीको रामधुनी नगरपालिका-५ का ३९ वर्षीय काशिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





