काठमाडौँ । युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको विशेष समारोहमा युगकवि सिद्धिचरण पुरस्कार दुई साहित्यकारलाई प्रदान गरिएको छ।
राष्ट्रपति निवास शीतलनिवासमा सम्पन्न कार्यक्रममा यस वर्षको पुरस्कार डा. दुबसु क्षेत्री र डा. गार्गी शर्मालाई हस्तान्तरण गरिएको हो। उनीहरूलाई क्रमश: ०८२ र ०८३ सालका लागि तोकिएको पुरस्कारबाट सम्मानित गरिएको जनाइएको छ।
कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको थियो, जसले साहित्य र संस्कृतिको विविध पक्षलाई उजागर गरेको बताइएको छ।
सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल ले भाषा, साहित्य र संस्कृति राष्ट्रको मौलिक पहिचान तथा सांस्कृतिक गौरवका आधार भएको धारणा व्यक्त गरे।
उनले साहित्यलाई केवल भावनात्मक अभिव्यक्तिको माध्यम मात्र नभई समाजमा चेतना, संवेदनशीलता र परिवर्तनको चेत विकास गर्ने प्रभावशाली साधनका रूपमा व्याख्या गरे। उनका अनुसार साहित्यले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र रूपान्तरण प्रक्रियालाई सघाउँदै सभ्य समाज निर्माणमा योगदान पुर्याउँछ।
राष्ट्रपति पौडेलले साहित्यले समाजलाई एकताबद्ध बनाउँदै उज्यालो भविष्यतर्फ अघि बढाउन सक्ने क्षमता राख्ने उल्लेख गरे।
यस अवसरमा उनले युगकवि सिद्धिचरण श्रेष्ठको नेपाली भाषा, साहित्य र राष्ट्रिय चेतना विस्तारमा रहेको योगदानको स्मरण गर्दै उनको काव्यकृति ‘मेरो प्यारो ओखलढुङ्गा’ ले जन्मभूमिप्रतिको गहिरो भावनालाई साहित्यिक रूपमा स्थायी पहिचान दिलाएको बताए।







