महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः सम्पर्कमा आएका छन् ।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरू सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरू गत आइतबारदेखि सम्पर्क बाहिर थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरू परिवारको समर्पकमा आइसकेको जानकारी दिए ।
“सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजी कार्य व्यापाक पारिएको थियो”, उनले भने, “केही बेर अघि परिवारको समर्पकमा आएको र सबै सुरक्षित रहेको खबर प्राप्त भयो ।”
त्यसैगरी, आइतबार साँझदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको थियो ।
उनीहरूलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ । निकुञ्जमा अवैध च्याउ टिप्न गएका तीन वटा महिला समूह सम्पर्कविहीन हुँदा सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजी कार्यमा जुटेका थिए ।







