काठमाडौं । युएईमा नेपाली चेलीले एउटै कम्पनीमा काम गर्ने आफ्नै चार जना साथीमाथि चक्कु प्रहार गरेकी छन् ।
युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नुवाकोटकी सोनी तामाङले चारजना साथीमाथि छुरा प्रहार गर्दा एकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
चक्कु प्रहारबाट मृत्यु हुनेमा काठमाडौंकी सिर्जना बराल रहेको अबुधाबीस्थित नेपाली राजदुताबासले जनाएको छ ।
घाइते मध्ये ममता चौधरी गम्भीर अवस्थामा रहेको र उनको आईसियुमा उपचार भइरहेको छ । अन्य घाइते सलिना मगर र आशा दर्जी उपचार पश्चात काम गर्ने स्थल फर्कि सकेको जनाइएको छ । सोनी तामाङले बिहीबार राति मदिरा सेवन गरी छुरा प्रहार गरेको जनाइएको छ ।
तामाङलाई छुरासहित प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको दुतावासले जनाएको छ । युएईको कानूनअनुसार हत्या अभियोगमा दोषी ठहरिएमा मृतकको परिवारको इच्छा अनुसार हत्यामा संलग्नलाई मृत्युदण्ड वा ब्लडमनीको जरिवाना हुन सक्ने प्रावधान छ ।







