दार्चुला । नयाँ मुलुकी संहिता लागू भएपछि दार्चुला जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् ।
उक्त अदालतका अनुसार जिल्लामै पहिलोपटक पुरुषद्वारा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता भएको र यो महिना चार पुरुषले यस्ता मुद्दा मुद्दा दर्ता गराएको डिठ्ठा लक्ष्मीदत्त पन्तले जानकारी दिए । यस्तो मुद्दा दर्ता गराउनेमा वैदेशिक रोजगारीबाट घर फर्किएका तीन एक काठमाडौंमा गैरसरकारी संस्थामा कार्यरत पुरुष छन् । मुद्दा दर्ता गराउनेमा महाकाली नगरपालिकाका दुई, मालिकार्जुन गाउँपालिकाका एक तथा दुहुँ गाउँपालिकाका एक पुरुष रहेको अदालतले जनाएको छ ।
जिल्लाका अधिकांश पुरुष वैदेशिक रोजगारीमा जाने गर्छन् । पति वैदेशिक रोजगारीमा गएपछि पत्नी भने बालबच्चा पढाउन भन्दै सदरमुकाममा बस्ने र बजारको रहनसहनले परिवर्तन खोज्ने हुँदा पतिले कमाएको रकमले नपुगेपछि विकल्प खोज्दै गएपछि अन्तमा दुवैबीच सम्बन्धविच्छेदको अवस्थासम्म आइपुग्छ ।
मुलुकी संहिताको परिच्छेद ३ को धारा ९४ मा पतिले पनि सम्बन्धविच्छेद गर्न सक्ने प्रावधान भएकाले पुरुषले पनि मुद्दा दर्ता गराएका हुन् । नयाँ संहिता लागू भएपछि जिल्ला अदालतमा सम्बन्धविच्छेदको लागि मुद्दा दिनेको सङ्ख्या पनि बढेको छ । गत आवमा १४ थान सम्बन्धविच्छेदका मुद्दा परेकामा यस आवको भदौयता मात्रै १२ थान यस्ता मुद्दा दर्ता भएको डिठ्ठा पन्त बताउछन् ।
पति र पत्नीबीच हुने सम्बन्धविच्छेदका कारण तिनीहरुका बालबालिकामा समस्या हुने गरेको छ । आमाबुबाले सम्बन्धविच्छेद गर्दा साना बालबच्चामा मानसिक असर पर्ने गरेको जिल्ला वार एशोसिएशनका अधिवक्ता धीरेन्द्र साउद बताउछन्। महिला अधिकारकर्मी गौरी बडाल सम्बन्धविच्छेद हुनुमा महिला पुरुष दुवैमा विश्वासको वातावरण बन्न नसक्नु रहेको बताउछन् ।
दुबै जना कामको सिलसिलामा अलग बस्दैमा अविश्वास उत्पन्न हुने हैन तर दुवैले एक अर्काप्रति विश्वास जगाउन नसक्नु समस्या हो । पछिल्लो समय सामाजिक सञ्जाल, मोबाइल, इन्टरनेटजस्ता कारणले सम्बन्धविच्छेका घटना बढी देखिएको उनको भनाइ छ ।