काठमाडौं । काठमाडौँ महानगरपालिकाले वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिन थालेको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो पाँचवर्षे कार्यकालमा कार्यालय भवन नभएका ३२ वटै वडामा भवन निर्माण गर्ने जनाएसँग निर्माणको काम अघि बढाइएको कामपाले जनाएको छ ।
केही वडा कार्यालय भवन निर्माणका लागि भवनको शिलान्यास भएको छ भने केहीको निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारीमा कामपा रहेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । यसै सन्दर्भका कामपा प्रमुख शाक्यले बिहीबार वडा नं १६ को भवन निर्माणको शिलान्यास गरेका छन् । आगामी एक वर्षमा सक्नेगरी निर्माणका लागि उक्त भवन निर्माणको काम शुरु गरिएको हो ।
कामपाले अब निर्माण गरिने सबै कार्यालय भवन एउटै नमूनामा निर्माण गर्ने भएको छ । केही वडामा भूकम्पअघि पनि वडा कार्यालय भवन नभएको र भएका केहीको पनि भूकम्पका कारण क्षति भएकाले वडा कार्यालय भवन निर्माणको तयारीमा कामपा पछिल्लो समय जुटेको छ ।
नयाँ निर्माण गरिने सबै भवन परम्परागत नेपाली शैलीमा निर्माण गरिने र सबै भवन एकरूपता कायम गरी निर्माण गर्नुपर्ने कामपाले जनाएको छ । धेरै वडामा कार्यालय भवन भाडामा लिएर कामकाज भइरहेको छ, भवन नहुँदा काम गर्न कठिन हुनाका साथै सेवाग्राहीलाई सहजरूपमा सुविधा दिन पनि नसकिरहेकाले नयाँ भवन निर्माण गर्न लागिएको प्रवक्ता डङ्गोलले जानकारी दिए ।
कामपाले चालू आव २०७५र७६ का लागि रु १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेकामा भौतिक पूर्वाधार निर्माणका रु चार अर्ब छ करोड बजेट विनियोजन गरेको छ । एउटा कार्यालय भवन निर्माणका लागि रु दुई करोड ५० लाख लाग्ने अनुमान पनि कामपाको छ । वडा कार्यालय भवन मात्रै होइन, कामपाको केन्द्रीय कार्यालयको भवन पनि विभिन्न सात स्थानमा छरिएर रहेको छ । यसरी कार्यालय भवन एकै स्थानमा नहुँदा सेवाग्राहीलाई समस्या परेको छ । हाल कामपामा १३ विभाग छ ।







