काठमाडौं । गोरखापत्र संस्थानले वरिष्ठ पत्रकार तथा ‘मुना’ मासिक (बालपत्रिका) का संस्थापक प्रधान सम्पादक गोकुलप्रसाद पोखरेललाई सम्मान गरेको छ ।
संस्थानको सहप्रकाशन मुनाको २९ औँ वार्षिकोत्सवमा यहाँ आज आयोजित कार्यक्रममा मुनालाई वर्तमान अवस्थासम्म ल्याउन योगदान पुर्याए बापत संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले पोखरेललाई सम्मान गरे ।
सोही अवसरमा अध्यक्ष भण्डारीले विश्वमा सूचना, सञ्चार र प्रविधिको तीव्र विकास भइरहेको सन्दर्भमा मुना मासिकलाई समयअनुसार परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
बाल साहित्यकार विनय कसजुले सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा बाल साहित्यलाई प्राथमिकताका साथ समावेश गर्नुपर्ने बताए । संस्थापक प्रधान सम्पादक पोखरेलले परिवर्तित सन्दर्भमा मुना मासिकको बारेमा गहन समीक्षा गरेर नयाँ ढङ्गबाट अगाडि बढ्न सुझाव दिए ।
मुना २०४७ पुसदेखि प्रकाशित हुन थालेको मासिक बालपत्रिका हो ।
प्रकाशन थालेपछि मुनाले अविच्छिन्न २८ वर्षे यात्रा पूरा गरेको छ र २०७५ पुससम्ममा यसका ३३७ पूर्णाङ्क प्रकाशनमा आइसकेको छ ।
कार्यपत्र प्रस्तोता डा.ध्रुवकुमार घिमिरेले २८ वर्षको अवधिमा मुनाले बालबालिकामा सकारात्मक प्रभाव पार्नुका साथै बालसाहित्यको विविध विधाको विकासमा महत्पपूर्ण भूमिका निर्वाह गरेको छ भने ।