काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । सचिवालय बैठक बुधबार दिउँसो एक बजे फेरि बालुवाटारमै निरन्तर हुने निर्णयसाथ सकिएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीका महासचिव विष्णु पौडेलको ६२ औँ जन्मदिनको अवसरमा केक काटेर सूरु भएको थियो ।
दिउसो १ बजेदेखि सुरु भएको बैठक झण्डै ३ घण्टा चलेको थियो । आजको बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरेको प्रस्तावमाथि नेताहरुले धारणा राखेका छन् ।
यसअघि यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेका लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित रहेको जनाइएको छ ।
दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।