काठमाडौँ । अमेरिकाले कोरोना विरुद्धको भ्याक्सिन कोभिशिल्ड उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायतका स्वास्थ्य सामग्री भारतलाई सहयोग गर्ने भएको छ । आइतबार दुई देशका राष्ट्रिय सल्लाहकारहरुबीच सहयोग सम्बन्धमा टेलिफोन कुराकानी भएलगत्तै अमेरिकाले भारतलाई सहयोग गर्ने बचन दिएको हो ।
अमेरिकाले भारतलाई खोपको कच्चा पदार्थ, अक्सिजन निर्माण, भेन्टिलेटर, पीपीई किट, र्यापिड टेस्ट किट लगायतका सामग्री सहयोग गर्ने वचन दिएको बीबीसीले जनाएको छ ।
यसका साथै अमेरिकाले विशेषज्ञ टोली गठन गर्नेछ, जसले आवश्यक मद्दत पनि गर्ने छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै अक्सिजन, भेन्टिलेटर लगायतको अभाव भएको छ । सिंगापुर, युके, साउदी अरब, युएई लगायतका देशहरु भारतलाई सहयोग गर्न अघि सरेका बेला अमेरिका भने मौन थियो । अमेरिकाको मौनतालाई अप्रत्यासित मानिएको थियो ।
यद्यपि अहिले अमेरिकाले खोपको कच्चा पदार्थको निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको बीबीसीले जनाएको छ । भारतीय विदेशमन्त्री एश जयशंकरले अन्तर्राष्ट्रिय सहयोगको अपील गरेका थिए ।
यस्तै आइतबार अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र भारतका राष्ट्रिय सल्लाहकार अजित डोभालबीच आइतबार सहयोग सम्बन्धमा टेलिफोन कुराकानी भएको थियो । त्यसलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले महामारीको शुरुवातमा जसरी भारतले अमेरिकालाई सहयोग गरेको थियो, त्यसैगरी यो समय भारतलाई सहयोग गर्ने बताएका छन् ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि कोभिड महामारीको संकटमा अमेरिका भारतको साथमा रहेको बताएकी छन् । कोरोना संक्रमणको महामारीबाट विश्वभरमै अमेरिका र भारत सबैभन्दा बढी प्रभावित भएका छन् ।