काठमाडौँ । अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित ह्वाइट हाउसनजिकको एक व्यायामशालामा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
घटनाका संदिग्ध बन्दुकधारी पनि पछि मृत फेला परेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार बिहीबार बिहान ह्वाइट हाउसबाट करिव १।६ किलोमिटर उत्तरमा रहेको व्यायामशालामा गोली चलेको थियो । घटनापछि संदिग्ध व्यक्ति नजिकैको एक अपार्टमेन्ट भवनभित्र आफूलाई थुनेर बसेका थिए । प्रहरीले उनीसँग टेलिफोनमार्फत सम्पर्क गरिरहेको एनबीसी न्युजले जनाएको छ । पछि प्रहरीले उनलाई आफैँले गोली चलाएको आशंका गरिएको अवस्थामा मृत फेला पारेको थियो । अपार्टमेन्ट भवनसँग सम्बन्धित कुनै विवादका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको समाचारमा उल्लेख छ ।
वासिङ्टन डीसीको महानगरीय प्रहरी विभागले घटनास्थलको सुरक्षा अवस्था नियन्त्रणमा आएको जनाएको छ । यद्यपि, आसपासका क्षेत्रमा सवारी आवागमनमा लगाइएका प्रतिवन्ध भने कायमै रहेको विभागले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको छ । यसअघि प्रहरीले १५ औँ र पी स्ट्रिट आसपासमा गोली चलिरहेको सूचना दिँदै सर्वसाधारणलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको थियो ।
गन भायलेन्स आर्काइभकाअनुसार बिहीबारसम्म यस वर्ष अमेरिकामा ४०८ वटा सामूहिक गोलीकाण्डका घटना अभिलेख गरिएको छ । ती घटनामा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।





