२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गरिबीको विगत र आगत

अ+ अ-

सच्चितानन्द अर्थात् सत्य, चेतना र आनन्दको सङ्गम, चेतनशील प्राणीको परम लक्ष्य, त्यसैले मान्छेको लक्ष्य पनि । तर सधै आनन्द प्राप्ति मेलाको ख्यारो गर्छु भन्दा भन्दै मृगतृष्णामय छटपटी र हातलाग्यो शून्यको अवस्थामा जीवन मेलाको मैजारो गर्नुपर्ने बाध्यता !

सचितानन्दमय परमानन्दको झलमल उज्यालोलाई धूमिल पार्न अपारदर्शी पर्दा हाल्ने तत्व गरिबी हो । अनन्त दुःख, अपरिमित शोक, अवर्णनीय दरिद्र व्यवहारको मूल स्रोत गरिबी हो । तब यो गरिबीले कसरी पछ्याउँछ मानिसलाई ? मान्छेले समृद्धिको लागि जति मरिमेट्दो छ गरिबी उतिउति अजेय बन्दै गइरहेको छ ।

मान्छेले आजसम्म गरेका दार्शनिक चिन्तन, ज्ञानविज्ञाका खोज अनुसन्धान यही गरिबी, दीनतालाई निर्मूल पार्ने लक्ष्यतिर उन्मुख रहेको देखिन्छ । तर गरिबी भने रक्तबीज जस्तै बढेको बढै छ ।

गौतम बुद्धले यो गरिबीलाई दुःख भने । दुःखको अनुभूति गर्न सकिन्छ, दुःखको कारण छ, दुःख निवारणका उपाय छन्, दुःखबाट उन्मुक्ति हुनेसमेतका मार्ग छन् भने । आनन्दी जीवनको आधारशीलाका लागि अष्टशीलको व्याख्या गरे । सम्यक कर्मलाई दुःख छेक्ने काँढेतारको बार भने पनि दुःख कहिल्यै किन घटेन ?

यावत् जीवेत् सुखम् जीवेत् ऋणं कृत्वा घृतं पिवेत्… भन्दै साहुको ऋणमा भए पनि मोजमस्ती गरी आनन्द लिन सिकाउने चार्वाकका उपदेशले त गरिबीलाई लिस्नो लगायो ।

पौराणिक राजा प्रह्लादको राज्यको सुख समृद्धि सबैका लागि उदाहरणीय थियो । सो समृद्धि हरण गर्न ईन्द्रले ब्राह्मणको रूप गरेर प्रह्लादसित शीलको भिख मागे । जब राजाबाट शील बाहिरियो अनि धर्म, सदाचार, बल र लक्ष्मी पनि बाहिरिइन् । अनि राजाले लक्ष्मीलाई सोधे— लक्ष्मीजी ती मसँग शील माग्ने को थिए ?

लक्ष्मीले भनिन्— हे राजन् ती ईन्द्र थिए ।

धर्मः सत्यं तथा वृत्तं बलं चैव तथाप्यहं ।

शीलमूला महाप्राज्ञ सदा नास्तत्रसंशय ।।६२।।महाभारत शान्ति पर्व, अध्याय१२४
हे महाज्ञानी राजा, धर्म, सत्य, सदाचार, बल र लक्ष्मीको आधार भनेको शील हो राजन् यसमा कुनै शङ्का छैन । यति भन्दै लक्ष्मी प्रह्लादको राजदरबारबाट बिदा भइन् ।

तुल्य भनौँ वा तुलनायुक्त समृद्धिभन्दा माथि हुन्छ शील । शील तुल्य होइन सधै उदाहरणीय हुन्छ । शीलले परिपूर्णता, स्वसम्पन्नता ल्याउँछ । वैयक्तिक भिन्नतामा गौरवमय सम्पन्नता ल्याउने शीलका अगाडि गरिबी कहिल्यै टिक्दैन । शीलवान् व्यक्तिहरू सम्पन्न हुन्छन् तर “ऊ भन्दा” भन्ने अवस्था हुँदैन । उसको सम्पन्नता एक प्रकारको राम्रो, अर्कोको सम्पन्नता अर्कै प्रकारको राम्रो र अर्काको अझ अर्कै प्रकारको राम्रो व्यक्तिपिच्छेको फरक र लोभलाग्दो राम्रो … ।

एक सन्दर्भमा श्रीकृष्णले युधिष्ठिरलाई व्यक्तिको सम्पद् प्रवृत्ति र विपद् प्रवृत्तिका बारेमा बडो सटिक र मार्मिक रूपमा यसरी भनेका छन्—

सर्वं जिह्मं मृत्युपदमजिह्मं ब्रह्मणः पदम् । (सर्वं जिह्मं मृत्युपदमार्जवं ब्रह्मणः पदम् ।)
एतावान् ज्ञान विषयः किं प्रलापः करिष्यति ।।४।।म.भा.अश्वमेध पर्व ११

(कुटिलता मृत्यु पद हो र सरलता ब्रह्म पद हो । वास्तवमा यत्तिले नै जीवनमा परमानन्द प्राप्ति वा भनौँ जुनीजुनीको छटपटीको कित्ताकाट गरिदिन्छ, बुझ्नुपर्ने ज्ञान यत्ति हो, तब अरू प्रलाप मात्रै किन गरिरहने ?)

यही कुरालाई प्रमाणित गर्ने मन्त्र छ— वाग्मे मनसि प्रतिष्ठिता मनो मे वाचि प्रतिष्ठिता… । वास्तवमा सुख र शान्त जीवन जिउन मन र वाणीको आपसी खुला र सुमधुर सम्बन्ध हुनुपर्छ ।अर्थात् बोलीमा जे छ मनमा त्यै र मनमा जे छ बोलीमा त्यै । यसरी मन र वचनको एकत्व भयो भने व्यक्तिमा उच्च मनोबल हुन्छ । उच्च मनोबलसँग गरिबी नजिकिन पनि सक्तैन ।

यसै गरी नीति श्लोकमा पनि महात्माका र दुरात्माको मन, वचन र कर्म प्रवृत्तिको व्याख्या गर्दै भनिएको छ—

मनस्येकं वचस्येकं कर्मण्येकं महात्मनाम् । मनस्यन्यत् वचस्यन्यत् कर्मण्यन्यत् दुरात्मनाम् ।।
महात्माको मन, वचन र कर्मको एकत्व हुन्छ । दुरात्माले मनमा एक थोक सोच्छ, कुरामा अर्कै थोक भन्छ र काम गर्दा अर्कै थोक गर्छ। यस्तो मन, वचन र कर्मको एकत्व नभएको बेतालको व्यक्तिको कुनै काम गर्ने उच्च मनोबल हुँदैन र गरिबीले पछ्याइरहन्छ ।

निक्रियता गरिबीको अर्को मूल जरो हो । निक्रियताले निम्त्याउने परनिर्भरताले पराधीनता जन्माउँछ र व्यक्तिको स्वत्व हरण गरिदिन्छ । स्वत्वविहीन मान्छे जत्तिको गरिब मान्छे को होला ? प्रकृतिले सबैलाई स्वावलम्बी अनुकूलनकारी बन्ने गुण दिएको हुन्छ । यस कुरालाई बेवास्ता गरी अस्वावलम्बी बन्नतिर लागियो भने जीवनमा दुःखको र गरिबीको वर्षा हुन लाग्छ ।

यस्तै कुरालाई सङ्केत गर्दै प्राचीन औषधी विज्ञान आयुर्वेदमा “यस्य देशस्ययोर्जन्तुर्तज्जंतस्यौषधं हितम्” भनिएको छ । अर्थात् जुन प्राणी जहाँ जन्मे हुर्केको छ त्यसलाई त्यहीँको उत्पादनको उपभोग गर्नु उत्तम हुन्छ । अल्छी प्रवृत्तिले ल्याएको परनिर्भरताले आहारविहारमा सङ्कट उत्पन्न गर्छ । अस्वस्थ जीवनमा सुख र आनन्द स्वप्नामा पनि मिल्न सक्तैन ।

जीवन सक्रिय होओस् काममा लागिरहने प्रवृत्ति होओस् तापनि काममा व्यावसायिकताको अभाव छ भने पनि त्यस्ता व्यक्तिदेखि सुख र आनन्द सधैँ टाढा भागिरहन्छन् ।

यसै सन्दर्भमा ए.पि.जे.अब्दुल कलाम भन्छन्— इफ् यु स्यालुट योर् ड्युटी यु निड्नट् स्यालुट एनिवान् । इफ् यु पोल्युट् योर् ड्युटी यु सुड् स्यालुट् एभ्रिवान् ।

अर्थात् आफ्नो कर्तव्यप्रति बफादार भएमा कसैलाई जीहजुरी गर्नुपर्दैन र आफ्नो कर्तव्यप्रति वेवास्ता गरियो भने सबैसित जीहजुरी गर्नुपर्छ । पूर्ण विश्वासका साथ आफ्नो काममा नलाग्ने प्रवृत्तिले जीवनमा कहिल्यै पनि समृद्धि आउन सक्तैन । यही हो गरिबीको गोरेटो ।

आफ्नो क्षमता दक्षता, आफ्नो कार्यक्षेत्रको सीप, सैद्धान्तिक तथा प्राविधिक ज्ञानको कुराभन्दा अर्काको क्षेत्रको सीप, सैद्धान्तिक तथा प्राविधिक ज्ञानको कुरामा बढी चासो दिने प्रवृत्तिले व्यक्तिको कार्यकुशलता र व्यावसायिकतामा ह्रास आउँछ । जुन गरिबी बढ्ने एक कारण हो ।

यसलाई आफू र आफ्नोपन हराएको क्षण भने पनि हुन्छ । अझ भनौँ भने अर्काको सोरसोरैमा लकिरको फकिर भएर पछि लागिन्छ र आफ्नोपन मेटाउन उद्धत भएर लागिन्छ भने त गरिबीले कैयौँ पुस्तासम्म छाड्दैन । आफ्नोपनको अस्त हुँदा गरिबीको उदय हुन्छ । व्यक्तिको गलत दिनचर्याबाट झुल्केको गरिबीले उसको चितासम्म पछ्याइरहन्छ ।

हाम्रो देश प्राकृतिक विभवले यति धेरै सम्पन्न हुँदाहुँदै पनि किन सधैँ समृद्ध राष्ट्रहरूको सूचीको निकै पुछारमा पर्छ ? बत्तीमुनि अँध्यारो भएको हो कि ‘हातमा बत्ती सयतिर खोज्ती’ भएको हो ?

हाम्रो देशमा गरिबी मौलाउनका कारणहरू—
१. आफ्नो स्थानीयता बुझ्ने खालको पठनपाठनको अभाव : बालबालिकाको पठनपाठन भनेको केवल अक्षर, शब्द, वाक्य उच्चारण गर्नु मात्रै होइन । बालबालिकाले पढ्ने पाठ्यवस्तुमा उनीहरूसित सम्बन्धित स्थानीयता जोडिनुपर्छ । त्यसो भएन भने बालबालिकामा अर्थपूण सिकाइ हुँदैन । ती पाठ्यवस्तुमा उल्लिखित कुरालाई बालबालिकाका स्थानीयस्तरमा भएका विकल्पसित सम्बन्धित गरेर सिक्न पाउने अवसरको सिर्जना गरिदिनुपर्छ । विशेष गरी यस्ता कुरा शिक्षक वर्गबाट हुनुपर्छ ।

उदाहरणका लागि, पाठ्यसामग्रीमा रेसा वा पटुवाको सन्दर्भमा जुट वा सनपाटको कुरा लेखिएको छ । सनपाटको खेती हाम्रो देशको सबै भागमा सम्भव छैन । यस्तो अवस्थामा शिक्षकले स्थानीय स्तरमा रेसा उत्पादन गरिने बोटबिरुवा पहिचान गरी ती बोटबिरुवाको बारेमा जान्ने बुझ्ने अवसर जुटाइदिनुपर्छ । जुट खासगरी तराई क्षेत्रमा उत्पादन हुने रेसा बाली हो । पहाडमा नाम्लादाम्लाका लागि आवश्यक पटुवा फोर्सो, चिप्ले(भिमल), केतुकी(हात्तीबार, रामबास), भर्लो, मुडेलो(ओदाल) जस्ता रेसा उत्पादन गरिने हुनाले शिक्षकले ती बोटबिरुवाका बारेमा जानकारी दिनुपर्छ । अलि लेकतिर लोक्ता, अल्लो, भाँगो जस्ता बोटबिरुवाबाट रेसा उत्पादन गरिने भएकाले उच्च पहाडमा यी वस्तुको चिनारी गराउनुपर्छ ।

बालबालिकालाई यसरी स्थानीय वस्तुसित परिचित हुने गरी पठनपाठन गरेमा उनीहरूमा आफ्नो देशको भौगोलिक विविधता, जैविक विविधता ज्ञान हुनुका साथै आफ्नो स्थानीय परिवेश बुझ्ने अवसर मिल्छ । आफ्नो घरायसी आवश्यकता परिपूर्ति गर्न होओस् वा समस्या समाधान गर्न वैकल्पिक उपाय सोच्ने क्षमताको विकास हुन्छ, आफ्नै सेरोफेरोमा खोजी गर्ने बानीको विकास हुन्छ । हरेक समस्याका एकभन्दा बढी वैकल्पिक समाधान हुन्छन् भन्ने सिक्नु भनेको सम्पन्नताको सूचक हो । यस्तो व्यक्ति कहिल्यै पनि गरिब दीनहीन हुनुपर्दैन ।

२. प्राचीन ज्ञान, मूल्यमान्यता तथा आदर्शसितको सम्बन्ध विच्छेद : भनिन्छ, इतिहासको पृष्ठभूमिका आधारमा भावी योजना तयार गर्नुपर्छ । इतिहासले भावी योजना सफल पार्नका लागि थुप्रै सुझाव, मार्गदर्शन दिने गर्छ । त्यसैले पूर्खाले गरेका क्रियाकलाप, आरोह अवरोहको इतिहास अध्ययनले भविष्यमा निर्माण गरिने सफल विकास योजनाका लागि सहयोग मिल्छ । तर अहिले न तीन पुस्ते बसाइ(हजुबुबा, हजुर आमासित बस्न पाउने अवस्था) छ, न हाम्रा प्राचीन मूल्यमान्यता, आदर्शका सन्दर्भ पाठ्यवस्तुमा राख्ने र पठनपाठन गराउने प्रबन्ध नै छ । अहिलेका बालबालिकाहरू वास्तवमै आफ्नो पुर्ख्याैली इतिहासबाट बेखबर बनिरहेका छन् । यस्तो अवस्थाले उनीहरूमा आफ्नो समाज, देश, परिवारमा ममताको विकास हुने कुरा न्यून हुन्छ । यस्तो अवस्थामा देशमा पछौटेपन र गरिबी मौलाउने हुन्छ ।
मान्छे नै किन यसरी बुद्धिमान् भयो ? अरू प्राणी किन बुद्धिमान् हुन सकेनन् ? ज्ञान सञ्चय र प्रयोगका सन्दर्भमा यी निकै महत्वपूर्ण प्रश्न हुन् । मान्छेमा ज्ञान सञ्चय गर्ने र सञ्चार गर्ने क्षमता छ अरू प्राणीमा छैन । यी प्रश्नका छरिता जवाफ यत्ति नै हुन् । कल्पना गरौँ मानव विकासको सुरुआती चरणमा वनका कतिपय विषालु फलफूल खाएर कतिको प्राण गयो होला । त्यो देखेर ती वस्तु कहिल्यै नखाने कोटीमा राखे होलान् । त्यसपछिका सन्ततीले ती खानेकुरालाई कुनै प्रयोग परीक्षण गर्नै परेन । वैज्ञानिकले जीवनभर अनुसन्धान गरेर पाएको ज्ञान अहिले हामीले पाँच मिनेटमा सिक्छौँ बुझ्छौँ । आफ्ना पुर्खाले निकै मेहनत र समय खर्चेर प्राप्त गरेको ज्ञान सहज हस्तान्तरण गर्ने क्षमता मान्छेमा भएकाले नयाँ पुस्ताको समय बचत भयो र थप नयाँ अध्ययन अनुसन्धानमा लाग्ने मौका पाए । त्यसैले पुर्ख्याैली ज्ञानको महत्तालाई बुझ्न सके समृद्धिले कहिल्यै छोड्दैन ।

३. भाषिक अपरिपक्कता : “बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन” भन्ने पुरानाे भनाइले भाषिक दक्षताको चमत्कारलाई व्याख्या गर्न यथेष्ट छ । अहिले विश्वमा अङ्ग्रेजी भाषाको साम्राज्य छ । यो साम्राज्यको प्रभाव हाम्रो देशका कम पढालेखादेखि उच्च पढालेखा अभिभावकसम्म परेको छ । उनीहरूले आफ्ना नानीबाबुलाई सानैदेखि अङ्ग्रेजी सिकाई आफ्नो समाजमा र सकेसम्म विदेशमा पनि प्रतिष्ठित बनाउन सपना बुन्छन् ।

भाषामा स्थानीयता अथवा भनौँ स्थानीय समाजको प्रभाव पर्छ । केवल विद्यालयमा पढेकै भरमा भाषिक विज्ञता आउँदैन । किनकि उनीहरूलाई समाजमा अङ्ग्रेजी भाषाको अभ्यास गर्ने परिवेश छैन । यसले गर्दा न आफ्नो मातृभाषामा दक्ष हुने अवसर मिल्यो न अङ्ग्रेजी भाषामा । यसले गर्दा अङ्ग्रेजी माध्यममा पढ्ने बालबालिकाको भाषिक दक्षता अधमरो बन्न पुगेको छ । यस्तो अधपिल्टे भाषिक क्षमताका व्यक्तिले समाजमा दमदार हिसाबले आफ्नो विचार राख्न, कसैको चित्त नबुझ्दो कुरालाई राम्रोसित खण्डन गर्न सक्दैनन् । यसले उनीहरूको वास्तविक कार्य दक्षतालाई कमजोर बनाइदिन्छ । त्यसैले भाषिक अपरिपक्कता पनि पछौटेपनको एउटा कारण बन्न पुग्छ ।

४. युवाहरूलाई आफ्नो देश चिन्ने, चिनाउने अवसरको अभाव : युवा अवस्था समाजमा छिटै घुलमिल हुनसक्ने, दुःख अप्ठ्यारो सहजै सहन गर्न सक्ने अवस्था हो । यस अवस्थामा उनीहरूले आफ्नो देशको बारेमा पढ्ने र घुमफिर(देशदर्शन) गरेर देश र समाजको वास्तविकता बुझ्ने गर्नुपर्छ । यसका लागि केवल उनीहरूको पहलले मात्र हुँदैन, सरकारी नीतिगत व्यवस्थासमेत आवश्यकता पर्छ । यो घुमफिरले भोलिका दिनमा समाजमा काम गर्दा उनीहरूलाई निकै सहज हुने हुन्छ ।

उल्लिखित कुरालाई विचारेर २०२८ सालको नयाँ शिक्षा योजनाले तीन वर्षे स्नातकोत्तर तहको व्यवस्था गरी सो तहका विद्यार्थीको दोस्रो वर्ष देशका विभिन्न ठाउँमा गई विद्यालयमा एक शिक्षककोरूपमा पठनपाठन गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यस कार्यक्रमलाई “राष्ट्रिय विकास सेवा— राविसे” नाम दिइएको थियो । दक्षिण एसियामै राम्रो शैक्षिक कार्यक्रम भनेर प्रशंसा प्राप्त सो कार्यक्रमले निरन्तरता पाउन सकेन ।

आर्थिक वर्ष २०७६/२०७७ को बजेटले सो कार्यक्रमलाई फरक नामले पुनर्जीवित गर्न खोजेको छ “आफ्नो माटो चिनौँ” नामले । यो कार्यक्रम सफल भयो भने देशमा छुट्टै र सकारात्मक जागरण आउने छ । देशका बालबालिकाले उच्च शिक्षा पढ्दै गरेका युवासित घुलमिल हुने अवसर पाउने छन् । त्यसै गरी युवाहरूले पनि आफ्नो देशको रहनसहन र जीवन निर्वाहको वास्तविकता बुझ्न पाउने छन् । यसले देशको पछौटेपन हटाउन निश्चय नै सहयोग पु¥याउने छ । पछौटेपन हटाउनुको पर्याय गरिबी निवारण नै हो ।

५.युवाहरू विदेश पलायन हुने प्रवृत्ति : युवा बेचेर देश समृद्ध बनाउँछु भन्नु सुनका अण्डा दिने कुखुरीलाई काटेर एकैपटक सबै अण्डा बेचेर धनी हुन्छु भन्ने लोक कथाकाे शिक्षा जस्तै हो । युवालाई राजगारी खोज्न भनी हाम्रा सरकारका उच्च पदस्थ व्यक्ति विदेश भ्रमण गरेको इतिहास अहिले कुहेर डुङ्डुङ्ती गह्नाइरहेको छ । हिँजो बेलायत र भारतमा व्यवस्थित हिसाबले सैनिक जागिर खाँदा युवा बेच्यो भनी पञ्चायतलाई दोष लगाउनेहरू अहिले सत्तामा छँदा दैनिक १५०० को सङ्ख्यामा युवाको लर्को विदेशिने र दैनिक ३/४ जना मृतक युवा विदेशबाट ल्याउने गर्दा स्वदेशमै युवा व्यवस्थापन गर्न नसक्नु साँच्चै लाजमर्दो कुरा हो ।

दैनिकजसो ६/७ सयको हाराहारी सङ्ख्यामा २० वर्षको सेरोफेरोका युवाले “नो अब्जेक्सन लेटर” (लिएर विदेश पढ्ने निहुँमा धेरै सानो सङ्ख्याले पढ्ने पनि) लिइरहने दृष्य पनि देशका लागि उत्तिकै पीडादायक छ । विदेश पढ्न गएका युवा स्वदेश फर्काउने प्रभावकारी कार्यक्रम अझसम्म केही देखिएको छैन । विदेशिएका युवा उतै पलायन हुने र स्वदेशमा पढेका युवा पनि पढाइ सकेर विदेशतिरै हामफाल्न उद्धत देखिनुले पनि देशको पछौटेपनको झनै विकराल हुँदै गएको सङ्केत गर्छ ।

६. उत्पादनहीन अवस्थामा शहर बस्ने प्रवृत्ति : देशको शहरमा रोजगारको सिलसिलामा जहान परिवारसित कोठा भाडामा बस्नु सामान्य परिवेश हो । तर विदेशको रोजगार छोराछोरी पढाउने निहुँले वा आफै पढ्ने भनी शहर पस्ने र बस्ने क्रम बढिरहेको छ युवा युवतीको। यसले गाउँ युवा, बालबालिकारहित बनेको छ । गाउँघरका उब्जाउ खेतबारी बाँझिनुको मुख्य कारण पनि यही हो ।

साना लालाबालाले हजुरबुबा हजुरआमाको माया पाएर हुर्कन्थे, संस्कार आनीबानी सिक्थे, इतिहास सिक्थे, युवा जाँगर बलले जग्गाले उत्पादन दिन्थ्यो । तर अहिले मकै निर्यात गर्ने जिल्लाका मधुमेहका रोगीले ब्राजिलको मकैको भात(आटो) खान्छन् गाउँमा लगेर । चामल निर्यात गर्ने जिल्लाले भारतको जिरा मसिनो चामलको भात खान्छन् । दैनिक उपभोग्य सामानको परनिर्भरताको पराकाष्ठा ! यहाँभन्दा गरिबी चुलिनका लागि के नै बाँकी होला र ?

७. ग्रामीण उत्पादन विक्रिवितरणको अभावले उत्पादक तथा किसान पलायन : देशको उत्पादन र वितरणको राम्रो प्रबन्धले अर्थतन्त्र प्राणित हुन्छ । तर हाम्रो देशको उत्पादन र वितरणमा बिचौलियाको राज छ । दुई रुप्पे किलोमा पनि विक्री नभएको भनी बारा जिल्लाका कृषकले खेतमै बन्दागोभी नष्ट गर्दा काठमाडौँमा बन्दागोभीको खुद्रा मूल्य प्रतिकिलो रु. ३०।— थियो । बिचौलियाले यसरी गाई थुन न बाच्छाका मुख गराएर कृषि अर्थतन्त्र तहसनहस पार्दा सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्दैन । पाँच वर्षदेखि उधारोमा उखु बेचेको भुक्तानी पाएका छैनौँ भनी उद्योग मन्त्री सामु प्रतिष्ठित सञ्चार माध्यमलाई साक्षी राखी उखु कृषकहरू धरधरी रुँदा उल्टै उद्योगपति नै चर्को स्वरमा प्रतिवादको बोलीमा बोल्ने हिम्मत राख्छ भने कृषकहरू कृषि क्षेत्रबाट पलायन नभएर के गरून् ? अनि जग्गा बाँझो राखे दण्ड तिर्नुपर्ने नीति लागू गर्ने भन्दै भूमि व्यवस्था मन्त्री कुर्लनु कति सान्दर्भिक होला ?

स्थानीय उत्पादन सहज प्राप्त गर्न सकिने ठाउँमा सरकारले सरकारी खरिद केन्द्र स्थापना गरी तरकारी, अन्न, फलफूल आदि खरिद गरी उचित मूल्य दिने प्रत्याभूतियुक्त व्यवस्था सरकारले गर्ने हो भने कृषकले जग्गा किन बाँझो राख्थे र ? उपभोक्ताले पनि उपयुक्त मूल्यमा आवश्यक वस्तुहरू पाउन सक्थे । यो खरिद केन्द्रले विभिन्न ठाउँमा वितरणको व्यवस्था मिलाउन सक्छ, विभिन्न उद्योग खोलेर विभिन्न सामान उत्पादन गर्ने व्यवस्था गर्न सक्छ । जस्तै हरियो सागपातको गुन्द्रुक, सिन्की, सुख्खा साग र मूला, गाजर, फूलगोभी, खुर्सानी आदिको चाना, अचार आदि ।

८. रैथानो तथा परम्परागत सीप, प्रविधि, जीवजनावर लोप हुने अवस्थाले बढ्दो परनिर्भरता : तमाम रैथाने भनौँ वा स्थानीय वस्तु, सीप, प्रविधि, वनस्पति, जन्तुजनावर लोप हुने अवस्थामा छन् । चकमक पत्थर ठोकेर झुलोमा आगो सल्काउने प्रविधि अहिले लोप भइसकेको छ । कोलमा तोरीको बुकुवा पेलेर तेल निकाल्ने, गाईवस्तुको छाला गाउँमै सिजाएर(प्रशोधन गरेर) जुत्ता, पेटी, घोडाको काठी, नारा आदि छालाका सामग्री बनाउने प्रविधि लोप प्रायः भएको छ ।
कतिपय स्थानीय उपजका विभिन्न जात (धान, मकै, कोदो…) लोप भइसकेका छन् । स्थानीय गाई, भैँसी, बाख्रा, कुखुरा लोप हुन लागिरहेका छन् । बनेली बोटविरुवा र जनावरहरूको पनि यही हालत छ । घरेलु अन्नबाली र पाल्तु जनावर विकासे नामक आयातित जातबाट विस्थापित भई लोप भए वा हुँदैछन् । बनेली जात चोरी शिकारी र डढेलोको चपेटामा परी लोप भए वा हुँदै छन् ।

आफ्नो उत्पादनलाई लात मारेर बेसाएको मानु खाएर आएको आयातमुखी बुद्धिले विभिन्न डरलाग्दा दुर्घटनाका सङ्केत देखाइसकेको छ । वि.सं. २०७६ धान बालीमा गरिमा जातको बेसौटे विकासे बिउले निकै दर्दनाक दुर्घटना पा¥यो । तराई पहाडका विभिन्न १३ जिल्लामा रोपेको धान पसाउँदै पसाएन । करिब त्यस बखतको भाउमा २३ करोडको क्षती बेहोरे कृषकले । विभिन्न अवसरमा विकासे कुखुरामा देखिएको बर्डफ्लु रोगले गोठका गोठ कुखुरा सोत्तर हुने गरेको खबर आइरहन्छ । विशेष गरी उग्राउने जनावरमा लाग्ने खोरेत रोग आयो भने यी विकासे गाई भैँसीको हालत पनि नाजुक बन्छ । हामीले आफूसित भएको कुरालाई उन्नत बनाउन खोजेनौँ र त दिनदिन गरिबीको चपेटामा फस्दै छौँ, गाँजिदै छौँ ।

वनेली जीवजन्तुसित द्वन्द्व नहुने गरी वनका झरेका पातपतखर एकत्रित गरी पातपतखर कम्पोस्ट मल बनाउने र ढलेपढेका रुखहरूबाट काठ, दाउराको जोहो गरी वितरण व्यवस्था गर्ने हो भने खेतबारीमा मल र घरमा इन्धनका लागि विदेसिने रकम जोगिन्थ्यो । उता डढेलो लागेर वन र वनको जैविक विविधता नाश हुने जोखिम पनि हुँदैनथ्यो । यसले सिर्जना गरेको रोजगारमा हुने खर्च र काठदाउरा तथा मलबाट हुने आम्दानीको तुलना गरी पर्ता पर्छ कि पर्दैन भन्ने सोच कदापि लिनु हुँदैन । जनताका लेखा सरकार अनन्त स्रोतयुक्त संस्था हो । यसले व्यापारीले जस्तो सोच बनायो भने देशको प्राकृतिक साधन स्रोतको संरक्षण कसरी हुन्छ ? यी स्रोत संरक्षण तथा प्रवर्द्धनका काम जीव जगतसितको अति आधारभूत तर प्रत्यक्ष सरोकारको विषय भएकाले सरकारले आफ्नो कर्तव्यको हिसाबले परिभाषित गर्नुपर्छ ।

वनजङ्गलको बीचबीचमा पोखरी बनाउने, सानातिना घोला, खोल्सामा बाँध बाँधेर पानी सञ्चयको व्यवस्था गरेमा एकातिर भूमिगत पानीका मूल पुनर्जीवित हुने हुन्छन् भने अर्कोतिर वनेली जनावरलाई पानी सहज किसिमले उपलब्ध हुने, पानीको आसेपिलोपनले हरेक समयमा जङ्गल हरियाली रहने हुन्छ । यसले डढेलो लाग्ने जोखिम पनि केही कम हुन सक्छ । जङ्गल जति जोगाउन सक्यो हाम्रो कार्वन व्यापार उति मौलाउँछ । अनि त राष्ट्रबाटै गरिबी भगाउन सहयोग पुग्छ ।

९. स्रोतसाधनको अवैज्ञानिक प्रयोग : देशको प्रमुख प्राकृतिक स्रोत जमिन, जङ्गल र जललाई सावधानीपूर्वक गर्ने संस्कारको विकास गर्न सके देशको पछौटेपन उसै हराएर जान्छ । तर दुर्भाग्य हामीले करिब अढाइसय वर्ष अघि पृथ्वी नारायण शाहले दिव्योपदेशमा भने जत्तिको भू तथा जलको उपयोग गर्न सकिरहेका छैनौँ । आज विकासको पर्याय बाटो बनेको छ । जमिनको वास्तविक स्थिति नबुझिकनै डाँडाकाँडा भत्काएर माटो बर्बाद पारिरहेका छौँ, बस्ती उजाडिरहेका छौँ। पानीका मूल सुक्दै गइरहेका छन् । छ्यालब्याल पानी हुने गाउँमा आज खोलाको पानी लिफ्टिङ गरेर निर्वाह गर्नुपर्ने अवस्था छ । यो महाविपत्तिको सुरुवाती सङ्केतलाई अझै पनि वेवास्ता गरिरहेका छौँ । वन डढेलाले खाएको रमिता हेर्ने र विदेशबाट काठ आयात गरेर फर्निचर प्रयोग गर्ने वास्तविकताले दरिद्रताको स्वागत गरिरहेको छ ।

कबाडी वस्तु विदेशीलाई बेच्नु देशको गरिबी देखाउने अर्को बलियो सूचक हो । कबाडी खास गरी सहज कच्चा पदार्थ हो । यसलाई सामान्य व्यवस्थापन गर्दा नयाँ वस्तु उत्पादनका कारखाना चल्न सक्छन् । कबाडी परिचालन नगरी त्यत्तिकै सडाउनु गरिबीको थप बलियो प्रमाण हो । हाम्रो देशका सरकारी कार्यालयमा खरबौँ मूल्यका धातुजन्य कबाडी वस्तु त्यत्तिकै सडेर नाश भइरहेका छन् । यसले पनि बताउँछ हामी गरिबीको कति लम्बे यात्रामा छौँ । कपडाको कबाडी, प्लास्टिकको कबाडी अहिले गाउँदेखि शहरसम्म ठूलो समस्या बन्दै छन् । यिनलाई व्यवस्थित प्रयोग गर्न सके रोजगार र आम्दानी राम्रो हुने कुरा विभिन्न सिर्जनशील युवाले उदाहरण पेश गरेका छन् । इलामले फालिएका प्लास्टिकका सामान उत्पादन गरी बेच्ने इलमीका रूपमा नाम कमाएको छ ।

हाम्रो राजधानी काठमाडौँका नदीको जल प्रदूषणले पनि हाम्रो पछौटेपनलाई छर्लङ्ग पारेको छ । फोहर, धूलो, धुवाँको अस्तव्यस्तताले हाम्रो विकासे अनुहारको घुम्टो उघारिदिएको छ । कृषि उपजको फोहर र अन्य फोहरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्ने हो भने फोहरलाई मोहरमा रूपान्तरण गर्न सकिन्छ । पुनः प्रयोग हुनसक्ने प्लास्टिक, धातु, रबर जस्ता कवाडी वस्तुलाई औद्योगिक कच्चापदार्थको रूपमा प्रयोग गर्ने योजना गर्न सकिन्छ । मलमूत्रका लागि सेफ्टी ट्याङ्की बनाउने गरेमा नदीमा मलमूत्र मिसिनबाट जोगाउन सकिन्छ । अन्य फोहर पानीलाई सोक्तामा जम्मा गर्ने योजना गरे भूमिगत जल परिपूरण(रिचार्ज) गर्ने सहज अवस्था हुन सक्छ । यति मात्रै गर्न सकेमा नदीलाई प्रदूषणबाट मुक्त गर्न सकिन्छ ।

वि.सं. २०७७ पुसदेखि २०७८ वैशाखसम्म काठमाडौँ लगायत देशका विभिन्न शहरमा वायु प्रदूषणको चर्चा निकै भयो । बादलविना घाम छेक्ने प्रदूषित वायुको तुवाँलोले जनजीवन अस्तव्यस्त रह्यो । यही तुवाँलाका कारण वायुसेवा पनि रोकिनुप¥यो । नेपाल सरकार स्वास्थ्यतथा जनसङ्ख्या मन्त्रालयले २०७७ चैत्र १३ गते यही वायुप्रदूषणका सन्दर्भमा पाँच बुँदे अपिल नै जारी ग¥यो । ती बुँदा मध्येको एक बुँदा “फोहर नजलाउँ” भन्नेसमेत थियो । यसले फोहर जलाउने हाम्रो सामान्य परम्परा जस्तै हो भन्ने देखाउँछ ।हाम्रो बौद्धिक न्यूनताको उदाहरण !

वायु प्रदूषणलाई नियन्त्रण गर्न सबैले सबै क्षेत्रमा साबधानी अपनाउनुपर्छ । ज्यादै प्रदूषित ठाउँमा हुँक्का प्रविधि स्थापना गरी वायुमण्डलका धूलोधुवाँलाई पानीमा घोलेर स्वच्छ वायुलाई वायुमण्डलमा मिलाउन सकिन्छ । विद्युत र पानीको संयोजन मिलाएर भिडभाडयुक्त ठाउँमा फोहराको व्यवस्था गरेर पनि वायुलाई स्वच्छ बनाउन सकिन्छ ।

प्रदूषण नियन्त्रणको मूल मन्त्र स्रोतसाधनको न्यूनतम उपयोग गर्ने बानीको विकास गर्नु हो । जति कम फोहर उत्पादन भयो त्यसलाई उति सहज हिसाबले व्यवस्थित गर्न सकिन्छ । पाँच लिटर पानीले नुहाउन सकिन्छ भने अनावश्यक बीस लिटर पानी किन खर्च गर्ने ?

फोहरलाई जति सक्यो छिटो थान्को लगाउँदा पनि फोहरको समस्या निकै कम हुन्छ । यसले समयको पनि बचत हुन्छ । जस्तो, खाना खाएको ठाउँ र भाँडाको सरसफाइको कुरा गरौँ । खाना खाएका जूठा भाँडा तुरुन्तै माझ्यो भने थोरै पानी, कम मेहनत र कम समयमा सफा गर्न सकिन्छ । तर तिनै भाँडा सुकेर कटकटिन पुगे भने तीन चार गुना पानी, मेहनत र समयको खर्च बढ्छ । गोठ, खोर, शौचालय, सडक आदिको सरसफाइमा पनि यही कुरा लागू हुन्छ ।

आफ्नो घरको सीमानाको सडक आफै सफा गर्नुपर्ने नीति बनाएमा शहर सफा राख्न केही कठिन हुँदैन । घर अगाडि आफूले फोहर गर्ने र पालिका आएर फोहर उठाएन भन्नु आफैमा लाजमर्दो कुरा हो ।यही हो चिन्तनको गरिबीको उदाहरण ।

१०. गैरसरकारी संस्थाहरूको अपारदर्शी आर्थिक क्रियाकलाप : गैरसरकारी संस्थाको आर्थिक अपारदर्शिताका बारेमा बेलाबेलामा चर्चा हुने गर्छ । अनि कुनै टुङ्गोमा नपुगी त्यत्तिकै सेलाउने गर्छ ।विशेष गरी सरकारी कामकाजसितको सहयात्रामा काम गर्दा सरकारी खर्चको आर्थिक मानकभन्दा भिन्न र उच्च खर्च गर्ने परिपाटीले सरकारी कामकाज फिक्का पर्ने अवस्था आउँछ ।समान कामको फरक मानक हुँदा सर्वसाधारणले तुलना गरी आर्थिक अपचलनको शङ्का गर्नु पनि त नाजायज कुरा होइन ।

आर्थिक अपारदर्शिता, कालो धनको सङ्ग्रह जस्ता कुराले राष्ट्रको अर्थतन्त्रमा विचलन ल्याउँछन् । जब परिश्रमको धन र कालो धन एउटै बजारमा प्रवेश गर्छ तब परिश्रमको धनले काम गर्न छोड्छ । अनि व्यक्तिमा नैतिक आर्जनतिर भन्दा अनैतिक आर्जनतिर लागी कालो धनसित प्रतिस्पर्धा गर्ने सोचको विकास हुन्छ । तब देशमा भ्रष्टाचार बढ्न थाल्छ र अर्थतन्त्र धराशायी हुन्छ । यसले समाजमा रहेको धनी र गरिब बीचको खाडल पुर्नै नसकिने गरी गहिरिँदै जान्छ ।

भनिन्छ, जब कालो धन बोल्न लाग्छ अनि सत्य ओझेलिन्छ । नसुहाउने तमकझमक नियन्त्रण नहुनुले देशका नागरिकबीच आर्थिक विभेद ठूलो देखिन्छ । जुन देशको पछौटेपनको प्रमुख सूचक हो । जानिफकारहरू भन्छन् अव्यवस्थित देशमा एन्जीओ आइएन्जीओको चुरीफुरी ज्यादा हुन्छ ।

११. आर्जनलाई अनुत्पादक क्षेत्रमा लगानी गर्ने प्रवृत्ति : आर्जनलाई अनुत्पादक क्षेत्रमा लगानी गर्नुपर्ने अवस्था आउनु पनि गरिबीको अर्को सूचक हो । अहिले विदेश कमाउने युवाहरूको कमाइ महँगा मोबाइल, टिभी, कम्प्युटर, गाडी, घरघडेरी आदिमा खर्च हुने गरेको छ । यी लगानीले प्रतिफल दिँदैनन् बरु अझ खर्च बढाउँछन् । यसो गर्नाले एकातिर उत्पादनशील क्षेत्रमा लगानी गर्ने रकमको अभाव हुने गर्छ भने अर्कोतिर अनुत्पादक क्षेत्रमा लगानी बढ्ने र तिनैको मरमत संभार खर्च बढ्दा आर्थिक क्षेत्रमा झनै नकारात्मक प्रभाव पर्छ । यसबाट बचाउन नागरिकलाई उद्यमशील हुन प्रेरित हुने कार्यक्रम ल्याउने र लगानीको सुरक्षाको वातावरण मिलाउने अनि उत्पादित वस्तुको विक्रिवितरण हुने प्रत्याभूति सरकारले लिनुपर्छ ।

१२. रैथाने वा स्थानीय कच्चा पदार्थमा चल्ने उद्योगलाई दिगोपन दिने दृष्टिकोणको अभाव : स्थानीय कच्चा पदार्थबाट चल्ने उद्योगलाई दिगोपन दिने सोच नहुनु गरिबी चिन्तनको अर्को सूचक हो । साहूको डोको जोगाएर व्यापार गर्ने पो व्यापारी, साहूकै डोको मासेर व्यापार गर्ने के व्यापारी ? गाउँमा पाइने औद्योगिक कच्चा पदार्थ देखेर उद्योग स्थापना गर्ने र त्यो कच्चा पदार्थको जरोबुटो मासेर ठण्डाराम पारी उद्योग पनि मास्ने गरेका हाम्रा थुप्रै उदाहरणहरू छन् ।

नेपाली कागज(जसलाई पहाडी कागज पनि भनिन्छ) उद्योग, तारपिनको तेल उद्योग, फर्निचर उद्योग जस्ता उद्योगका लागि चाहिने कच्चा पदार्थ लोक्ता, सल्ला र काठजन्य जङ्गल हुन् । लोक्ता कसरी प्रबद्र्धन गर्न सकिन्छ भन्ने नबुझी नेपाली कागज उद्योग खोलेर अव्यवस्थित रूपले लोक्ता मासेर उद्योग कति दिन चल्ला ? सल्लाबाट कसरी लामो समयसम्म खोटो लिन सकिन्छ भन्ने अध्ययन नगरी तारपिनको तेल उद्योग सञ्चालन गर्ने र अव्यवस्थित किसिमले खोटो निकाल्दा सल्ला मर्दै गए भने उद्योगले कसरी स्थायित्व पाउला ? त्यसै गरी फर्निचर उद्योगले पनि आफूलाई चाहिने कच्चा पदार्थको दीर्घ कालीन आपूर्तिको आँकलन गर्नुपर्ने हुन्छ ।

वन तरुल खन्दा जिलो अर्थात् बिउ छोड्नुपर्छ नत्र आफ्नै जिलो मासिन्छ भन्थे बूढा पुरानाले । कति उच्च खालको चिन्तन थियो जैविक विविधता संरक्षणको । अनिकालमा बिउ जोगाउनू हुलमुलमा जिउ जोगाउनू भने । यसै गरेर त कैयौँ महाकालको आपतविपतमा पनि बिउ जोगाइ रहे । समृद्धशाली चिन्तनका धनी ती पुर्खालाई हामीले सधै सम्झनुपर्छ जसले यति राम्रो सम्पन्न प्रकृति हामीलाई छाडेर गए ।

१३. समय परिपालनको अभाव : समय परिपालनको वेवास्ता गर्ने प्रवृत्ति गरिबीको सबैभन्दा उच्चस्तरको सूचक हो । कुनै सार्वजनिक औपचारिक कार्यक्रम कुन बेला सुरु गर्ने कुन बेला अन्त्य गर्ने भन्ने योजनाअनुसार सञ्चालन हुनुपर्छ । समयको मूल्य हुन्छ । एक जनाको पर्खाइमा हजारौँ जनाले आफ्नो समय गुमाइरहेका हुन्छन् । समयको परिपालन उच्च मर्यादाका साथ गर्ने ऋषि गौतमलाई साइतमा सम्झना गरे राम्रो साइत पर्ने विश्वास गरिन्छ । उनलाई सम्झने मन्त्र अर्थात् साइतमा बोल्ने मन्त्र— गच्छ गौतम शिघ्रत्वं ग्रामेषु नगरेषु च । आसनं शयनं शैयां स्थानं मे परिकल्पय । एक अनुशासित व्यक्तिले समाजमा संस्कार स्थापित गर्न सक्छ भन्ने यो उदाहरणीय उदाहरण हो ।

त्यसो त महाभारतमा भीष्म र युधिष्ठिरबीच भएको सम्वादको एक किस्सा पनि सम्झन लायक छ । एक सन्दर्भमा युधिष्ठिरले हजुरबुबा भीष्मलाई सोध्छन्— हजुरबुबा, विद्या हुनेलाई धन हुँदैन, धन हुनेलाई विद्या हुँदैन भन्छन् । तर विद्या र धन दुवै नभए जीवन अधुरो अपुरो हुन्छ । विद्या र धन साथै हुनका लागि के गर्नुपर्छ ?

नातिको बडो गहकिलो प्रश्न सुनेर हजुरबुबा भीष्म भन्छन्— बाबु तिमीले बडो राम्रो प्रश्न ग¥यौ । यस सम्बन्धमा मैले धेरै पहिले सुनेको नीति श्लोक सुनाउँछु ध्यान दिएर सुन । क्षणशः कणशश्चैव विद्यामर्थं च साधयेत् । क्षणे नष्टे कुतो विद्या कणे नष्टे कुतो धनम् ।। अर्थात् विद्या र धन दुवै चाहने व्यक्तिले समयको सानोभन्दा सानो अंश क्षण र वस्तुको सानोभन्दा सानो अंश कणको ख्याल गरोस् । समयको वास्ता नगर्नेलाई विद्याले पछ्याउँदैन र कणको वास्ता नगर्नेलाई धनले पछ्याउँदैन । गरिबीको अन्त्य गर्ने कति सटिक सूत्र !

जीवन नदीलाई सही मार्गमा हिँडाउन बलौटे अनुशासनको डिलले सहयोग गरिरहेको हुन्छ । नदीको छालले डिल भत्काउने कोसिस गर्छ । हामी नदीको छालले हुत्याएको बालुवा पुनः ल्याएर डिल बनाउने गर्छौँ । छालले डिल नाघेर बाहिर नआउन्जेल नदी आफ्नै बाटोमा हिँडिरहन्छ भलै डिल बालुवाकै किन नहोओस् । तर जब छालले डिल नाघेर बाहिरिन्छ तब जीवन नदीका सयौँ छिहिरा अर्थात् भँगाला, सयौँ छोयाफाटे सिर्जना हुन्छन् । जसरी त्यो कमजोर बालुवाको डिलले नदीको मोडलाई सही ठाउँमा रहने पार्छ त्यसै गरी देख्दा झिनामसिना देखिने अनुशासन तथा संस्कारका विधानले व्यक्तिको जीवनलाई मर्यादित, यशस्वी, ऐश्वर्यशाली, समृद्ध बनाउने गर्छ ।जब अनुशासनको मर्यादा तोडिन्छ, संस्कारलाई वेवास्ता गरिन्छ तब जीवन विशृङ्खलित बन्न पुग्छ ।

हामीले बुद्ध पढ्यौँ तर अपनाउन जानेनौँ । मन बुद्ध बनाउनुपर्ने थियो, विचार शुद्ध बनाउनुपर्ने थियो । हामी तनमा बुद्धत्व हेर्न खोज्यौँ, बोक्रामा अलमलियौँ । बोक्रामा तत्वाभास हुनु नै गरिबी हो । हामी साध्यतिरभन्दा साधनतिर कुद्छौँ । साधन माध्यम हुनुपर्थ्याे। साध्य लक्ष हुनुपर्थ्याे । तर साधनमा साध्याभास हुँदा वैचारिक, आर्थिक भ्रष्टाचार चुलिएको छ । राम्रो पुल बनाएर कमाउनुपर्ने साध्य यश थियो । तर पुलका लागि छुट्याएको साधन पैसा नै गुटमुट्याएर कमजोर पुल निर्माण गरी दुर्नाम कमायौँ। बोक्रे बुद्धिको उपज । दुर्नामभित्रको सम्पन्नता गरिब चित्तवृतिको एक उदाहरण हो ।

हामीले आफ्नो समृद्धि कसरी गुमाइरहेका छौँ ? हामी जसरी हाम्रो प्राचीन ज्ञान, आदर्श, मूल्यमान्यता लत्याइरहेका छौँ त्यसै गरी हाम्रा पुर्खाले आफ्नो प्राणको बाजी राखेर कमाएको इमानजमान लत्याएका छौँ । गार्खा वीरताको प्रख्याति उच्च इमानजमानको आधारशिलामा उभिएको धरहरा हो । आज पनि कैयौँ देशको विशिष्ट सुरक्षाका लागि हाम्रै नेपाली दाजुभाइ पत्याइएको अवस्था छ । हाम्रो यस्तो समृद्ध इज्जतलाई हाम्रै देशका विभिन्न भ्रष्ट क्रियाकलापले माटोमा मिलाइरहेको अवस्था छ ।

त्यसैले गरिबी अरू कसैले थोपरिदिने कुरा होइन । यो त आफ्नै हातको कमाइ हो । हामी अरूसित तुलना गरेर गरिबीको भारी बोक्छौँ । आफूलाई अशक्त, निरीह, निक्षम ठानेर पछौटेपनको बिल्ला भिर्छौँ । निष्क्रियता र आलश्यलाई सुख ठानेर जुनीभरि पछुताउने काम गर्छौँ । कर्महीन जीवनलाई आराम ठानेर आफै हराम बन्छौँ । जतिजति घमण्डले उफ्रन्छौँ उतिउति गरिबीले टाउकोमा टेक्छ । जतिजति कर्मयोगी हुन्छौँ उतिउति गरिबी लम्पसार पर्छ । बुझ्नुपर्ने कुरा यत्ति हो ।

पराजुली शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरका निर्देशक हुन् ।