काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई जिताए गठबन्धन १५ वर्षसम्म जाने बताएका छन् ।
चितवनमा भएको गठबन्धनको सभालाई सम्बोधन गर्दै उनले भरतपुरमा रेनु दाहालको टिमलाई जिताएमा अहिले भइरहेको गठबन्धन १० देखि १५ वर्षसम्म जाने बताए ।
‘रेनु दाहाललाई जिताए गठबन्धन १५ वर्षसम्म जान्छ,’ उनले भने, ‘चितवनमा काँग्रेसको भोट माओवादीमा ट्रान्सफर गर्न कठिनाइ भएको छ, त्यसो भए देश दुर्घटनामा जान्छ ।’
गठबन्धन राष्ट्र, गणतन्त्र, लोकतन्त्रको आवश्यकताका लागि भएको बुझ्न आग्रह गर्दै उनले काँग्रेस कार्यकर्ताले पनि मन फुकाएर मतदान गर्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले रुखको भोट हँसिया हथौडामा ट्रान्सफर गर्न गाह्रो भएको र त्यसमध्येको एक जिल्ला चितवन भएको स्मरण गरे ।
‘हँसिया हथौडाको भोट रुखमा सहज गए पनि रुखको भोट हँसिया हथौडामा जान सकस भएको देखेँ,’ उनले भने, ‘अन्तन्त सकस हुनेमध्येको ठाउँ भनेको चितवन र मधेश हो ।’
नेपाली काँग्रेसका कार्यकर्ताले असन्तुष्टि जनाएकोमा जवाफ दिँदै अध्यक्ष दाहालले नेपालको इतिहासलाई नजिकबाट बुझ्ने कोसिस गर्न आग्रह गरे ।
उनले प्रश्न गरे, ‘विस्तृत शान्ति सम्झौता लगायतका २०४६ र २०६२/६३ सालमा भएका आन्दोलनमा रुख र हँसिया हथौडाको सम्झौता गलत भन्न सक्नुहुन्छ ?’
अध्यक्ष दाहालले काँग्रेस र अन्य पार्टीका कार्यकर्ताले साथ दिए गठबन्धन नछुट्ने बताए । आफूमाथि फेरि एमालेसँग मिल्न जान्छ कि भन्ने आशङ्का गरिएकोप्रति उनले ज्ञान प्राप्त गरेर आएकाले अब त्यस्तो नहुने बताए।
उनले भने, ‘म ज्ञान प्राप्त गरेर आएको छु, मलाई शङ्का नगर्नुस् ।’







